 तस्बिरः रासस
                             तस्बिरः रासस
                                            चितवन- चितवन क्षेत्र नं २ मा आज (आइतबार) बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ। क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार प्रक्रियाका क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या छैन।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदैछ। यहाँ १ लाख २४ हजार ६ सय ९५ जना मतदता छन्। ती मध्ये ६३ हजार २ सय ९१ महिला, ६१ हजार ४ सय ३ पुरुष र एक जना तेस्रो लिंगी छन्। मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए। गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन्।
यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन्। उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्।
मुख्य प्रत्यासी तीन मध्ये कांग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यमिक विद्यालयबाट मतदान गर्दैछन्। एमालेका न्यौपाने र रास्वपाका लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम छैन।
गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो। जिल्लामा तीन निर्वाचन क्षेत्र छन्।
निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 