 
                             
                                            धनगढी– थ्री स्टार क्लबले छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। धनगढी रंगशालामा शनिबार भएको फाइनलमा ए डिभिजन प्रतिद्वन्द्वी साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई २-० गोल अन्तरले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो।
अघिल्ला संस्करणमा फाइनल पुगेको थ्री स्टार पहिलो पटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो। मनाङ भने तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्नबाट वञ्चित भएको छ।
थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले १/१ गोल गरे। अनिलले खेलको ७३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्सयपछि खेलको इन्जुरी समयको पाचौं मनेटमा कप्तान बिक्रमले गोल गर्दै थ्री स्टारलाई २-० को जित दिलाए।
उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी थ्रीस्टार क्लबका कप्तान विक्रम लामा भए। उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक थ्रीस्टारका मोहमद ताहा, उत्कृष्ट रक्षक थ्रीस्टारकै पिटर सेगनु, उत्कृष्ट मिडफिल्डर मनाङका विसोन गुरुङ, सर्वाधिक गोलकर्ता मनाङकै सायीजमल, उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र उदयमान खेलाडी आयोजक क्लब सुदुरपश्चिम ११ का दिपेन्द्र मलासी भए। उनीहरुले जनही नगद १५ हजार रुपैयाँ प्राप्त गरे।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगिताको विजेतालाई प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवालगायतले पुरस्कृत गरे।
सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा गत चैत ९ गतेदेखि सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोससलको एक क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 