कोशी प्रदेशको पुन: नामकरण नगरे आन्दोलनमा उत्रिने संघर्ष समितिको चेतावनी

हिमाल प्रेस ३ वैशाख २०८० २०:४८ | Sunday, April 16, 2023
कोशी प्रदेशको पुन: नामकरण नगरे आन्दोलनमा उत्रिने संघर्ष समितिको चेतावनी

इटहरी– प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी प्रदेशको पुन: नामकरण नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। कोशी प्रदेश सरकारले यही वैशाख १० गतेभित्र कोशी प्रदेशको नाम खारेज गरी पुन: नामकरणको माग सम्बोधन नगरे विराटनगरकेन्द्रित आन्दोलन गर्ने समितिले चेतावनी दिएको हो।

सरकारले उक्त मुद्दा प्रदेशसभामा लगेर आफूहरूको माग पूरा नगरे वैशाख ११ गतेदेखि १४ गतेसम्म विराटनगर क्षेत्रमा चक्काजामलगायत विरोध प्रदर्शन र आन्दोलन गर्ने आइतबार बसेको समितिको बैठकको निर्णय रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए।

समितिले प्रदेश सरकार र प्रदेशसभालाई वैशाख १० सम्मको अल्टिमेटम दिएको उनले बताए। उक्त अल्टिमेटमका सन्दर्भमा प्रदेश सरकारलाई पुनः स्मरण पत्र पठाइने बताइएको छ। पत्र पाइसकेपछि पनि सरकारले यस विषयमा बेवास्ता गरे आन्दोलनको विकल्प नभएको असन्तुष्ट पक्षले बताएका छन्।

बैठकले सहिद पदम लिम्बू लाजेहाङको शवलाई वैशाख १५ गतेभित्र अन्त्येष्टि गर्ने निर्णय पनि गरेको छ। यसअघि विराटनगरकेन्द्रित दबाब आन्दोलन सशक्त बनाउने कार्यक्रम तर्जुमा गरिने उनले जनाए।

प्रदेशसभाको बहुमतले ०७९ फागुन १७ गते सो प्रदेशको नाम ‘कोशी प्रदेश’ पारित गरेको हो। उक्त नाम पहिचानका पक्षमा नभएको भन्दै पहिचानवादीहरूले असहमति जनाउँदै आएका छन्।

प्रकाशित: ३ वैशाख २०८० २०:४८ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast