कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : सुवास नेम्बाङ

हिमाल प्रेस २ वैशाख २०८० १३:४१ | Saturday, April 15, 2023
कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : सुवास नेम्बाङ

काठमाडौँ- संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्बाङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषले निर्वाह गरेको मुख्य भूमिकाको प्रशंसा गरेका थिए।

अध्यक्ष नेम्बाङले भने, ‘लामो युद्ध समाप्त गर्न तपाईंको उत्कृष्ट प्रयासको हामी प्रशंसा गर्दछौँ।’

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएको प्रोत्साहनस्वरूप सन् २०१६ मा राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।

सरकार र कोलम्बियाको क्रान्तिकारी सशस्त्र बल (फार्क) लगायत विभिन्न सशस्त्र समूहबीचको ५० वर्षभन्दा लामो सशस्त्र सङ्घर्ष अन्त्य भएको थियो।

नेपालले पनि १० वर्ष लामो सशस्त्र सङ्घर्ष सन् २००६ मा शान्ति सम्झौतामार्फत् अन्त्य भएको प्रसङ्ग जोड्दै अध्यक्ष नेम्वाङले त्यसपछि नेपाल थप दिगो शान्तितर्फ उन्मुख भएको बताए।

शान्ति प्रक्रियाको आधारभूमिमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, धर्मनिरपेक्षता, समावेशी लोकतान्त्रिक प्रावधान र प्रगतिशील विषयवस्तुसहितको नयाँ संविधान जारी भएको छ।

नेपालको सङ्क्रमणकालीन न्यायका केही काम बाँकी रहेकाले त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन आफूहरू प्रयासरत रहेको उनको भनाइ थियो।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा विचाराधीन अवस्थामा छ। अध्यक्ष नेम्वाङले नेपाली शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि स्वीस सरकार र बोगोटास्थित स्वीस दूतावासलाई स्वागत समारोहको आयोजना गरेकामा विशेष धन्यवाद दिए।

नेपाली प्रतिनिधिमण्डलका नेतासमेत रहेका अध्यक्ष नेम्बाङले राष्ट्रपति सान्तोषको भूमिकाको उच्च प्रशंसा गर्दै कोलम्बियाको शान्ति प्रक्रियाका कतिपय अनुभव नेपालका लागि पनि सान्दर्भिक हुने बताएका थिए।

नेपाली प्रतिनिधिमण्डलले कोलम्बियाका तत्कालीन सशस्त्र विद्रोही समूहका प्रमुख रोड्रिगो लोन्डोनो, शान्तिका लागि विशेष अदालतका अध्यक्ष रोबर्टो कार्लोस भिडाल, शान्ति प्रक्रियामा विशेष भूमिका खेल्ने पूर्वमन्त्री क्रिस्टो र विभिन्न पीडितसँग भेटवार्ता गरी अन्तरक्रिया गरेको थियो।

नेपाली प्रतिनिधिमण्डलमा नेम्बाङसहित नेताहरू प्रदीप ज्ञवाली, रमेश लेखक, राधेश्याम अधिकारी, खिमलाल देवकोटा, नेपाली सेनाका रथी चित्रबहादुर गुरुङ र पवन पाण्डे पनि सहभागी छन्।

सोमबार कोलम्बिया गएको नेपाली प्रतिनिधिमण्डल आज स्वदेश फर्कँदैछ।

प्रकाशित: २ वैशाख २०८० १३:४१ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast