कास्की मालपोतको घुस प्रकरण छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

हिमाल प्रेस ३ वैशाख २०८० २१:३० | Sunday, April 16, 2023
कास्की मालपोतको घुस प्रकरण छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी।

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीमा भएको भनिएको घुस प्रकरणबारे तत्काल छानबिन गर्न निर्देशन दिएकी छन्। कार्यालयलाई सो प्रकरणबारे तत्काल सोधखोज गरी सत्यतथ्य बाहिर ल्याउन भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई उनले निर्देशन दिएकी हुन्।

केही दिनअघि एक टेलिभिजनले मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरी सेटिङमा काम गरेको समाचार प्रसारण गरेपछि मन्त्रीले सो प्रकरणबारे चासो राख्दै मालपोतका कर्मचारीहरूमाथि छानबिन गरी विभागीय कारबाही गर्न विभागका महानिर्देशक सोतीलाई निर्देशन दिएकी छन्।

‘मैले नेतृत्व गरेको मन्त्रालयअन्तर्गत कुनै पनि अनियमितता, भ्रष्ट्रचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिनँ। जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सञ्जालमा आइरहेको छ सो विषयमा तत्काल छानबिन गरी रिपोर्ट बुझाउनु होला,’ मन्त्री श्रेष्ठले महानिर्देशकलाई निर्देशन दिइन्।

मन्त्री श्रेष्ठले सबै जिल्लाका मालपोत तथा नापी कार्यालयहरूको अवस्था र समस्याका विषयमा अध्ययन गरी रिपोर्ट पेस गर्न पनि मातहत कर्मचारीहरूलाई निर्देशन दिएकी छन्। मालपोत र नापी कार्यालयहरूमा हुने कुनै पनि प्रकारका अनियमितता र घुसखोरी आफ्नो कार्यकालमा न्यूनीकरण हुने मन्त्री श्रेष्ठको दाबी छ।

प्रकाशित: ३ वैशाख २०८० २१:३० | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast