काभ्रेमा विपद्मा परेर ९ महिनामै ५९ को मृत्यु

हिमाल प्रेस १४ वैशाख २०८० ८:४३ | Thursday, April 27, 2023
काभ्रेमा विपद्मा परेर ९ महिनामै ५९ को मृत्यु फाइल तस्बिर

काभ्रे- चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेमा चार सय २४ जना विपद्मा परेका छन्।

तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ मा चार सय ४३ विपद्मा परेकामध्ये ५६ को मृत्यु, तीन सय ५० घाइते तथा २८ को उद्धार गरिएको जिल्लास्थित कालीजङ्ग गणका गणपति प्रकाशबहादुर सिंहले जानकारी गराए।

उनका अनुसार गत वर्षभन्दा चालु आवमा मनसुन बाँकी रहेकाले विपद्बाट जिल्लामा अझै थप नागरिक पीडित बन्ने प्रक्षेपण गरिएको छ। चालु वर्षको नौ महिनामा पहिरोबाट तीन, आगलागीबाट २५, चट्याङमा परेका चार, हावाहुरीमा परेका एक र करेन्ट लागेका एकको उद्धार गरिएको छ।

यस्तै नौ महिनामा पहिरोबाट चार, आगलागीबाट दुई, बाढीबाट दुई, हावाहुरीबाट तीन र करेन्ट लागेर तीन तथा सडक दुर्घटनामा ४६ को मृत्यु भएको हो ।

बर्सेनि विपद्का घटना बढ्दा थप नागरिक पीडित बन्ने भएपछि समितिले चालु वर्षमा मनसुन सक्रिय हुन अझै बाँकी रहेकाले थप उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन दोलालघाटस्थित सुनकोशी नदीमा वैशाख तेस्रोसाता विपद् प्रतिकार्य संयुक्त अभ्यास आयोजना गरेको छ ।

उक्त विपद् प्रतिकार्य संयुक्त अभ्यासलाई गणले ‘मनसुन–३’ नामकरण गरेको छ।

संयुक्त अभ्यासमा बगेको र डुबेको, पहिरोमा फसेको व्यक्तिको उद्धार गरिने छ। नेपाली सेनाका पृतनापति, बाहिनीपति, सबै स्थानीय तहका प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष, जिल्लास्थित एनसीसी तालिम प्राप्त विद्यार्थी, स्थानीय युवा, भूतपूर्व सैनिक तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।

प्रकाशित: १४ वैशाख २०८० ८:४३ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast