कम्युनिस्ट शक्ति एक हुन जरुरी : झलनाथ खनाल

हिमाल प्रेस ९ वैशाख २०८० १८:२५ | Saturday, April 22, 2023
कम्युनिस्ट शक्ति एक हुन जरुरी : झलनाथ खनाल फाइल तस्बिर/हिमाल प्रेस

जनकपुरधाम– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा देखिएका समस्या समाधानका लागि कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसका अवसरमा शनिबार जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको संकट समाधानका लागि सबै कम्युनिस्ट शक्ति एक भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।

पछिल्लो निर्वाचनपछि संघ र प्रदेश सरकार बनाउने प्रक्रिया जारी रहेकाले दुवै तहका सरकारले पूर्णता पाएपछि जनचाहनाअनुसार विकासका कामले तीव्रता पाउने उनले विश्वास व्यक्त गरे। संविधानले परिकल्पना गरेको समाजवादमा जान देशका सबै वामपन्थी कम्युनिस्ट शक्तिहरू मिल्नुको विकल्प नभएकोसमेत उनले बताए।

‘समाजमा रहेका सबै विभेद, असमानता र अन्यायको अन्त्यको आधार समाजवाद हो भन्ने कुरा दलहरू सबैले भनिरहेका छन् तर यो भन्ने र देखाउने विषयमात्रै होइन,’ उनले भने, ‘समाजवादलाई व्यवहारमा ल्याउन जरुरी छ। त्यसका लागि हाम्रो पार्टीले देशभर सन्देश फैलाइरहेको छ।’

प्रकाशित: ९ वैशाख २०८० १८:२५ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast