ओलीको आरोप- प्रचण्ड र माधवले कम्युनिस्ट आन्दोलन ध्वस्त पारे

हिमाल प्रेस ९ वैशाख २०८० १९:३५ | Saturday, April 22, 2023
ओलीको आरोप- प्रचण्ड र माधवले कम्युनिस्ट आन्दोलन ध्वस्त पारे

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालहरूले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्ड र नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाएको उनको भनाइ छ। कम्युनिस्ट पार्टी एकता र एकीकरणको माध्यामबाट दुई तिहाइको अवस्थामा पुर्‍याइएको तर प्रचण्ड-माधव नेपालहरूले सस्तोमा बिकेर त्यसलाई ध्वस्त बनाएको ओलीले आरोप लगाए।

प्रचण्ड र नेपाल कति रुपैयाँमा बिके भन्ने कुरा बाहिरबाट नदेखिएको र भित्री कुरा आफूहरूले नबुझेको समेत उनले बताए। कम्युनिस्ट पार्टीमाथि ०७७ सालमा सबैभन्दा भयानक आक्रमण भएको दाबी गर्दै उनले प्रचण्ड र माधव नेपालहरूले कम्युनिस्ट पार्टीको झण्डा बोकेर हिँड्नु बेकार रहेको टिप्पणी गरे।

‘कुनै पनि कम्युनिस्टहरू हाम्रै पार्टीबाट गएका हुन्। प्रचण्ड कहाँबाट गएका? यही कम्युनिस्ट पार्टीबाट ऐंझेरु पलाएझैं पलाएको त हो नि। ००६ सालमा कहाँ दुई, तीन वटा पार्टी बनेको थियो र। यो पार्टी त पछिसम्म एउटै थियो। दुई तिहाइ पुर्‍यायौँ। हामीले पार्टी विस्तार गरेर, निर्माण गरेर कम्युनिस्ट पार्टीलाई ठूलो बनायौँ,’ उनले भने, ‘कुनै कारणबिना कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मुल्यमा। के, कस्तो मूल्यमा भन्ने कुरा उनले जान्ने कुरा हो। बाहिरबाट देखिने कतिपय स-साना कुराहरू हामी पनि देख्छौं। तर भित्री कुरा हामीलाई थाहा छैन।’

आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने र १० वर्षभित्र मुलुकबाट गरिबी समाप्त पार्ने र २५ वर्षभित्र एमालेले मुलुकलाई आधुनिक र विकसित राष्ट्र बनाउने उनले दाबी गरे।

प्रकाशित: ९ वैशाख २०८० १९:३५ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast