एसीसी प्रिमियर कप : नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य

हिमाल प्रेस ५ वैशाख २०८० १२:४४ | Tuesday, April 18, 2023
एसीसी प्रिमियर कप : नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य

काठमाडौँ- एसीसी प्रिमियर कपको उद्घाटन खेलमा मलेसियाले घरेलु टिम नेपाललाई २३६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबार टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनायो।

कप्तान अहमद फैज र ओपनर विरनदीप सिंहले ११६ रनको साझेदारी गरेपछि मलेसियाले मध्यम योगफल तयार पारेको हो। फैजले ९५ बलमा एक छक्का र आठ चौका हिर्काउँदै कुल ७६ रन बटुलेका थिए। सिंहको नाममा ४६ रन रह्यो। उनी र अर्का ओपनर मोहम्मद अमिरबीच पहिलो विकेटका लागि २२ रनको साझेदारी भएको थियो।

पहिलो विकेट गुल्शन झाले छैटौँ ओभरमै दिलाए पनि दोस्रो विकेट लिन ३४ औँ ओभरसम्म पखर्नु परेको थियो। सन्दीप लामिछानेले आशिफ शेखमार्फत कप्तान फैजलाई हाउट गराएपछि मलेसियाले खडा गरेको सुरुवाती बलियो साझेदारी भत्किएको थियो।

त्यसपछि आएका कुनै पनि मलेसियाली ब्याट्सम्यानले फेरि एकपटक बलियो साझेदारी स्थापना गर्न सकेनन्। खिजार हयात २२ रनमा समेटिए भने श्याज्रुल इद्रुसले २१ रन बटुले। त्यसैगरी मोहम्मद श्याहादत १५ रन बनाएर बाहिरिए। इद्रुस र श्याहादत आन्तिम ओभरमा सन्दीपको बलिङको सिकार बनेका थिए। मलेलिसयाका लागि सैयद अजिज र विजय युनीले क्रमशः १३ र १२ रनमा बटुले।

नेपालका लागि सन्दीपसँगै सोमपाल कामीले पनि तीन विकेट लिए। अन्तिम ओभरमा दुई विकेट हात पारेका सन्दीपले कुल ४८ रन खर्च गरे। नौ ओभर बलिङ गरेका सोमपालले भने ४० रन खर्चिए। त्यसैगरी ललित राजवंशीले दुई विकेट लिँदा गुल्शनको नाममा एक विकेट रह्यो।

सिंगापुरकाे चलेन ब्याटिङ

मंगलबार नै जारी अर्को खेलमा सिंगापुरले हङकङलाई १७५ रनको लक्ष्य दिएको छ। मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सिंगापुर ४२.१ ओभरमा १७४ रन बनाएर अलआउट भएको थियो।

सिंगापुरलाई सस्तोमा समेट्न हङकङका इशान खानले चार र यासिम मुर्ताजाले तीन विकेट हात पारे। खानले २४ र मुर्ताजाले २५ रन खर्चिए।

कप्तान अरित्रा दत्तले बनाएको ४९ रन सिंगापुरका लागि सर्वाधिक स्कोर रह्यो। इशानको बलमा आउट हुनुअघि उनले ५७ बल सामना गर्दै नौ चौका प्रहार गरे। पहिलो विकेटका लागि उनी र सुरेन्दन्र चन्द्रमोहनबीच २८ रनको साझेदारी भएको थियो।

चन्द्रमोहन १० रनमा आउट भए भने उनीपछि आएका अभी दिक्षित १२ रनमा सीमित भए। मध्यक्रमका आर्यान मोदीले २१ रन बनाए पनि सिंगापुरले बलियो साझेदारी स्थापना गर्न सकेन। थिलिपन ओमाईदुराई १२, प्रशिन परम १०, अमात्र्य कौल सात रन बनाएर पभेलियन फर्किए।

हङकङका लागि विकेट लिने अन्य खेलाडीमा आयुश शुक्ला, आइजाज खान र मोहम्मद घाजानफार रहे। उनीहरूले एक–एक विकेट हात परे।

प्रिमियर कपमा नेपालसहित कुल १० टिम सहभागी छन्। जसलाई दुई समूहमा विभाजन गरिएको छ। लिग-कम नकआउटमा पद्धतिको यो प्रतियोगिताका खेल कीर्तिपुर र मूलपानीमा हुने तालिका छ। दुई समूहबाट विजेता र उप–विजेता अन्तिम चारमा पुग्नेछन्। प्रिमियर कप जित्ने टिम एसिया कप २०२३ का लागि छनोट हुनेछ। त्यसैगरी सेमिफाइनलमा पुगेका अन्य तीन टिम एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छानिनेछन्।

प्रकाशित: ५ वैशाख २०८० १२:४४ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast