 
                             
                                            काठमाडौँ- नाटक ‘एउटा सपनाको अवसान’ र ‘मार्क्स फर्किए’को मञ्चन अवधि थपिएको छ। ‘एउटा सपनाको अवसान’का निर्माता गोविन्द पराजुलीका अनुसार धेरै दर्शक टिकट नपाएर फर्केको देखेपछि तीन दिन थप्ने निर्णय गरिएको हो।
नाटक अब सोमबार, मंगलबार र बुधबार गरी तीन दिन थप मञ्चन हुनेछ। नाटकको नियमित मञ्चन आइतबार सकिएको थियो।
‘थुप्रै दर्शकले नाटक हेर्न पाइएन भनेर गुनासो गरेको देख्यौँ। केही त घन्टौँ कुरेर पनि टिकट नपाउँदा फर्कनु परेको छ,’ निर्माता गोविन्द पराजुलीले भने, ‘सकभर सबैलाई देखाउँ भन्ने मनसायले तीन दिन थप्ने निर्णय गरेका छौँ।’
ठूलो सेट र ठूलो कलाकारको समूह दोहोर्याएर जुटाउन गाह्रो हुने भएकोले सोमबारको बिदामा पनि नाटक मञ्चन गर्ने निर्णय गरेको उनले बताए। उनका अनुसार अन्तिम दिन अर्थात् बुधबार १ बजे र ५ बजे गरी दुई शो मञ्चन हुने छ। नाटकले सपनाको आकर्षणले मानिसलाई यन्त्रमा रूपान्तरण गर्ने र मानिस अधुरा आकांक्षा र सपनासँग जीवन त्याग गर्न बाध्य हुने कथा प्रस्तुत गर्छ।
अनुप बरालको निर्देशनमा बनेको ‘द डेथ अफ सेल्सम्यान’ को नेपाली अनुवादमा शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, उत्पल झा, विकास जोशी, रोयदीभ श्रेष्ठलगायत कलाकारको अभिनय छ। नाटक चैत १० गतेदेखि मण्डला थिएटरमा मञ्चन सुरु भएको थियो। नाटकलाई एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा गोविन्द पराजुलीले निर्माण गरेका हुन्।
त्यस्तै थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा ‘मार्क्स फर्किए’ नाटकको पनि मञ्चन अवधि थपिएको छ। थिएटर टिमले आफ्नो फेसबुक पेजमार्फत नाटकको मञ्चन अवधि वैशाख २२ सम्म थपिएको जानकारी दिए।
वैशाख ९ गतेसम्म मञ्चन हुने भनिएको नाटक अब वैशाख २२ सम्म चल्नेछ। चैत १७ गतेदेखि मञ्चन सुरु भएको नाटक दोस्रोपटक मञ्चन भएको हो। यसअघि २०७६ सालमा यो नाटक मञ्चन भएको थियो।
नाटकमा कार्ल मार्क्सले १४० वर्षअघि बिताएको जीवनलाई प्रस्तुत गरिएको छ। नाटक कलाकार सुनील पोखरेल, निशा शर्मा, राम्भाजन कामत, राज न्यौपाने, सुवार निमिल्सिना, सुनिसा बजगाईंको अभिनय छ।
यो नाटक अमेरिकी इतिहासकार हवार्ड जिनद्वारा लिखित नाटक ‘मार्क्स इनसोहो’को नेपाली संस्करण हो। नाटकको नेपाली अनुवाद प्रवीण खतिवडाले गरेका हुन्।
नाटकको परिकल्पना तथा निर्देशक सुनिल पोख्रेल र प्रवीण खतिवडा हुन्। नाटक सोमबार बाहेक प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन हुने नाटक शनिबार दिउँसो १ बजेको अतिरिक्त शो पनि हुनेछ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 