उत्पादनमूलक क्षेत्रमा लगानी गर्न एडीबीलाई आग्रह

हिमाल प्रेस ११ वैशाख २०८० १५:२१ | Monday, April 24, 2023
उत्पादनमूलक क्षेत्रमा लगानी गर्न एडीबीलाई आग्रह

काठमाडौँ- नेपालले एसियाली विकास बैंक (एडीबी)लाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र एडीबीका देशीय निर्देशक अर्नौड कौकोइसबीच सोमबार सिंहदरबारमा भएको भेटमा श्रेष्ठले उक्त आग्रह गरेका हुन्।

सरकारले उत्पादनमूलक र रोजगारी दिने कार्यक्रम ल्याउने भएकाले उक्त कार्यक्रमहरूमा लगानी एडीबीलाई श्रेष्ठको आग्रह थियो। नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनामा लगानी आवश्यक रहेको उनको भनाइ थियो। छलफलमा उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा बैंकले गरेको सहयोगप्रति आभार पनि व्यक्त गरे।

आगामी दिनमा समेत सरकारलाई एडीबीको सहयोग निरन्तर हुने विश्वास रहेको श्रेष्ठले बताए। सो क्रममा उनीहरूबीच आयोग र बैंकबीचको सहकार्य तथा बैंकको सहयोगमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो।

बैंकका देशीय निर्देशक कौकोइसले हालै एडीबीले नेपालमा गरेको लगानीको ‘पोर्टफोलियो रिभ्यू’ भएको जानकारी दिँदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनामा लगानी गर्न एडीबी तयार रहेको बताए। एडीबीले लगानी गरेका नेपालका विकास परियोजनाको ‘पोर्टफोलियो’ सुधारिएको उनको भनाइ थियो।

बैंकले नेपालको भौतिक पूर्वाधारलगायत क्षेत्रमा करिब ४ खर्ब २१ अर्ब (३.२ बिलियन डलर) बराबरको लगानी गरेको छ। सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायत क्षेत्रमा उक्त लगानी गरेको हो।

मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिसुली जलविद्युत् आयोजनालगायत दर्जनौँ आयोजनामा बैंकले लगानी गरेको छ। गत वर्ष मात्र बैंकले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो।

पोर्टफोलियो रिभ्यू कार्यक्रममा बैंकले सहरी खानेपानी तथा सरसफाइ आयोजना, बागमती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतलाई पुरस्कृतसमेत गरेको थियो। रासस

प्रकाशित: ११ वैशाख २०८० १५:२१ | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast