 
                             
                                            इटहरी– सुनसरीको इनरुवामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिनन्दन कार्यक्रमको प्रचारमा ‘श्री ५’ लेखिएका ब्यानर स्थानीय प्रशासनले हटाएको छ। सोमबार इनरुवामा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम प्रचारका लागि ‘श्री ५ महाराजधिराज’ लेखिएको ब्यानर प्रशासनले हटाएको हो।
इनरुवाका विभिन्न चोकमा राखिएका ती ब्यानरहरू जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले हटाएको हो।
‘पूर्वराजा भनेर लेखिएको ब्यानर भने हटाइएको छैन,’ जिप्रका सुनसरीका एक प्रहरी कर्मचारीले भने, ‘श्री ५ महाराजधिराज भनेर लेखिएको ब्यानर माथिको निर्देशनअनुसार हटाइएको हो।’
हिन्दूवादी र राजावादी समूहको सक्रियतामा सोमबार नागरिक अभिनन्दन कार्यक्रम राखिएको हो। अभिनन्दन कार्यक्रममा पूर्वराजा शाहलाई हिँडेर जनतासँग दोहोरो कुराकानी गर्न प्रशासनले प्रतिबन्ध लगाएको जनाएको छ।
पूर्वराजा शाह पछिल्लो समय झापा दमकस्थित चिया बगानमा बस्दै आएका छन्। केहीदिन अघिमात्रै उनलाई राप्रपाका नेताहरू राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्रलगायत नेताले झापामै भेटवार्ता गरेका थिए। पूर्वराजा केही दिनअघि इटहरीस्थित बूढीगंगा-जमुना मुक्तिघाटमा सन्ध्याकालीन आरतीमा सहभागी थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 