एनआईसी एशिया इटहरी शाखाले दियो ऋणीलाई मानसिक यातना

घरमै पठाइयो सुरक्षा गार्ड

हिमाल प्रेस २२ चैत २०७९ १९:०७ | Wednesday, April 5, 2023
एनआईसी एशिया इटहरी शाखाले दियो ऋणीलाई मानसिक यातना

इटहरी– इटहरी निवासी मूर्तिकार तथा कलाकार विक्रम तिम्सिना (विक्रमश्री) लाई एनआईसी एशिया बैँकले मानसिक यातना दिएको छ। किस्ता नतिरेको भन्दै एनआईसी इटहरी शाखाले कलाकार श्रीलाई मानसिक यातना दिएको हो।

घरमै सुरक्षा गार्ड पठाएर आफूमाथि बैँकले मानसिक यातना दिएको उनले बताए।

‘बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सुरक्षा गार्ड घरमै पठाएर बैंकले मानसिक यातना दियो,’ श्रीले भने, ‘नियतवश रूपमा मानसिक यातना दिइयो, एउटै मितिमा सात दिने ताकेता, ३५ दिने लीलामको प्रक्रिया र पत्रिकामा तीनपुस्तेको सूचना छापियो, फरक-फरक मिति वा किस्ता नतिर्ने भनेको भए यो प्रक्रिया हुनुपर्थ्यो, एउटै मितिमा कसरी हुन्छ?’

उनका अनुसार १५ वर्षका लागि ९६ लाख रुपैयाँ ९ प्रतिशत ब्याज तिर्ने शर्तमा लिएको भए पनि अहिले १८ प्रतिशत ब्याज लगाउने गरेको छ। अहिलेसम्म ८ वर्षसम्म किस्ता तिरे पनि अहिले दुई महिना नतिर्दैमा लीलामीको प्रक्रिया अगाडि बढाउनु र मानसिक यातना दिनु गम्भीर अपराध रहेको उनी बताउँछन्।

‘अहिलेसम्म तिरेको हुँ, अब पनि नतिर्ने भनेको होइन। व्यापारको प्रकृतिअनुसार तीन महिनामा तिर्छु भन्दा फाइन पनि हानेर जथाभावी रूपमा यातना दिइयो,’उनले भने, ‘अचानक घरमा सुरक्षा गार्ड आउँदा त अन्योलमा परियो।’

उनले आफूले समयमा किस्ता बुझाउन खोज्दा-खोज्दै पनि काम गरेको पैसा समयमा नउठ्नु, भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरूका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशको आर्थिक मन्दीका कारण समस्या उत्पन्न भइरहेको बताए।

‘हामीजस्ता स्वावलम्बी सिर्जनशील सर्जकहरूले सजिलो गरी बैंकलाई किस्ता बुझाउन सकिरहेका छैनौं। एकैदिन एकैपटक बैंकले सात दिने, ३५ दिने र घर लीलाम गर्ने, पत्रिकामा छाप्ने तयारीको सूचनाको पत्रसहित घरअगाडि गार्ड राख्दा अनेकौं प्रश्न उब्जिएका छन्,’ उनले भने।

धेरै जना कर्मचारीबाट एकै दिन धेरै कल आएको र घर तथा कार्यक्षेत्रमा नै भेट गरी ताकेता गरिएको उनले बताए।

‘सहानुभूतिभन्दा हतोत्साहित बनाउने वातावरण बनाइनु, ऋणीको बाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनुले सबैलाई दुःखित बनाएको छ,’उनले भने।

एनआईसी एशिया बैँक इटहरी शाखाका म्यानेजर विशाल घिमिरेले ह्वाटसपमा म्यासेज पठाएको र फोन गरेर पटकपटक ताकेता गरी मानसिक यातना दिएको श्रीको आरोप छ।
यस विषयमा बुझ्नका लागि म्यानेजर घिमिरेलाई सम्पर्क गरिए पनि उनको फोन उठेन।

प्रकाशित: २२ चैत २०७९ १९:०७ | Wednesday, April 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast