 
                            
                                            काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार दिउँसो लखनऊ सुपर जायन्ट्स र गुजरात टाइटन्स आमनेसामने हुँदैछन्। आफ्नो पछिल्लो खेलमा राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको लखनऊ जित लयलाई निरन्तरता दिन चाहन्छ।
हाल दोस्रो स्थानमा रहेको लखनऊ विजयी भए शीर्षस्थानको राजस्थानलाई पछि पार्नेछ। के भनिन्छ भने, आफ्नो स्तर अनुसारको खेल देखाउन सके, लखनऊ जोसुकै विपक्षीमाथि पनि जित दर्ता गर्न सक्षम छ। कायल मेयर्स, निकालेस पुरन र मार्कस स्टोइनिस जस्ता ब्याट्सम्यान टिममा भएकोेले लखनऊबारे यसो भनिएको हो।
दक्षिण अफ्रिकाका मेयर्सले नयाँ सिजनको आईपीएलमा साँच्चै बेजोड ब्याटिङ गरिरहेका छन्। यसको प्रमाण हुन्, उनले प्रहार गरेका तीन अर्धशतक। लखनऊका लागि मेयर्सले परिपक्व ओपनिङ गर्दा मध्यक्रम सम्हाल्ने पुरन र स्टोइनिस छन्।
यी तीन ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहँदा कप्तान के एल राहुलले भनेजस्तो खेल्न सकिरहेका छैनन्। ६ खेल खेल्दा उनले जम्मा एकपल्ट मात्र अर्धशतक प्रहार गर्न सकेका छन्। उनी जस्तै दीपक हुडाको खेल पनि खस्किएको छ।
प्रतिभावान् स्पिनर मानिने रवी विष्णोइ र भेट्रान अमित मिश्राले भने तारिफयोग्य बलिङ गरिरहेका छन्। त्यसैगरी कुणाल पान्ड्याले पनि आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। लखनऊले फास्ट बलरबाट पनि प्रभावशाली बलिङको आशा राखेको छ। मार्क उड, आभेष खान, युद्धवीर सिंह चारक र नवीन उल हक लखनऊलाई खेल जिताउन सक्षम छन्।
गुजरातले लखनऊभन्दा एक खेल कम खेलेको छ। संयोगवश गुजरातले खेलेको पछिल्लो खेल पनि राजस्थानविरुद्ध नै थियो। जसमा गुजरात तीन विकेटले पराजित हुन पुग्यो। गुजरातले पाँच खेलमध्ये दुईमा हार व्यहोेरेको छ। ती दुवै हारकाे कारण हाे, कमजोर बलिङ।
गुजरातका लागि मोहम्मद शामीले अपेक्षाकृत प्रदर्शन गरिरहेका छन्। तर अल्जारी जोसेफ र जोश लिटलको योगदान भने अपेक्षाकृत हुन सकेको छैन। हालसम्म एक विकेट मात्र लिन सकेका हार्दिक पान्ड्याको बलिङ क्षमतामाथि फेरि एकपल्ट प्रश्न उठेको छ। पेसर मोहित शर्माले भने खेल्न पाएका दुई खेलमा ठिकठाक बलिङ गरेका छन्।
टिमको स्पिन विभागको जिम्मेवारी रशिद खानको काँधमा छ। तर राजस्थानसँगको खेलमा उनले किफायती बलिङ गर्न सकेनन्। यस्तोमा गुजरातले अफगानिस्तानकै किशोर बलर नुरु एहम्मदलाई मौका दियो। कठिन खेलमा डेब्यु गरेका यी १८ वर्षीय बलरले एक विकेट लिएका थिए।
गुजरातको ब्याटिङ विभाग भने लगभग स्थिर छ। शुभमन गिल, डेभिड मिल्लर, साई सुदर्शनलगायतले गुजरातका लागि सन्तोषजनक रन बनाइरहेकै छन्।
सारमा भन्ने हो भने लखनऊ र गुजरात दुवैले जारी सिजन स्थिरता देखाउन सकेका छैनन्। लखनऊभन्दा एक खेल कम खेल्दा बराबर (दुई) हार व्यहोरेको च्याम्पियन गुजरातका लागि शनिबारको खेल तुलानात्मक रुपमा बढी महत्त्वपूर्ण छ। बलियो ब्याटिङ भएको लखनऊविरुद्ध जित हात पार्न गुजरातका बलर बलियो लयमा फर्कन आवश्यक छ। गत सिजन दुवै खेलमा लखनऊलाई हराएकाले गुजरात आत्मविश्वासी देखिन सक्छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 