 
                            
                                            काठमाडौँ- समर्थकले भरिएको इडन गार्डेन्सले कोलकाता नाइट राइडर्सलाई बिहीबार स्वागत गर्दैछ। कोलकाता तीन वर्षपछि घरेलु रंगशाला फर्कन लागेको हो। जहाँ कोलकाताले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तगर्त रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्नेछ।
नयाँ सिजनको आईपीएल हारबाट सुरुवात गरेको कोलकाताको स्वागतमा समर्थकले कुनै कन्जुस्याई गर्ने छैनन्। उता बेंगलोरले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो। फाफ डु प्लेसिसको कप्तानीमा रहेको बेंगलोरले आफ्नो मैदानमा मुम्बईमाथि आठ विकेटको फराकिलो जित दर्ता गरेको थियो।
घरबाहिर पहिलो खेल खेल्न लागेको बेंगलार इडेन गार्डेन्समा खेल्दा आत्तिने छैन। कम्तीमा शबाज अमहमद र आकाश दीपको साथका कारण। किनभने पश्चिम बंगालका यी दुई खेलाडीका लागि प्रतिष्ठित इडन गार्डेन्स नौलो ठाउँ होइन। यी दुईबाहेक दिनेश कार्तिकको पनि साथ रहनेछ बेंगलोरलाई। कार्तिक सन् २०१८ देखि २०२१ सम्म कोलकाताको टिममा थिए।
यो खेलको सम्भावित नतिजालाई एकपल्ट फेरि ओपनिङले असर गर्नसक्नेछ। ओपनिङमा बेंगलोर बलियो देखिएको छ। मुम्बईमाथिको जितमा बेंगलोरका कप्तान डे प्लिस र पूर्वकप्तान विराट कोहलीले पहिलो विकेटका लागि १४८ को साझेदारी गरेका थिए। उता कोलकातका दुई ओपनर मन्दिप सिंह र राहमनुल्लाह गुर्बाज पहिलो खेलमा दुई र २२ रन बनाएर आउट हुन पुगे।
यस्तोमा कोलकाताले बिहीबारको खेलमा बलियो सुरुवात गर्न आवश्यक छ। यसो गर्न किन पनि अपरिहार्य छ भने, कोलाकाताको मध्यक्रम कमजोर छ। यसको कारण हो, श्रेयष ऐयर र शकिब अल हसनको अनुपस्थिति।
ऐयरले चोटका कारण आईपीएल खेल्न नपाएक हुन् भने बंगलादेशका शकिबले गत आइतबार मात्र आईपीएल खेल्न नसक्ने जानकारी दिएका हुन्। व्यक्तिगत कारण देखाउँदै आईपीएलबाट बाहिर बसेको भए पनि शकिबले राष्ट्रिय टिमका लागि समय दिन चाहेको बताइएको छ।
कोलकाताका वेनकाटेश ऐयरले अझै पनि आत्मविश्वासका साथ प्रदर्शन गर्न सेकेका छैन। यस्तोमा कोलकाता कप्तान निशित रानार रिंकु सिंहमाथि बढी निर्भर हुनेछ। साथै आन्द्रे रसेलबाट पनि मजबुत ब्याटिङको अपेक्षा गरिएको छ।
कोलकाताका नयाँ प्रशिक्षक चन्द्रकान्त पंडित आफ्नो ब्याटिङ विभागसँग आशावादी देखिन्छन्। ‘सुरुवाती ६ ब्याट्सम्यानसँग अनुभवको कमी छैन। उनीहरूमध्ये प्रत्येकले कि अन्तर्राष्ट्रिय कि घरेलु क्रिकेटमा मजबुत प्रदर्शन गर्दै आएका छन्। आईपीएलको पहिलो खेलमा गरेको प्रदर्शनकै आधारमा उनीहरूको विश्लेषण गर्नु हुँदैन,’ पंडितले भनेका छन्।
जे होस्, पंडित नेतृत्वको टिमका यी ब्याट्सम्यान मोहम्मद सिराज, आकाश दीप र शर्सल पटेल जस्ता फास्ट बलरले लिने परीक्षाबाट गुज्रिनेछन्।
लगातार दोस्रो जित दर्ता गर्ने दाउमा रहेको बेंगलोरको टिममा केही परिवर्तन हुनेछ। इंग्ल्यान्डका डेभिड विल्ली उनकै देशका रिस टोप्लेको स्थानमा खेल्ने अनुमान छ। टोप्ले काँधको चोटका कारण खेल्नसक्ने स्थितिमा छैनन्। रजत पटिदारको अनुपस्थिति पनि बेंगलोरका लागि घातक बन्नसक्छ।
कोलकाता ओपनिङमा मात्र होइन, बलिङमा पनि अस्थिर देखिएको छ। विश्वासिला सुनिल नारानेले पहिलो खेलमा चार ओभर बलिङ गर्दा जम्मा एक विकेट हात पारेका थिए। त्यस खेलमा टिम साउथीले पनि किफायती बलिङ गर्न सकेका थिएनन्। लोकी फर्गुसन चोटमुक्त भएको खबरले चाहिँ कोलकाता उत्साहित भएको हुनुपर्छ।
यसैबीच कोलाकाताले इंग्ल्यान्डका जेसोन रोयलाई भित्र्याएको छ। नियमित कप्तान ऐयर र हसनको अनुपस्थितिका कारण समस्यामा परेको कोलकाताका लागि अनुभवी ब्याट्सम्यान रोय उपयोगी साबित हुनसक्ने अनुमान छ। रोयले यसअघि दिल्ली क्यापिटल्स, गुजरात लायन्स र सनराइजर्स हैदराबाद लगायातका टिमबाट खेलिसकेका छन्।
प्रशिक्षक पंडितले रोय माथिल्लो क्रमका ब्याट्सम्यानका रुपमा मात्र होइन इम्प्याक्ट प्लेयरको भूमिकामा खरो उत्रने विश्वास व्यक्त गरेका छन्। रोय बेंगलोरसँगको खेलमा नहुने भए पनि आगामी आइतबार गुजरात टाइटन्सविरुद्ध भने उत्रिनेछन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 