अमेरिकी डलर सटहीको सीमा बढ्यो

हिमाल प्रेस १७ वैशाख २०८० १६:१४ | Sunday, April 30, 2023
अमेरिकी डलर सटहीको सीमा बढ्यो राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीको सीमा बढाएको छ। बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ संशोधन गर्दै राष्ट्र बैंकले डलर सटहीको सीमा बढाएको हो।

यसअघि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी चेञ्जरले नेपाली नागरिकसँग अमेरिकी डलर ५०० वा सो बराबरको परिवत्र्य मुद्रा बराबर मात्रै सटही कारोबार गर्न सक्ने व्यवस्था थियो। यसलाई संशोधन गर्दै राष्ट्र बैंकले अमेरिकी डलर पाँच हजारसम्म सटही गर्नसक्ने व्यवस्था गरेको छ।

‘नेपाली नागरिकसँग अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लिखित सम्पूर्ण रकम)को खरिद कारोबार गर्न सकिने छ,’ परिपत्रमा भनिएको छ, ‘तर विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने अधिकतम अमेरिकी डलर ५०० सम्म मात्र सटही गर्न सकिने छ।’

राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधनमार्फत विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने सटही सुविधासम्बन्धी व्यवस्था पनि थप गरेको छ। वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ अनुसार बैंक तथा वित्तीय संस्थाले शिक्षा मन्त्रालयको पोर्टलमा उपलब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन सर्टिफिकेट)सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

यसअघि यो व्यवस्था थिएन। त्यस्तै नेपाली नागरिकलाई विभिन्न प्रयोजनका लागि भारतीय मुद्रा बाहेकको परिवत्र्य विदेशी मुद्राको सटही सुविधासम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ।

यसअघि यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर एक हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिने व्यवस्था थियो। संशोधित व्यवस्थाअनुसार अधिकारप्राप्त निकायले परिवत्र्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा सो बराबर मुद्रा सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८० १६:१४ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast