सिरी ए : प्रतिस्पर्धा दाेस्राे स्थानका लागि

हिमाल प्रेस ४ वैशाख २०८० १०:४८ | Monday, April 17, 2023
सिरी ए : प्रतिस्पर्धा दाेस्राे स्थानका लागि

काठमाडौँ- सासुओलोसँग १-० ले पराजित भएपछि युभेन्टसले इन्टर मिलान र एटलान्टासँग दूरी कम गर्ने अवसर गुमाएको छ। सिरी ‘ए’ मा १० औँ स्थानमा रहेको सासुओलोले घरेलु मैदानमा जित दर्ता गर्दा ग्रेगाइरे ड्रेफेलले गोल गरे।

यो हारपछि युभेन्ट्स सातौँ स्थानमा यथावत् छ। युभेन्ट्समाथि रहेका एटलान्टा र इन्टरसँग क्रमशः ४८ र ५१ अंक छ। २९ खेल खेलेको एटलान्टाले आइतबार राति फियारेन्टिनालाई हराए पाँचौँ स्थानमाथि कब्जा जमाउनेछ।

खेलाडी सरुवा बजारको नियम उल्लंघन गरेको भन्दै १५ अंक घटाइएपछि युभेन्टस कम्तीमा शीर्ष ६ मा अट्ने लक्ष्यमा छ। च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कठिन भएकाले युभेन्टसको नजरमा पाँचौँ र छैटौँ स्थान छ। यी दुईमध्ये एक स्थानमा रहे युभेन्टसले अर्को सिजन युरोपेली क्लब फुटबलमा प्रवेश पाउनेछ। पाँचौँ स्थानमा रहे युरोपा र छैटौँ स्थानमा लिग सके युरोपा कन्फ्रेन्स लिग खेल्न पाउने व्यवस्था छ।

यसपालि सिरी ‘ए’ मा नापोली च्याम्पियन बन्ने लगभग पक्का छ। तीन दशकपछि लिग विजेता बन्न लागेको नापोली र दोस्रो स्थानको लाजियोबीच १४ अंकको फरक छ। उसो त लाजियोको दोस्रो स्थान सुरक्षित भने छैन। लाजियोलाई सहरी प्रतिद्वन्द्वी एएस रोमाले पछ्याइरहेको छ। लाजियोले ६१ अंक बटुल्दा रोमासँग ५६ अंक छ।

रोमा आइतबार राति उडिनेसेलाई ३–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो। रोमा र चौथौ स्थानको एसी मिलानबीच अब तीन अंकको दूरी छ। मिलान शनिबार राति बोलोन्यासँग बराबरीमा रोकिएपछि फाइदा रोमालाई भयो।

स्टाडियो ओलिम्पिकोमा उपस्थित ६० हजारभन्दा बढी समर्थकसामु रोमाले ३७ औँ मिनेटमा अग्रता लिएको थियो। मिडफिल्डर ब्रायन क्रिस्टान्टेले प्रहार गरेको पेनाल्टी पोस्टमा ठोक्किएपछि रिबाउन्डमा आएको बललाई एडोआर्डो बोभले जाली चुमाएका थिए।

त्यसपछि दोस्रो हाफमा रोमाले अग्रता दोब्बर बनायो। आन्द्रे बेलोट्टीले निकालेको थ्रु बललाई सदुपयोग गर्दै कप्तान लोरेन्जो पेलेग्रिनीले गोल गरेका थिए। उडिनेसेले ६९ औँ मिनेटमा गोल अन्तर घटाउने मौका पायो। तर उडिनेसेका रोबर्टो पेरेराले पेनाल्टी खेर फाले।

लगातार तेस्रो जित हात पारेको रोमाका लागि आतिरिक्त समयमा ट्यामी अब्राहामले तेस्रो गोल गरे। दोस्रो हाफमा मैदान प्रवेश गरेको इंग्लिस फरवार्ड अब्राहामले लेफ्टब्याक लियोनाद्रो स्पिनजोलाको सहयोगमा गोल गरेका थिए। यी दुई खेलाडी ७५ औँ मिनेटमा सँगै मैदान छिरेका थिए।

प्रकाशित: ४ वैशाख २०८० १०:४८ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast