फौजदारी अभियोग लाग्ने पहिलो पूर्वअमेरिकी राष्ट्रपति बने ट्रम्प

हिमाल प्रेस १७ चैत २०७९ ७:३५
16
SHARES
फौजदारी अभियोग लाग्ने पहिलो पूर्वअमेरिकी राष्ट्रपति बने ट्रम्प

काठमाडौँ- डोनाल्ड ट्रम्प फौजदारी अभियोग सामना गर्ने अमेरिकाको पहिलो पूर्वराष्ट्रपति बनेका छन्। उनीमाथि मानहाटनमा मुद्दा दायर गरिएको रोयटर्सले जनाएको छ। अर्को वर्ष राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने प्रयासमा रहेका ट्रम्पमाथि मानहाटन जिल्लाका सरकारी वकिल अल्भिन ब्रागको नेतृत्वमा मुद्दा दायर गरिएको हो।

ट्रम्पले ‘पोर्नस्टार’ स्टोर्मी डानियल्सलाई सूचना गोप्य राख्न पैसा दिएको आरोप छ। ट्रम्पले भने आरोप अस्वीकार गरेका छन्। ‘यो राजनीतिक प्रतिशोधको नतिजा हो। यसलाई मैले आउन लागेको निर्वाचनमा हस्तक्षेपको प्रयासका रुपमा लिएको छु। कुनै प्रमाणबिना मुद्दा हालिएको छ,’ ट्रम्पले भनेका छन्।

बिहीबार एक विज्ञप्ति निकाल्दै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेको बताएका ट्रम्पले मुद्दा लड्न आफ्ना समर्थकसँग चन्दा पनि मागेका छन्। उनले आफूमाथि मुद्दा दायर हुन लागेको थाहा पाएर पहिलेबाटै चन्दा अभियान चलाएका थिए। जसबाट उनले हालसम्म २० लाख अमेरिकी डलर संकलन गरिसकेको बताइएको छ।

मुद्दाबारे पर्याप्त जानकारी बाहिर ल्याइएको छैन। ब्रागको कार्यलयले भने ट्रम्पका वकिललाई सम्पर्क गरि आत्मसर्मपण प्रक्रियामा सहयोग गर्न आग्रह गरेको रोयटर्सको रिपोर्टमा उल्लेख छ। ट्रम्पका दुई वकिल सुुसन नेकेलेस र जोसेफ टाकोपिनाले मजबुत ढंगमा मुद्दा लड्ने प्रतिक्रिया दिएका छन्।

ट्रम्पमाथि लागेका अन्य आरोपमाथि पनि छानबिन भइरहेका छन्। उनीमाथि अन्य मुद्दा पनि थपिए आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने बाटो बन्द हुनेछ।

वास्तविक नाम स्टिफनी क्लिफ्फोर्ड रहेकी डानियल्सले यौन सम्बन्धलाई गोप्य राख्न ट्रम्पले सन् २००६ मा पैसा दिएको बताएकी थिइन्। ट्रम्पका वकिल माइकल कोहेनले डानियल्स र अर्की एक मोडल कारेन म्याकडोगललाई पैसा उपलब्ध गराउन सहयोग गरेको यसअघि नै बताइसकेका छन्। म्याकडोगलले पनि ट्रम्पसँग यौन सम्बन्ध राखेको कोहेनको भनाइ छ।

डानियल्सका वकिल क्लार्क ब्रेवेस्टरले सामाजिक सञ्जाल ट्विटरमा कोही पनि कानुनभन्दा माथि नरहेको प्रतिक्रिया दिएका छन्।

सन् २०१८ मा निर्वाचन अभियान दौरान आर्थिक अनियमितता गरेको स्वीकार गरेका कोहेन यसअघि एक वर्ष जेल चलान भएका थिए। उनले आफूले हरेक काम ट्रम्पको निर्देशन गरेको बयान दिएका थिए।

ट्रम्पले सुरुमा डानियल्सलाई पैसा दिइएकोबारे आफूलाई कुनै जानकारी नभएको जिकिर गरेका थिए। तर पछि उनले कोहेनमार्फत व्यक्तिगत कारोबार गरेको बताएका थिए।

प्रकाशित: १७ चैत २०७९ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =