ब्लग

प्रश्न सोध्‍ने पत्रकार ‘देशविरोधी’!

प्रविण बिक्रम कटवाल १५ चैत २०७९ १६:१८
1.9k
SHARES
प्रश्न सोध्‍ने पत्रकार ‘देशविरोधी’!

फुटबलमा पत्रकार सम्मेलन सामान्य तर अपरिहार्य परिपाटी हो। ठ्याक्कै प्रतियोगिता वा खेलमै प्रवेश गर्ने हो भने पत्रकार सम्मेलन दुई प्रकार हुन्छन्। खेलअघि प्रिम्याच कन्फ्रेन्स र पछि पोस्टम्याच कन्फ्रेन्स। सामान्यतया प्रशिक्षक दुवै खालका पत्रकार सम्मेलनमा उपस्थित हुन्छन्, एक्लै वा कप्तानका साथ। पोस्टम्याचमा प्रशिक्षकसँग म्यान अफ द म्याच पनि हुनसक्छन्।

पोस्टम्याचमा मूलतः खेलबारे प्रश्न सोधिन्छन्। नतिजा, खेलाडीको प्रदर्शन, रणनीति आदिबारे सोधिएका प्रश्न वरपर पोस्टम्याच कन्फ्रेन्स चल्छ। प्रश्न पत्रकारको, जबाफ प्रशिक्षकको। हुने यही हो। जबाफ दिँदा प्रशिक्षक रुखो सुनिन सक्छन्। नतिजाको प्रभाव प्रशिक्षकमा परेको हुन्छ। जसकारण खस्रो जबाफ दिन पुग्छन्।

तर यति हुँदाहुँदै पनि प्रशिक्षकले शब्द चयन भने सही गर्नैपर्छ। यस्तो अपेक्षा गरिनुको मुख्य कारण हो, उनीहरूको अनुभव र तालिम। सञ्चारमाध्यमका प्रश्न कसरी ‘ट्याकल’ गर्ने भन्ने विषय उनीहरूको तालिमकै हिस्सा हो।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस ‘प्रो-लाइसेन्स’ वाला प्रशिक्षक हुन्। नेपाल आउनुअघि उनले सात देशमा प्रशिक्षण बटुलिसकेका थिए। यसअर्थमा उनलाई पत्रकार सम्मेलनमा कसरी प्रस्तुत हुने पर्याप्त ज्ञान छ। तर नेपालमा भने उनले आफ्नो यो ज्ञानको उपयोग गर्न नखोजेको देखिन्छ- कम्तीमा पछिल्ला दुई पत्रकार सम्मेलनमा उनको प्रस्तुति हेर्दा।

प्रधानमन्त्री त्रिदेशीय कपमा नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २-० हरायो। पोस्टम्याच कन्फ्रेन्समा उनलाई एक सिनियर पत्रकारले प्रश्न सोधे, ‘तपाईंको खेल रणनीति के हो? यो प्रश्न असामान्य होइन। राष्ट्रिय टिमका प्रशिक्षक त्यसमाथि भर्खरै नियुक्त भएका एनिसलाई यो प्रश्न सोधिनु स्वाभाविक थियो।

उनले यो प्रश्नको जबाफ सामान्य तरिकाले दिन सक्थे। फेरि यो एउटा मौका पनि थियो उनलाई आफ्नो फुटबल दर्शनबारे बुझाउने। तर उनले उल्टै प्रतिप्रश्न गरे। ‘के तपाईं इटालियन फुटबल पछ्याउनुहुन्छ? तपाईंलाई थाहा छ, इटालीका कतिवटा क्लब च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्? तीनवटा। नापोली, एसी मिलान र इन्टर मिलान। युरोपा लिगमा कतिवटा इटालियन क्लब छन्, थाहा छ?’ उनले यस्ता प्रश्न तेर्साए। तर सोधिएको प्रश्नको जबाफ स्पष्ट दिएनन्।

यी इटालेली प्रशिक्षकको हाउभाउ देख्दा यस्तो लाग्थ्यो, उनी नेपाली पत्रकारसँग विश्व फुटबलबारे जानकारी नभएको ठानिरहेका छन्। उनको यो बुझाइलाई चुनौती दिन च्याम्पियन्स लिग र युरोपाबारे जबाफ दिनु उचित हुँदैन थियो। किनभने पत्रकार सम्मेलन हाजिरीजबाफ प्रतियोगिता होइन। औपचारिक कार्यक्रमका आफ्ना मर्यादा हुन्छन्।

फुटबल विकास र प्रवर्द्धनमा युरोपेली देशको भूमिका अहम् छ। चार पटक विश्वकप जितेको इटाली फुटबललाई संस्कृति बनाउने अभियानको अगुवा हो। सन् १९८० र ९० को दशकमा इटालेली क्लब फुटबलको दबदबा थियो। त्यसबेलाका प्रशिक्षक आरिगो साचीदेखि अहिलेका एन्टोनियो कोन्टेसम्म, नेपाली त के विश्वभरका फुटबल समर्थक यी रणनीतिकारका प्रशंसक हुन्। मनपर्ने इटालेली खेलाडीको सूची बनाएर साध्य हुँदैन।

इटालेली फुटबल, त्यहाँका प्रशिक्षक र खेलाडीप्रति सबैको सम्मान छ। उनीहरू उच्चतम फुटबल संस्कृतिका हिस्सा हुन्। तर यसको मतलब यो होइन, नेपाली समर्थक वा यहाँका पत्रकारलाई सामान्य ज्ञान पनि छैन। कुनै समय थियो, जब युरोपेलीहरू सभ्यता सिकाउन भन्दै एसिया र अफ्रिका छिरेका थिए। यी दुई महादेशका कैयौँ देशलाई उपनिवेश बनाएका थिए। एनिसमा पनि त्यही हेपाहा प्रवृत्ति छचल्किरहेको छ।

कुरा फेरि, त्रिदेशीय कपकै। नेपालले बुधबार भुटानसँग १-१ को बराबरी खेल्यो। यो बराबरी भुटानका लागि ऐतिहासिक थियो। किनभने उसले पहिलोपटक नेपालबाट अंक खोसेको हो। यसअघिका सबै खेलमा भुटान पराजित रहँदै आएको थियो। नेपालले उत्तरार्द्धमा  गोल नगरेको भए, भुटानले भन्न सक्थ्यो, हामीले पहिलोपटक नेपाललाई हरायौँ।

दीपकराज सिंह ठकुरीको त्यो एक गोलका कारण नेपालको प्रभुत्व जोगियो। भलै यो प्रभुत्व हाल सर्वाधिक कमजोर स्थितिमा छ। किनभने दशरथ रंगशालामा भुटान नेपालभन्दा हरेक विभागमा बलियो देखियो।

ऐतिहासिक बराबरी र खस्किएको प्रदर्शनबारे एनिसलाई सोधियो। यो स्वाभाविक प्रश्न उनले उचित ठानेनन्। ‘नेपाल पहिलोपटक भुटानसँग बराबरीमा रोकियो। जबकि यसअघिका सबै खेलमा नेपाल विजयी भएको थियो। के तपाईंलाई लाग्दैन, इतिहासले यसको अपजस तपाईंलाई दिनेछ?’ प्रश्न यस्तो थियो।

जबाफमा एनिसले भने, ‘लाओसलाई नेपालले रेगुलर गेममा पहिलोपटक हरायो। त्यसबेला तपाईंले पहिलो जितबारे टिप्पणी गर्नुभएन। भुटानसँगको बराबरीमाथि चाहिँ टिप्पणी गर्नु हुँदैछ। यसकारण म के भन्छु भने तपाईं आफ्नो देशविरोधी हुनुहुन्छ।’

भुटानसँग अहिलेसम्मकै खराब नतिजा निकालेकोबारे सोध्ने पत्रकारलाई एनिसले देशविरोधीको बिल्ला भिराइदिए। पत्रकारको स्वाभाविक प्रश्नले कड्किएका एनिसलाई फेरि प्रश्न गरियो, ‘नेपालले खेल बराबरी गरे वा हारे, कसरी यस्तो भयो, भनेर सोधे देशविरोधी भइन्छ?’ ‘हो देशविरोधी भइन्छ। यो मेरो विचार हो,’ एनिसले दोहोर्‍याए।

एनिसको मातृभाषा अंग्रेजी होइन। मातृभाषा नभएकाले अंग्रेजी भाषा प्रयोग गर्दा कहिलेकाहीँ तलमाथि हुनसक्छ। सुरुमा त एनिसको हकमा त्यही भएको हो कि भन्ने महसुस पनि भयो। तर दोहोर्‍याएर उही जबाफ दिएपछि प्रस्ट भयो, उनले देशविरोधीको नयाँ व्याख्या दिएका रहेछन्।

एनिसको यो अभिव्यक्ति आपत्तिजनक थियो। उनले पदीय मर्यादा भुलेर यस्तो जबाफ दिएका थिए। तर नेपाली पत्रकारले आफ्नो मर्यादा बिर्सिएनन्। तब त उनले आपत्तिजनक अभिव्यक्ति दिँदा पनि चर्काचर्की भएन। यसो गर्न पत्रकारले उचित ठानेनन्।

एनिस यस्तो परिवेशबाट आएका हुन्, जहाँ खराब नतिजाका कारण प्रशिक्षक र खेलाडीको आलोचना गरिन्छ। सञ्चारमाध्यम खनिन्छन्। यो मामलामा नेपाली सञ्चारमाध्यम संयमित छ। नेपाली टिमले खराब प्रदर्शन गर्दा नेपाली खेलकुद पत्रकार मैदानभित्रको प्रदर्शनभन्दा मैदानबाहिरको वातावरणलाई दोष दिन्छन्। खेलाडीको वृत्ति विकासका लागि गम्भीर नभएको भन्दै नेपाल फुटबल संघ (एन्फा) को आलोचना हुन्छ। खेलाडीले सकेको मेहनत गरेकै हुन् भन्ने गरिन्छ।

तर यिनै पत्रकारलाई एनिसले देशविरोधीको दर्जा दिए। जबकि पत्रकारहरू राष्ट्रिय टिम र समग्र फुटबलको आलोचक होइन समर्थकका रूपमा प्रस्तुत भइरहेका हुन्छन्। उसो त केही समयका लागि नेपाल आएका विदेशी नागरिकले देशविरोधी भन्दैमा कोही नेपाली खेलकुद पत्रकार देशविरोधी हुने होइन। सत्यचाहिँ के हो भने एनिस भ्रमले पुरिएका छन्। उनलाई लागेको छ, नेपालमा फुटबल सुरु भएको आफूले मुख्य प्रशिक्षकको नियुक्ति लिएपछि मात्र हो।

यस्तो ठान्ने प्रशिक्षक नेपालले पाएको यो पहिलोपटक होइन। यसअघिका मुख्य प्रशिक्षक अब्बदुल्लाह अलमुताइरीको स्वाभाव पनि झन्डैझन्डै यस्तै थियो। उनी पनि ठान्थे, नेपालमा फुटबल कसैले बुझेको छैन। अब यिनिहरूलाई फुटबल यस्तो हुन्छ भनेर म बुझाउँछु। उनले नेपाली फुटबलमा लगभग समानान्तर सत्ता चलाए। नेपाली फुटबलले उनलाई चलाउने होइन, उनले नेपाली फुटबल चलाएझैँ गरे। खेलाडीको ‘डिसिप्लिन इन्चार्ज’ बने। उनीहरूलाई सञ्चारमाध्यमसँग बोल्न दिएनन्। एक हिसाबले खेलाडीको स्टार बन्ने प्रक्रियालाई रोके। बिनाकारण सञ्चारमाध्यम र पत्रकारलाई भिलेनका रूपमा लिए।  एनिसलाई पनि लागेको छ, नेपाली फुटबल पत्रकारकै कारण पछि परेको हो। तब त उनले खेलकुद पत्रकारलाई भिलेनका रूपमा चित्रण गर्ने प्रयास गरेका छन्।

एनिसले पत्रकारलाई भुटानसँगको नतिजालाई सकारात्मक मान्न आग्रह पनि गरे। पत्रकारले नतिजाको मात्र कुरा गरे नेपाली फुटबल विकास नहुने जिकिर पनि गरे। ‘हामीले आज एक अंक बटुल्यौँ। नतिजा वा तथ्यांकबारे पत्रकारले सोध्न सक्छन्, तर यसले नेपाली फुटबलको विकासमा सघाउ पुर्‍याउँदैन। पत्रकारहरू सकारात्मक हुनुपर्छ। खेलाडीले कति सुधार गरे, त्यता पनि ध्यान दिनुपर्छ। जस्तै बल पोसेसनमा सुधार भयो। मौका सिर्जना गर्न सकियो। यी पक्ष महत्त्वपूर्ण छन्। म चाहन्छु, यी पक्षबारे प्रश्न सोधियून्,’ एनिसले भने।

नेपाल लगभग एक घण्टासम्म रक्षात्मक खेल्न बाध्य भएको थियो। आफ्नै क्षेत्रमा सीमित नेपाली खेलाडीहरू बारम्बार मिसपास गरिरहेका थिए। पछिल्लो २० मिनेटमध्ये आधा जति समय नेपालले औसत खेल देखायो भने बाँकी समयमा भुटानलाई दबाबमा राख्यो। गोल पनि गर्‍यो। समग्र प्रदर्शनको कुरा गर्ने हो भने नेपाल आफूले सधैँ पराजित गरिरहेको विपक्षीसँग होइन, आफूभन्दा बलियो विपक्षीसँग खेलिरहेको जस्तो देखिएको थियो। लगातार १२ खेल जितेको विपक्षीसँग पहिलो पटक बराबरीमा रोकिँदा सकारात्मक मान्न आग्रह गर्दा एनिस रुखो हुन आवश्यक थिएन।

पत्रकार सम्मेलनमा एनिससँगै उपस्थित कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बुले पनि अस्वाभाविक अभिव्यक्ति दिए। ‘तपाईं पत्रकारहरू पनि आफ्नै देश ठानेर हाम्रो टिमलाई समर्थन गरिदिनुस्,’ किरणले भने। उनको आशय गलत थिएन। तर शब्द चयन गलत थियो। किनभने त्यहाँ उपस्थित सबै पत्रकार नेपाली थिए।

पत्रकार सम्मेलनमा कप्तानको हैसियतमा उपस्थित किरण किन शब्द चयनमा चुके? यसको कारण एन्फाको शैलीसँग जोडिएको छ। नेपाली फुटबल संरचना र व्यवस्थासँग जोडिएको छ। एन्फा आफ्ना कप्तानलाई कहाँ, के बोल्ने भन्ने कुरा सिकाउन सक्दैन, अभिमुखीकरण दिन सक्दैन वा खेलाडीको चौतर्फी विकासमा ध्यान दिन सक्दैन भन्ने उदाहरण हो यो।

एनिस र किरण दुवैले पत्रकारहरूलाई सकारात्मक भइदिन आग्रह गरे। तर यहाँ बुझ्नुपर्ने तथ्य के हो भने पत्रकार कहिले पनि सकारात्मक वा नकारात्मक बन्ने होइन। देखिएका कुरा लेख्ने हो। तथ्यमा अडिने हो। भुटानविरुद्ध नेपालले अहिलेसम्मकै खराब खेल्यो। यो नतिजा नेपाली फुटबल खराब बिन्दुमा छ भन्ने औपचारिक घोषणा थियो। पत्रकारको जिम्मेवारी यही तथ्य सम्प्रेषण गर्ने हो। सकारात्मक बन्ने नाममा भुटानसँग बहादूरीपूर्वक बराबरी गर्‍यो भनेर लेख्नु भ्रम छर्ने चेष्टामात्रै हो।

प्रकाशित: १५ चैत २०७९ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 3 =