महेन्द्रनगर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुरको गणना गरिएको छ। राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाल पन्छी संरक्षण संघले संयुक्त रूपमा एक सातासम्म विश्वमै अति संकटापन्न अवस्थामा रहेको खरमयुरको गणना गरेको हो।
नेपाल पन्छी संरक्षण संघका परियोजना सहायक हिरुलाल डगौराले चैत ८ देखि १४ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुरको गणना गरिएको बताए।
‘यो विश्वकै अति संकटापन्न पन्छी हो,’ उनले भने, ‘खरमयुर नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा मात्रै पाइन्छ।’ उनले राष्ट्रिय रूपमा खरमयुरको गणना भइरहेकाले केही समयपछि मात्रै तथ्यांक सार्वजनिक गरिने बताए। खरमयुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने उनको भनाइ छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले एक सातासम्म निकुञ्जमा खरमयुर पाइने स्थानमा अध्ययन गरिएको बताए। ‘संघले हाम्रो विभागमा रिपोर्ट बुझाएपछि मात्रै तथ्यांक सार्वजनिक गरिन्छ।’ ग्रीष्मयामको सुरुआतदेखि बर्खायाम नलाग्दासम्म यसको प्रजनन समय भएकाले यो समयमा खरमयुर निकुञ्जको घाँसेमैदानमा देख्न पाइन्छ।
निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान, हरैया, लालपानी र अर्जुनी लगायतका घाँसे मैदानमा ७१ वटा केन्द्र निर्धारण गरी गणना गरिएको थियो। सन् २०२१ मा गरिएको गणनाअनुसार शुक्लाफाँटामा आठवटा खरमयुर रहेको प्रमुख संरक्षण अधिकृत मेहताले बताए।
शुक्लाफाँटामा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यहाँ ४५४ प्रजातिका चरा छन्।