काठमाडौँ- ‘कुनै विद्यालयमा कक्षा १ मा १०० जना विद्यार्थी भर्ना हुन्छन्। कक्षा १२ मा पुग्दा ती विद्यार्थीको संख्या ३३ जनामा सीमित हुन्छ।’ यो तथ्य शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जारी गरेको पछिल्लो फ्ल्यास रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार १ कक्षामा बर्सेनि करिब १५ लाख बालबालिका भर्ना हुन्छन्। एसईईमा पुग्दा ती बालबालिकाको संख्या पाँच लाखमा झर्छ। १० वर्षमा १० लाख केटाकेटी स्कुलबाहिर गइसक्छन्। केन्द्रका अधिकारीहरूका अनुसार कक्षा १ मा भर्ना भएकामध्ये ३३ प्रतिशत बालबालिका मात्र कक्षा १२ मा पुग्छन्।
बालबालिका किन स्कुल छाड्छन् त?
कमजोर आर्थिक अवस्था, बसाइँसराइ, विद्यालयसम्मको दूरी, बालविवाह, शिक्षकको दुर्व्यवहारका कारण विद्यालय छाड्ने बालबालिकाको संख्या उच्च रहेको शिक्षा मन्त्रालयका अधिकारी बताउँछन्। घरमा सहयोग गर्नुपर्ने र अभिभावकले पढाउन नचाहनु पनि बीचमै स्कुल छाड्नुका अन्य कारण हुन्। अभिभावक निरक्षर हुनु, घरमा मादक पदार्थ सेवन गरेर आमाबाबुबीच झगडा हुनुजस्ता कारण पनि बालबालिकाले विद्यालय छाड्ने गरेका छन्।
दोलखाको कालिञ्चोक माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज न्यौपाने ज्यालामजदुरी गरेर पढाउने अभिभावकले विद्यालय परिवर्तन गर्ने र तीमध्ये अधिकांशले छाड्ने गरेको बताउँछन्। ‘सरकारले अभिभावक शिक्षातर्फ ध्यान दिएको छैन। सामुदायिक विद्यालयमा विपन्न र आयस्रोत गुमाएका अभिभावकका सन्तानलाई विद्यालयमा जान अभिप्रेरित गर्नुपर्छ,’ उनले भने।
जिल्ला शिक्षा समन्वय एकाइ दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले भिभावक अवसरको खोजीमा अन्यत्र लाग्दा बालबालिकाले विद्यालय छाड्ने गरेको बताए। ‘प्रत्येक वर्ष रजिस्ट्रेसन फाराम भर्दा विद्यार्थीले विद्यालय छाड्ने गरेको तथ्यांक छ,’ उनले भने।
जिल्ला शिक्षा समन्वय एकाइ रोल्पाले पनि अधिकांश पालिकाबाट ठूलो संख्यामा विद्यार्थीले विद्यालय छाड्ने (ड्रप आउट हुने) गरेको जनाएको छ। २०७८ मा रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीमध्ये २०७९ मा आवेदन फाराम भर्दा ६३० जनाले विद्यालय छाडेका छन्। रोल्पा नगरपालिकास्थित बालकल्याण नमुना माविका ४१ जना विद्यार्थीले पढाइ छाडेका एकाइको अभिलेख छ।
वैदेशिक रोजगारी तथा अवसरको खोजीमा सहर पसेका परिवार र अति विपन्न परिवारका बालबालिकाले बीचमै पढाइ छाड्ने गरेको एकाइका कर्मचारीहरू बताउँछन्। दलित तथा सीमान्तकृत समूहका अधिकांश बालबालिका बीचैमा हराउने गरेको प्रधानाध्यापकहरूको अनुभव छ। विद्यालय शिक्षामा ‘ड्रप आउट’ समस्या बढ्दै जाँदा नेपालको शैक्षिक गुणस्तरमा प्रश्न खडा भएको चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन्।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बीचमै पढाइ छाड्ने दरमा सुधार ल्याउन नसकिएको बताउँछन्। शर्माले शिक्षाको अधिकार स्थानीय तहमा गएकाले विद्यालयमा विद्यार्थी टिकाउने विषयमा पालिका जिम्मेवार हुनुपर्नेमा जोड दिए।
केन्द्रको तथ्यांकअनुसार आधारभूत तह (१-८) मा अध्ययन गर्ने विद्यार्थीको संख्या ५३ लाख २५ हजार ९८० छ। माध्यमिक तह कक्षा (९-१२) मा १७ लाख ७० हजार १५४ विद्यार्थी अध्ययनरत छन्। शैक्षिक सत्र २०७८ मा प्राथमिक तहको ९६.९, आधारभूत तहको ९५.१ र माध्यमिक तहको भर्नादर ५४.३ प्रतिशत थियो।
शैक्षिक सत्र २०७८ मा कक्षा १ मा खुद भर्ना हुने उमेर ५ वर्ष पूरा भएका ९६.३ प्रतिशत थियो। त्यसैगरी कक्षा ८ सम्मको विद्यार्थी टिकाउ दर ८५.१ प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६६.१ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३३.१ प्रतिशत छ।
विद्यालय शिक्षाको व्यवस्थापन तथा सञ्चालनको जिम्मा संविधानले स्थानीय तहलाई दिइसके पनि संघीय शिक्षा ऐन नहुँदा जिम्मेवारी बाँडफाँटमा समस्या छ। राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको साक्षरता दर ७६.२ प्रतिशत छ। कुल जनसंख्याको २३.८ प्रतिशत अर्थात् ६९ लाख ४१ हजार १७० जना निरक्षर छन्। साक्षरता दर शतप्रतिशत पुर्याउने हो भने विद्यार्थीलाई विद्यालयमा टिकाउनुपर्ने सुझाव विज्ञको छ।
शिक्षा मन्त्रालय, युनिसेफ, तथा विश्व बैंकको तथ्यांक आधार मान्ने हो भने नेपालमा ५ देखि ९ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिका स्कुलमा भर्ना हुन्छन्। सरकारले कक्षा १ मा विद्यार्थी भर्ना गर्न अभियान सञ्चालन गर्दै आए पनि यसको प्रभावकारी कार्यान्वयन नभएको प्रति सरोकारवालाले टिप्पणी गर्ने गरेका छन्।
शिक्षाविद् विद्यानाथ कोइरालाले तीन प्रतिशत केटाकेटी विद्यालयको पहुँचमा नपुग्नुमा सामाजिक र आर्थिक कारण प्रमुख रहेको बताए। उनका अनुसार सबभन्दा धेरै सीमान्तकृत समुदायका केटाकेटी प्राथमिक शिक्षाभन्दा बाहिर छन्। कोइरालाले कक्षामा पढाइ र सिकाइमा सुधार ल्याउन सकेमात्र विद्यालयमा विद्यार्थी टिकाउन सकिने बताए।
‘सरकारले विद्यालय शिक्षामा सुधार गर्न भन्दै विभिन्न योजना ल्याए पनि यसको प्रभावकारी कार्यान्यवन नहुँदा सुधार हुन सकेको छैन,’ उनले भने, ‘स्कुललाई आयआर्जन गर्न सकिने बनाउनुपर्छ। विद्यार्थीलाई सीप सिकाउनुपर्छ। छोटो अवधिको तालिम दिन के समस्या छ? महिनावारीका कारण छात्राले विद्यालय छाड्छन्। यो समस्या समाधान गर्नुपर्यो। स्यानिटरी प्याड लगायतको व्यवस्था गर्नुपर्यो। दलित विद्यार्थीले छुवाछुत कारण पनि विद्यालय छाड्ने गरेका छन्। यसलाई हटाउनुपर्छ।’
कोइराला शिक्षकको सिकाउने कला प्रभावकारी नहुँदा पनि विद्यार्थीले विद्यालय छाड्ने गरेको बताउँछन्। ‘विद्यार्थीलाई ओपन मोड र रेगुलर मोडबाट अध्ययन गर्ने अवसर दिनुपर्छ। शिक्षकलाई तालिम, विद्यालयमा विद्यार्थीलाई सम्मान गर्न सक्ने वातावरण बनाउनुपर्छ।’
उनले विद्यार्थी स्कुल नजानुको कारण शिक्षक पनि रहेको आरोप लगाए। कोइरालाले भने, ‘शिक्षकको व्यवहारका कारणले पनि विद्यालय छाड्ने गरेका छन्।’
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको मूल्यांकनमा पनि कक्षा ३, ५ र ८ का बालबलिकाको सिकाइ उपलब्धि सन्तोषजनक छैन। सिकाइ उपलब्धि हासिल गर्न प्रविधिमैत्री शिक्षकको व्यवस्था गर्नुपर्ने सुझाव विज्ञले दिएका छन्।