काठमाडौँ- पछिल्लो समय हवाई सुरक्षामा असर गर्ने एकपछि अर्को घटना सार्वजनिक हुन थालेपछि नियामक निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) संवेदनशील बनेको छ।
स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले हवाई सुरक्षा मापदण्ड पालना नगरेको देखिन थालेपछि प्राधिकरणले चासो देखाएको हाे।
बढ्दो हवाई जोखिमलाई ख्याल गरी विभिन्न तवरले सूक्ष्म निगरानी बढाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। ‘हवाई सुरक्षाका विषयमा प्राधिकरणले सूक्ष्म निगरानी गरिरहेको छ,’ उनले भने, ‘हवाई सुरक्षामा लापरबाही गर्ने वायुसेवा कम्पनी र त्यसमा संलग्नलाई कारबाही गरिरहेका छौँ।’ हवाई क्षेत्रको ‘सेफ्टी’ र ‘सेक्युरिटी’प्रति सचेत हुँदै प्राधिकरणले उडान सुरक्षा उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याइरहेको प्रवक्ता निरौलाको भनाइ थियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन निर्देशन पनि दिँदै आएका छन्।
प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)सँग आकाशमै ठोकिनबाट जोगिएको एयर इन्डियाकाे सम्बन्धमा छानबिन गर्ने भएको छ। उक्त घटनामा संलग्न एयरलाइन्समाथि छानबिन गरिने प्राधिकरणका प्रवक्ता निरौलाले बताए।
गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थल आउँदै थियो। सोही समय दिल्लीबाट काठमाडौँका लागि उडेको एयर इन्डियाको जहाज १९ हजार फिटको उचाइबाट उडिरहेको थियो।
एयर ट्राफिक कन्ट्रोलर (एटीसी)को अनुमतिबिना नै एयर इन्डियाको जहाज एक्कासी १५ हजार फिटमा तल आउँदा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो। लगत्तै नेपाल एयरलाइन्सले उडान केही फिट तल गरेकाले दुर्घटना हुनबाट जोगिएको थियो। उक्त घटनामा एयर इन्डियाका तर्फबाट देखिएको लापरबाहीका सम्बन्धमा छानबिन गर्न प्राधिकरणलेसमिति गठन गरेकोे छ।
जतिसक्दो छिटो अध्ययन गरी प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको छ। यसअघि फागुन १५ गते पनि कतारको दोहाबाट काठमाडौँ आउँदै गरेको कतार एयरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज आकाशमै ठोकिनबाट जोगिएका थिए। उक्त घटनामा आन्तरिक उडानमा रहेको बुद्ध एयरको जहाज पनि जोगिएको थियो।
यही चैत ९ गते प्राधिकरणले काठमाडौँ–लुक्ला उडानका क्रममा टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग अपशब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई निलम्बन गरिएको प्राधिकरणले जानकारी दिएको छ।
उडान सुरक्षा मापदण्ड उल्लंघन गर्ने थप दुई हेलिकप्टर कम्पनी क्रमशः एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटलाई पनि निलम्बन गरिएको थियो। यसअघि यही चैत ७ गते प्राधिकरणले वायुसेवा निगमको ट्वीनअटर जहाजका चालकदलसहित सात जनालाई निलम्बन गरेको थियो।
ताप्लेजुङबाट काठमाडौँका लागि उडेको निगमको नाइन एन एबीटी बिमानमा लोड सिट क्षमताभन्दा बढी सामान बोकेको सूचना पाएपछि प्राधिकरणले जाँच गरेको थियो। जाँचका क्रममा कागजमा देखाइएकोभन्दा बढी तौल भेटिएकाले उडान अनुशासन पालना नगर्ने जहाजका चालकदलका सदस्यसहित बिमान ग्राउन्डेड गरिएको प्राधिकरणले उल्लेख गरेको छ।
चालक दलका तीन सदस्य, निगमका मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई निलम्बन गर्नुका साथै घटनाबारे आवश्यक छानबिन गरिने प्राधिकरणले बताएको छ। गत फागुन २५ गते काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इञ्जिनमा आगोको संकेत देखिएपछि आकस्मिक अवतरण गरिएको थियो।
श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजको इञ्जिनमा ‘फायर वर्निङ’ देखिएपछि बिचबाटै डाइभर्ट गरेर काठमाडौँमा आकस्मिक अवतरण गरिएको थियो। घटनालगत्तै प्राधिकरणले उक्त एयरलाइन्सका उडानमा रहेका सबै जहाज एक दिन ग्राउन्डेड गरिएका थिए। भोलिपल्ट जहाज उडानका लागि पुनः अनुमति दिइएको थियो।
यसरी हवाई सुरक्षा मापदण्ड पालनामा लापरबाही गर्ने र आचरण विपरीत काम गर्ने बिमान कम्पनी तथा संलग्न पाइलटलाई कानुनी दायरामा ल्याउन प्राधिकरण आक्रामक बनेको प्राधिकरणका अधिकारीहरू बताउँछन्।
हवाई सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उडान सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन प्राधिकरण निर्मम बन्नुपर्ने जानकारहरू औंल्याउँदै आएका छन्। रासस