उहिल्यै एक जना साथीको सल्लाहमा बन्दीपुर घुम्न गएको थिएँ। साढे चार दशकअघि त्यहाँ पुग्दा चीनले बनाइदिएको पृथ्वीराजमार्ग भर्खरै गुल्जार हुँदै थियो। सडक छेउछाउमा बजार विस्तार भइरहेको थियो। माथि-माथिका व्यापारी पनि पसल थाप्न सडकछेउ झर्दै थिए। एसएलसी पास गरेपछि पहिलोपटक बन्दीपुर गएको थिएँ।
डुम्रे व्यापारिक केन्द्रका रूपमा उदाउँदै थियो। सवारी साधनको बढ्दो आवतजावत। खाना खाने होटल खुल्दै थिए। स्थानीयको आवश्यकता पूरा गर्ने ससाना पसल थापिँदै थिए। माथि डाँडाको बन्दीपुरलाई सौता नै हालेको जस्तो भएको थियो, डुम्रे बजार।
बन्दीपुर मूलतः काठमाडौँका तीन सहरबाट बसाइँ सरेका नेवारले बसालेको पुरानो बस्ती हो। सयौँ वर्ष पुरानो बस्ती। नेवारहरूले आफूसँगै व्यापारिक कलामात्र नभई वास्तुशिल्प, संस्कृति र सभ्यतासमेत साथमा लिएर गएका थिए।
त्यस ठाउँलाई व्यापार-व्यवसायको केन्द्र बनाउने पनि नेवार नै हुन्। त्यसैले यहाँको जनजीवन, संस्कार र संस्कृतिमा काठमाडौँ उपत्यको झल्को आउँथ्यो। चिनियाँ सडक बन्नुअघि नेवारी सभ्यता त्यहाँ जीवन्त देखिन्थ्यो।
पृथ्वीराजमार्गको निर्माणले बन्दीपुर बजार विस्थापित भयो। सयौँ वर्षसम्म चम्किएको त्यहाँको व्यापार अचानक हराउन पुग्यो। सडकछेउमा बसोबास गर्ने पनि विस्थापित भए।
बन्दीपुरे नेवार पोकापुन्तरा बोकेर कोही डुम्रे त कोही नारायणगढ बजार सरे। त्यही बेला म त्यो ठाउँ हेर्न पुगेको थिएँ। डुम्रेबजार तल मर्स्याङ्दी तीरैमा, बन्दीपुरमाथि डाँडाको शिरैमा।
म त्यस ठाउँको भ्रमण गर्न जाँदा पहाडको उचाइ आँखाले मात्र नापिन्थ्यो। अहिलेजस्तो उपकरणले नाप्ने सुविधा थिएन। ‘बन्दीपुरे उकाली ठाडो मर्स्याङ्दी तरेर’ भाका हालिन्थो। काठमाडौँबाट बोकेर ल्याएको बसले डुम्रेमा खसालेपछि शिर ठाडो पारेर हेर्दा बन्दीपुर कता हो कता माथि देखिएको थियो। स्याँस्याँ गर्दै उकालो चढेर बन्दीपुर बास बस्न पुगिएको थियो। अहिले भने अवस्था फेरिएको छ।
डुम्रेबाट सात किलोमिटर उकालो पिच बाटो निर्माण भएको छ। अहिले गाडी चढेर सरर हुइँकिँदै बन्दीपुर पुगिन्छ।
आफू दशकौँअघि गएको ठाउँमा एकपटक फेरि पुग्दा ‘नोस्टाल्जिक’ भइँदो रहेछ। उहिले आँखाले नापेको बन्दीपुरको उचाइ यसपटक मोबाइलबाट नापेँ। बजारमा उभिएर नाप्दा ११८६ मिटर देखायो। बजारभन्दा माथिको भाग अझै अग्लो भएको हुँदा यसको उचाइ करिब १२५० वा १३०० मिटर हुनुपर्छ। त्यो भनेको काठमाडाैँभन्दा होचो हो।
यो होचो र अग्लो भन्ने कुरा पनि सापेक्षिकता नै रहेछ। काठमाडौँ खाल्डोमा बसेर हेर्दा वरिपरिका डाँडा अग्ला। डुम्रेमा उभिएर हेर्दा बन्दीपुर अग्लो। अनि बन्दीपुरमा उभिएर उत्तर हेर्दा लमतन्न परेर बसेका उत्तुङशिखर झनै अग्ला। उत्तरका लमजुङ हिमाल, मनास्लु हिमाल बन्दीपुरभन्दा धेरै अग्ला।
अग्लो ठाउँमा बस्नेहरूले आफूभन्दा अग्लोमात्र किन हेर्छन्? आफूभन्दा होचालाई पनि त हेर्नुपर्यो। बन्दीपुरबाट दक्षिण फर्केर हेर्यो भने तरेली परेको पहाडका दृश्यले मनै लोभ्याउँछन्। दक्षिणका पहाडलाई बादलले छोप्दा उत्तरका हिमाल हाँसेको देखिन्छ। डुम्रेलाई बिहानको हुस्सुले छपक्क छोप्दा बन्दीपुर मसक्क मस्किन्छ सूर्यको किरणसँग।
२०४० सालपछि उजाडजस्तै भयो। यहाँका घर कुखुरा खोरमा परिणत भए। काठका मक्किएका दलिन, खस्नै लागेका झ्याल र ढोकाका खापालाई सुम्सुम्याउन कोही फर्किएनन्। ढुंगाले छोपिएर बनेका सडक भत्किएर कामै नलाग्ने भए।
परित्यक्त खण्डहर बजारमा कुनै सहृदयीको आँखा परेछ। द्वन्द्वकालमा पनि यो ठाउँको कायापलट गर्न कोहीकोही दत्तचित्त भएर लागेका रहेछन्। उनीहरूको मेहनत अहिले देखिन्छ। यो ठाउँ फेरि हाँसेको छ।
यो ठाउँलाई फेरि हँसिलो बनाउने श्रेय स्थानीयले झरना वज्राचार्य र मनोज शर्मालाई दिए। उनीहरू सन् २००५ देखि २००७ सम्म सक्रिय भएर लागेका रहेछन्।
बन्दीपुर पुनर्निर्माणको योजनाका परिकल्पनाकार, व्यवस्थापक र संयोजक भएर उनीहरू अहोरात्र खटिएका रहेछन्। त्यसैले त स्थानीयले झरना र मनोजलाई सम्झिँदा रहेछन्।
युरोपियन युनियनको लगानीमा सञ्चालित यो परियोजनासँग अरू धेरै संस्था पनि जोडिएका रहेछन्। यसमा नेपाल पर्यटन बोर्ड पनि आबद्ध रहेछ।
बन्दीपुरको सुन्दरताले जोकोहीलाई लोभ्याउँछ। कविको कवितामा समेटिन्छ। लेखकका रचनामा अटाउँछ। व्यवसायीका लागि बैठक गर्ने ठाउँ बनेको छ। नेताका लागि मन्त्रणा गर्ने उपयुक्त स्थान भएको छ। अध्येता अध्ययन गर्छन् यहाँ आएर। घुम्नेहरूको लर्को त्यस्तै लाग्ने गरेको छ।
शिल्पकला र वास्तुकलाले त्यहाँका घरले नवीनता पाएका रहेछन्। नवीन सौन्दर्यसहित कलात्मक र सुन्दर परिवेशको संयोजनले बजारको स्वरूप फेरिएको छ।
सन् १९३८ मा बनेको बहिदार घर देखेँ। बन्दीपुर छें पनि देखेँ। यी र यस्ता अनेक मर्मतसम्भार गरिएका घर देखेँ। ती घर अहिले व्यापारिक प्रयोजनमा प्रयोग भएका छन्। यहाँ कफी सप छन्। आवासीय सुविधा छ। आधुनिक सुविधासहितका कलात्मक भित्ता भएका आरामदायी कोठा। बन्दीपुर छेंको मीठो कफी खानुको मज्जा बेग्लै रहेछ। कफीको स्वाद जिब्रोमै झुन्डियो। अनि बन्दीपुर आँखैमा।
हामी पनि( प्रदिप पोखरेल, तुलाबहादुर कंडेल, उज्वल अधिकारी र म पनि थियौं । साछी छुटेकोमा लेख पुर्ण भयोभएन। लेखकलाइनै त्जाहा होला ।।