काठमाडौँ- नेपाल पन्चांग निर्णायक विकास समितिको कार्यालय नारायणहिटी दरबार क्षेत्रमा नयाँ वर्ष २०८० को भित्तेपात्रोको स्वीकृति लिनेको भीड बढ्न थालेको छ।
समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेण्डर) र पात्रो (पञ्चांग)का सञ्चालकलाई १० हजार रुपैयाँदेखि एक लाखसम्म कारबाही गर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समितिको आन्तरिक दिग्दर्शन, २०७९ स्वीकृत गरेपछि स्वीकृति लिनेको भिड लागेको हो।
विधिसम्मतरूपमा प्रकाशन नहुने भित्तेपात्रो र पात्रोका सञ्चालकलाई कानुनी कारबाही गर्ने निर्णय समितिले गरेको छ।
समितिको निर्णयपछि हालसम्म तीन सयभन्दा बढी भित्तेपात्रोले स्वीकृति लिएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। स्वीकृतिका लागि कार्यालयमा आउनेभन्दा अनलाइनबाट फारम भर्नेको संख्या धेरै छ।
मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी नेपाल भरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोको स्वीकृति दिने अधिकार समितिलाई दिएको थियो। गठन आदेश सरकारले २०७८ साउनमा नेपाल राजपत्रमा प्रकाशन गरेको थियो।