‘६० प्रतिशत काम सम्पन्न गरेको अवस्थामा ०७८ पुस ९ गते प्राधिकरणले हामीलाई धरहरा हस्तान्तरण गरेको हो। यसपछि प्रक्रियागत तयारीका लागि धेरै समय लाग्यो। स्थानीयवासीका माग सम्बोधनका लागि कामको ढाँचा परिवर्तन गर्नुपरेकाले पनि धरहरा पूरा निर्माण गर्न सकिएको छैन।’
काठमाडौँ– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७८ वैशाख ११ धराहरा उद्घाटन गर्दै भनेका थिए, ‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको छ। सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो।’
ओलीले त्यसो भनेर धरहरा चढेको २३ महिना बितेको छ। मन्त्रीहरू र दलबलको टोलीसहित तामझामका साथ उद्घाटन गरिएको धरहरा सर्वसाधारणले कहिले चढ्न पाउने हो टुंगो छैन।
०७२ सालमा भूकम्पले पूर्ण रूपमा भत्काएपछि त्यसकै छेउमा अर्को धरहरा निर्माण गरिएको हो। ०७५ साल पुस २७ गते प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिल्यान्यास गरेर काम अघि बढाइएको थियो।
एमाले अध्यक्ष ओलीले धरहरा पुनर्निर्माणलाई आफ्नो कार्यकालको ठूलो उपलब्धिका रूपमा लिँदै आएका छन्। सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दा उनी धरहरा निर्माण गरेको विषयलाई प्रायः छुटाउँदैनन्। दुई वर्षमा निर्माण सक्ने गरी काम थालिए पनि पाँच वर्ष पुगिसक्दा पनि धरहरा पुनर्निर्माण सकिएको छैन।
नेकपामा विवाद भएर आफू नेतृत्वको सरकार लगभग ढल्ने निश्चित भएपछि ओलीले निर्माण भइनसकेको धराहरा हतारमा उद्घाटन गरेको भनेर त्यति बेला नै आलोचना भएको थियो।
प्राधिकरणले नसकेपछि विभागलाई
भूकम्पले भत्काएका संरचना पुनर्निर्माणका लागि सरकारले सोही वर्षको पुसमा ५ वर्षभित्र सबै संरचना पुनर्निर्माण गरिसक्ने लक्ष्यका साथ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्यो। प्राधिकरणले समयसीमाभित्र तोकिएका संरचना पुनर्निर्माण गर्न नसकेपछि ०७७ बाट १ वर्ष म्याद थपिएको थियो। यसको म्याद ०७८ पुसमा सकिएपछि धरहरा पुर्निर्माणको जिम्मा सहरी विकास मन्त्रालयअन्तर्गत धरहरा पुनर्निर्माण आयोजनाले पाएको थियो।
‘६० प्रतिशत काम सम्पन्न गरेको अवस्थामा ०७८ पुस ९ गते प्राधिकरणले हामीलाई धरहरा हस्तान्तरण गरेको हो। यसपछि प्रक्रियागत तयारीका लागि धेरै समय लाग्यो। स्थानीयवासीका माग सम्बोधनका लागि कामको ढाँचा परिवर्तन गर्नुपरेकाले पनि धरहरा पूरा निर्माण गर्न सकिएको छैन,’ आयोजनाका निर्देशक काशीनाथ अधिकारीले भने।
धरहरा पुनर्निर्माणका लागि बजेट र जनशक्तिको समस्या नभएको तर यो ठाउँ पुरातात्त्विक महत्त्वको भएकाले सांस्कृतिक पक्षलाई पनि ध्यान दिँदा केही ढिलाइ हुन गएको उनले स्वीकारे।
‘अन्य संरचनाभन्दा धरहरा फरक शैली र विशेषताको छ। यो संरचना राष्ट्रको गौरव हो। साथै सुन्धारा क्षेत्र ऐतिहासिक र पुरातात्त्विक महत्त्वको भएकाले स्थानीयवासीको पनि यसमा धेरै चासो छ। प्राधिकरणले हामीलाई हस्तान्तरण गरेपछि तुलनात्मक रूपमा धेरै प्रगति भएको छ। हामीले एक वर्षमा २० प्रतिशत काम सकेका छौँ। अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ,’ निर्देशक अधिकारीले भने।
अन्डरग्राउन्डमा काम बाँकी
माथि २२ तला र अन्डरग्राउन्ड तीन तलासहित २५ तलाको धराहराको माथिल्लो २२ तलाको सबै काम सकिएको र अन्डरग्राउन्ड तीन तलामा काम भइरहेको आयोजनाले जनाएको छ।
अन्डरग्राउन्डमा स्क्यालेटर (स्वचालित भर्याङ) जडान, इलेक्ट्रोनिक्स फिटिङ, वाइरिङ र बिजुली जडान, आगलागी नियन्त्रणका सामग्री, पिल्लरमा काठको फ्रेम लगाई त्यसमा बुट्टा हान्ने, सिलिङ फिटिङ, अक्सिजन फिटिङ र सुरक्षा सावधानीका लागि आवश्यक सियुबी बिल्डिङ ढलानको काम भइरहेको छ।
‘सियुबी भवन पहिले बाहिर निर्माण गरिएको रहेछ। हामीले अन्डरग्राउन्ड भित्रै सारेका छौं। यसकारण पनि केही समय लाग्यो। भन्नेबित्तिकै काठ नपाउने समस्या पनि हामीले झेलिरहेका छौँ,’ अधिकारीले भने, ‘०८० सालको असोजसम्ममा धरहरा बनाइसक्ने रफ्तारमा काम गरिरहेका छौँ।’
संरचना थपिएकाले लागत थप बढ्न सक्ने
रमण कन्ट्रक्सन र चाइनिज निर्माण कम्पनी जीआईईटीसी जेभीले ठेक्का पाएको धरहरा निर्माणका लागि सुरुमा तीन अर्ब ४९ करोड रुपैयाँ बजेट छुट्याइएकोमा अहिले थप भेरिएसन गर्नुपर्ने भएकाले लागत बढ्न सक्ने देखिएको छ।
‘सरकारले दिएको बजेट खर्च भइसकेको छैन। तर आयोजनाको भेरिएसनमा केही परिवर्तन हुनसक्ने भएकाले बजेट अपुग हुनसक्ने देखिन्छ। धरहरा बनिरहेको ठाउँमा मन्दिर, पाटी र वाटर रिचार्जका लागि ट्यांकीलगायत संरचना निर्माण गर्नुपरेकाले लागत बढ्ने देखिन्छ,’ उनले भने।
टिकट घर, कर्मचारी बस्ने प्रशासनिक भवन, पानी सञ्चिति र निकासको व्यवस्था गर्ने संरचनामा थप परिमार्जन गर्नुपर्ने निर्देशक अधिकारीले बताए।
‘सुन्धारामा पानी ल्याउन झन्डै एक लाख लिटरको ट्यांकी र त्यहाँबाट बग्ने पानी निकासीको व्यवस्थाका लागि अरू संरचना बनाउनुपर्नेछ। टिकट काउन्टर र प्रशासनिक कार्यालय पनि व्यवस्थित बनाउँदैछौँ,’ उनले भने, ‘पहिले काम गर्दा चुँडिएका टेलिफोन केबल, विद्युत्का लाइन, खानेपानीका पाइप पनि मर्मत गर्नुपर्यो। पहिलेको बजेटमा यस्ता कुरा देखाइएको थिएन तर खर्च भएको छ।’
सुरुमा पाँच रोपनी क्षेत्रमा निर्माण गरिने योजना भएकोमा पछि सबै संरचनासहित ४२ रोपनी क्षेत्र ओगट्ने गरी धरहरा निर्माण गरिएको आयोजनाले जनाएको छ।
गोश्वारा हुलाक र टक्सार विभागको पूरै क्षेत्र, सञ्चय कोषको पछिल्लो क्षेत्र, काठमाडौँ मलले ओगटेको केही भाग पनि धरहरा परिसरमा समेटिएको छ।सबै संरचना भत्काउँदा र व्यवस्थापनको काममा पनि बजेट खर्च भएको निर्देशक अधिकारीले बताए। उनले भने, ‘काठमाडौँ मलको १८ रोपनी जग्गा धरहराले लिएको भन्दै हामीलाई अवरोध भइरहेको छ। यसले पनि निर्माण सम्पन्न हुनुपर्ने मिति धकेलिनसक्ने सम्भावना छ।’
सबैतिर डोजर चलाउँदा विकास होइन विनाश हुन्छ : सम्पदा बचाउ अभियन्ता
धरहरा निर्माणका क्रममा ऐतिहासिक र पुरातात्त्विक क्षेत्रको ख्याल नगरी जथाभाबी काम गरिएको सम्पदा बचाउ अभियन्ताहरूको दाबी छ। धरहरा निर्माण गर्दा सुन्धारा मासिएको, ट्यांकीमा पानी जम्मा गरेर धारामा खसालिन लागेको, सुन्धारा क्षेत्रका मठमन्दिर मासिएको भन्दै सम्पदा बचाउ अभियन्ताहरू निरन्तर संघर्षमा छन्।
‘सुन्धारामा टुँडिखेलबाट ल्याइएको पुरानो पाइप धरहरा बनाउने नाममा डोजर चलाउँदा भत्किएको छ। यसरी पुरातात्त्विक महत्त्वको संरचनालाई ख्याल नगरी गरिने विकासले स्थानीयवासीको माग सम्बोधन गर्न सक्दैन। विकासका नाममा भएको विनाशलाई हामी अघि बढ्न दिँदैनौं,’ अभियन्ता सुमन सायमीले भने, ‘काठमाडौँ मल बनाउने बेलामा पनि त्यहाँ त्यत्रो भवन बनाउनु हुँदैन हामीले भनेको थियौँ तर सुनिएन। त्यसले पनि सुन्धारा सुकायो। अहिले धरहरा बनाउँदा सुन्धारा पूरै हटाइयो। सुन्धारालाई पुन: जीवन दिन हाम्रो संघर्ष जारी छ।’
नयाँ धरहरा बनाइँदा पुरानो धरहराको भग्नावशेषको संरक्षण नगरिएको आरोप उनीहरूको छ। भूकम्पले भत्काएर बचेको पुरानो धरहराको भग्नावशेष तत्कालीन प्राधिकरणले त्रिपालले छोपेर यथावत् राखेको छ। उक्त संरचना पनि धरहरा घुम्न आउनेले अवलोकन गर्न सक्नेछन्।
धरहराको अन्डरग्राउन्डमा बनेको ट्रिपल बेसमेन्ड पार्किङ पनि उपयुक्त नहुने सायमीको भनाइ छ। सुन्धारामा पानी ल्याउन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि ठोस कदम नचालेको आरोप उनले लगाए।
‘सबैले धरहरा निर्माणमा मात्रै ध्यान दिए। पुरातत्त्व विभाग र महानगरपालिकाले पनि सुकेको सुन्धारालाई पुन: जीवन दिनेतर्फ नसोच्नु दु:खद छ,’ उनले भने, ‘मेयरले यस विषयमा सार्वजनिक सुनुवाइ राखेर उठेका प्रश्नको जवाफ दिनुपर्छ।’
यी हुन् नयाँ धरहराका विशेषता
बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि तीन तला र जमिनमाथि २२ तला छ। जमिनदेखि गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर र भूमिगत तलासहित ९२.२५ मिटर रहने आयोजनाले जनाएको छ।
धरहराभित्र हुने दुई वटा स्क्यालेटर एकपटकमा १० जनाले प्रयोग गर्न सक्नेछन्। यसबाट वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरूलाई धरहरा चढ्न सहज हुनेछ। साथमा फलामको भर्याङ पनि रहनेछ।
धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २०औँ तलाबाहिर २.५ मिटर चौडाइको बार्दली छ। २२औँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिंग स्थापना गरिएको छ।
अन्डरग्राउन्डको एक तलामा भूकम्प र टक्सारसम्बन्धी संग्रहालय निर्माण गरिनेछ। जसको काम लगभग अन्तिम अवस्थमा पुगेको निर्देशक अधिकारीले बताए। यस्तै बगैंचा तथा संगीतमय वातावरण रहनेछ। त्यहाँ संरक्षित ऐतिहासिक भीमसेनस्तम्भ रहने छ भने धरहरा र संग्रहालय जोड्ने व्यवस्थित पुल पनि बनाइने उनले जानकारी दिए।
नयाँ बनेको धरहराछेउमा बनेको तीनतले भूमिगत पार्किङ नेपालमै पहिलो भएको आयोजनाले जनाएको छ। १४ रोपनी क्षेत्रफलमा बनेको उक्त पार्किङमा एकै पटकमा करिब ८ सय वटा चारपांग्रे र करिब २ हजार मोटरसाइकल अटाउन सक्ने क्षमता छ।
‘धरहरामा सञ्चालन हुने व्यावसायिक कामका लागि आउने र अवलोकनकर्ताको सवारीसाधन राख्नका लागि पार्किङ स्थलमा पर्याप्त ठाउँ छ। यसका साथै वरपर अन्य कामका लागि आउनेले पनि पार्किङमा सवारी राख्न सक्नेछन्,’ कन्ट्रक्सन मेनेजर रमेश पौडेलले भने।
धरहरा चढ्न आउने, संग्रहालय भ्रमण र अवलोकनबापत जम्मा हुने सम्पूर्ण रकम काठमाडौँ महानगरपालिकाले उठाउने र धरहरा सञ्चालनको दैनिक आर्थिक, प्राविधिक र प्रशासनिक कामहरू पनि महानगरपालिकाले नै सञ्चालन गर्ने तयारी छ। तस्बिरहरू-दिपेश श्रेष्ठ/हिमाल प्रेस