सुर्खेत- दीपा कोइराला १८ वर्षयता पत्रकारितामा सक्रिय छिन्। डायरी, कलम, रेकर्डर। पत्रकारिताबाट कमाएको जायजेथा हो उनको। यी सामान उनको सम्पत्तिमात्र होइन, हतियार पनि हुन्। जसको प्रयोग गरी उनले वर्षौंदेखि आममान्छेका समस्या बाहिर ल्याउने, त्यसबारे लेख्ने र सम्बन्धित निकायसम्म समस्यालाई पुर्याउने गरेकी छन्।
अरूका समस्याका लागि कलम चलाउने उनी आफैँ पनि आफ्नो पेसामा संघर्षरत छिन्। ‘पत्रकारिता अरू पेसाजस्तो सहज होइन,’ उनले भनिन्, ‘यसमा टिकिरहन लगनशीलता, आत्मविश्वास र इमानदार हुनुपर्छ।’
अरू क्षेत्रजस्तै पत्रकारितामा पनि महिलाहरूको संख्या पुरुषको तुलनामा न्यून छ। धेरै महिला पत्रकार काम सुरु गरेको केही समयपछि नै हराएर जाने उनी बताउँछिन्। ‘ठूलो जोसजाँगर र आँटका साथ पत्रकारितामा भित्रिने महिला पत्रकार छोटो समयमै यस क्षेत्रबाट हराउने गर्छन्,’ दीपाले भनिन्, ‘काम थालेको केही समयपछि नै उनीहरूले यो पेसा छोड्ने अवस्था सिर्जना हुन्छ।’
यसो हुनुको कारण उनी महिला पत्रकारको कामको मूल्यांकन नहुनुलाई ठान्छिन्। ‘महिला पत्रकारको कामको मूल्यांकन खासै हुँदैन,’ उनले भनिन्, ‘महिलाहरूलाई काममा प्रोत्साहन गर्ने चलन पनि हाम्रोमा कमै छ। जसले गर्दा पनि महिला पत्रकार यस पेसाबाट बिस्तारै पलायन हुने गर्छन्।’
मोफसलका महिला पत्रकारलाई काम गर्न झनै गाह्रो रहेको दीपाको अनुभव छ। ‘कामको सिलसिलामा कुनै पुरुष पत्रकारसँग वा एक्लै हिँड्दा पनि मान्छेहरूले कुरा काट्ने गर्छन्,’ उनले सुनाइन्, ‘त्यसैले पनि मोफसलका महिला पत्रकारमा आफ्नो पेसाप्रति माया हराउँदै गएको छ।’
पारिवारिक समस्याका कारण आफूसँगैका थुप्रै साथी पत्रकारिताबाट पलायन भएको उनी बताउँछिन्। ‘तर परिवारको साथ र सहयोगकै कारण म यस पेसामा अहिलेसम्म टिकिरहेकी छु,’ उनले भनिन्, ‘घरमा श्रीमान्, सासू र दुई छोराछोरी छन्। काममा परिवारको साथ पाएकी छु।’
महिला र पुरुषबीचको विभेद पत्रकारितामा पनि देखिने पत्रकार सिर्जना बुढाथोकी बताउँछिन्। ‘कामै नजान्ने पुरुषलाई उच्च पदमा राखिन्छ तर वर्षौंदेखि काम गरेका, अनुभव सँगालेका महिलालाई पद दिन संकोच गरिन्छ,’ उनले भनिन्।
सुर्खेतमा दर्ता भएका पत्रपत्रिका ६७ वटा छन्। दैनिक १० वटा पत्रिका प्रकाशित हुन्छन्। दुईवटा साप्ताहिक छन्। दैनिक र साप्ताहिक पत्रिकामा काम गर्ने महिला पत्रकार जम्मा १० छन्।
सञ्चालनमा रहेका दुईवटा टेलिभिजनमा दुई महिला पत्रकारले काम गर्छन्। ११ वटा एफएम, रेडियोमा १० जना महिला पत्रकार छन् भने सुर्खेतबाट ३७ वटा अनलाइन सञ्चालित छन्। तिनमा काम गर्छन् सात महिला पत्रकार। त्यस्तै यहाँका १५ महिला पत्रकार कुनै पनि मिडियामा आबद्ध छैनन्। उनीहरूले स्वतन्त्र पत्रकारका रूपमा काम गर्छन्।
पत्रकारितामा राजनीति र नातावाद हाबी भएकाले अगाडि बढ्न गाह्रो भएको वीरेन्द्रनगर-८ की निर्मला रेग्मीले बताइन्। ‘जुनसुकै काम गर्दा पनि महिला र पुरुषमा विभेद गर्ने परिपाटी अझै छ,’ उनले भनिन्, ‘जसको मारमा महिला पत्रकार पर्ने गरेका छन्।’
निर्मला २०५२ सालदेखि पत्रकारिता गरिरहेकी छन्। ‘मैले पत्रकारिता गर्न थालेको लगभग तीन दशक हुन थाल्यो,’ उनले भनिन्, ‘पैसा नलिई काम सुरु गरेकी थिएँ। आर्थिक समस्याका कारण पत्रकारिता गर्न निकै गाह्रो भयो। खाजा खाने पैसासमेत घरबाट माग्नुपर्ने अवस्था थियो उतिखेर।’
पछिल्लो समय अवस्था केही बदलिएको निर्मलाको भोगाइ छ। ‘कम्तीमा अहिले घरबाट पैसा माग्नु पर्दैन,’ उनले भनिन्, ‘अवस्था केही सुधार भएको छ। तर पनि केही चुनौती भने अझै छन्।’
हुम्लाकी पत्रकार तिलसरा विकले गत चैतमा सम्पन्न नेपाल पत्रकार महासंघ हुम्लाको निर्वाचनमा जिल्ला सचिवमा उम्मेदवारी दिएकी थिइन्। कार्य क्षमता र अनुभवका आधारमा उनीभन्दा पछाडिका पुरुषले बागी उम्मेदवारी दिएपछि उनी उम्मेदवारी फिर्ता लिन बाध्य भइन्। ‘काम गर्छु भन्दा पनि महिलालाई अवसर दिइँदैन,’ उनले भनिन्, ‘त्यतिखेर ‘तिमीले सक्छौ’ भनेर आँट दिने कोही भएन। अनि मैले उम्मेदवारी फिर्ता लिएँ।’
पत्रकारिता क्षेत्रमा मुगुकी पत्रकार सुकमाया शाहीको अनुभव पनि खासै राम्रो छैन। ‘काम गर्ने क्रममा विभिन्न पुरुषसँग नाम जोडेर चरित्रमाथि नै औँला तेर्स्याइन्छ,’ उनले भनिन्, ‘त्यसैले पनि मोफसलका महिला पत्रकार काम छोड्न बाध्य हुन्छन्।’
२०५४ सालयता पत्रकारितामा सक्रिय शोभा रेग्मी क्षमता हुँदाहुँदै पनि महिला पत्रकारलाई काममा अगाडि बढ्न गाह्रो हुने बताउँछिन्। ‘सामाजिक, आर्थिक, घरपरिवारलगायत विभिन्न चुनौती त छँदैछन्,’ उनले भनिन्, ‘सेवासुविधा नहुँदा पनि यस क्षेत्रमा टिक्न मुस्किल हुन्छ।’
‘सुर्खेतपत्र’का सञ्चालक तथा नेपाल पत्रकार महांसघ सुर्खेत शाखाका अध्यक्ष ललित बस्याल क्षमतावान् महिला पत्रकारको खाँचो जहिले पनि रहेको बताउँछन्। ‘चुनौतीको सामना गर्न सक्ने, समस्याको समाधान गर्न सक्ने महिला अहिले पनि पत्रकारितामा टिकिरहेका छन्,’ उनले भने। महिलाहरू बिहेअघि पत्रकारितामा सक्रिय हुने तर विवाहपछि पारिवारिक समस्याका कारण धेरैजसोले काम छोड्ने गरेको उनको भनाइ छ।
नेपाल पत्रकार महांसघ सुर्खेत शाखाले महिला पत्रकारलाई क्षमता अभिवृद्धि, सीप विकाससम्बन्धी तालिममा सहभागी गराउँछ। ‘महिला, जनजाति, दलितलाई विशेष प्राथमिकता दिन्छौँ,’ अध्यक्ष बस्यालले भने, ‘धेरैभन्दा धेरै महिला पत्रकारिता गरून् भन्ने चाहन्छौँ।’