घाटामा परम्परागत बाँसका सामग्रीको व्यापार

हिमाल प्रेस ७ चैत २०७९ १९:५९
12
SHARES
घाटामा परम्परागत बाँसका सामग्रीको व्यापार

तनहुँ- बन्दीपुर गाउँपालिकामा रहेका करिब ४० परिवारले बाँसबाट निर्मित सामग्री बिक्री गरेर आम्दानी गर्दै आएका छन्। बाँसबाट निर्मित परम्परागत घरायसी सामग्री बिक्री गरेर घरको दैनिकी धान्दै आएका उनीहरू पछिल्लो समय संकटमा पर्दै गएका छन्।

बजारमा कच्चापदार्थ बाँस, दैनिक उपभोग्य सामग्री र यातायातको भाउ बढेपछि आफूहरूको आम्दानी खुम्चिएको ५३ वर्षीय चन्द्रबहादुर भुजेलले बताए। ‘बजारमा तेलदेखि चामलसम्मको मूल्य अकाशिएर खान सक्ने स्थिति छैन,’ चन्द्रबहादुरले भने, ‘तर हाम्रो आम्दानीको स्रोत बाँसका सामग्रीको मूल्य जस्ताको त्यस्तै छ।’ अहिले आफूहरूले बिक्री गरिरहेको बाँसका सामग्रीको मूल्यले उनको लागत उठ्दैन। तर, बढाउन खोजे कसैले पनि किन्दैनन्।

आफूहरूले करिब १७ किलोमिटर टाढा पर्ने व्यास नगरपालिका–११ कमलबारीदेखि प्रतिघना बाँसको दुई सयदेखि दुई सय ५० रुपैयाँसम्म तिरेर ढुवानी गरेर बाँस ल्याउनुपर्ने बाध्यता उनले सुनाए। ढुवानी भाडा, आफ्नो पारिश्रमिक सबै जोड्दा अहिले बिक्री गरिरहेको मूल्यमा लागत पनि नउठ्ने उनको भनाइ छ।

बजारमा सस्तोमा बाँसको सामग्री बिक्री गर्नुपर्दा पेसाप्रतिको आकर्षण पनि घट्दै गएको छ। ‘बाउबाजेको पालादेखि गर्दै आएको भनेर यही पेसा अँगालियो,’ चन्द्रबहादुरले भने, ‘बजारमा हामीले राखेको मूल्यमा कहिल्यै सामान बिक्री हुँदैन। सामान हाम्रो हुन्छ। मूल्य ग्राहकको हुने गर्छ।’

यहाँका स्थानीयले बाँसबाट डालो, नाङ्लो, मान्द्रो र कुचोलगायतका सामग्री बनाएर बेच्ने गरेका छन्। होलसेलमा खरिद गर्ने व्यापारीले आफूहरूको लागत समेत नदिने भएकाले होलसेलमा खरिद गर्नेबाट झनै सास्ती पाउने गरेको २९ वर्षीया तारा भुजेलले बताइन्।

आफूहरूले बनाएको कुचोलाई प्रतिवटा २० रुपैयाँमा खरिद गरेर होलसेल व्यापारीले ५० देखि ७० रुपैयाँसम्ममा बिक्री गर्छन्। यद्यपि उक्त कुचो बनाउने लागत नै ४० रुपैयाँसम्म पर्ने भुजेलले बताइन्। ‘दिनभर सामान बोकेर व्यापार गर्न पनि पहिले जस्तो सजिलो छैन,’ ताराले भनिन्, ‘महँगोमा बाँस किनेर सस्तोमा सामान बेच्नुपर्दा पेसा धान्नै गाह्रो भएको छ।’

बन्दीपुर गाउँपालिकाको कार्यालयमा गएर आफूहरूले निश्चित शुल्क लिएर बाँसका सामग्री बिक्री गर्ने व्यवस्था मिलाइदिन पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको ताराले बताइन्।

प्रतिघना बाँसबाट दुई÷तीन वटा नाङ्लो तथा चार-पाँच वटा कुचो बन्छ। ती सामग्री बनाउन करिब दुई दिन लाग्ने भुजेलको भनाइ छ।

आफूहरूले प्रतिनाङ्लोको तीन सय रुपैयाँ तोके पनि उक्त दरमा कसैले नकिन्दा सस्तोमा बेच्न बाध्य भएको भुजेलको गुनासो छ। ‘हामीले महँगोमा बाँस खरिद गरेर सस्तोमा बेच्नुपर्ने बाध्यता हुँदा पेसा धान्नै मुस्किल भएको छ,’ स्थानीय ५५ वर्षीया हस्तबहादुर भुजेलले भने, ‘सस्तोमा बाँस खरिद गर्न पाए पो हाम्रो सामानको मूल्य पनि सस्तो नै पर्थ्याे।’

बजारमा चामल, पिठो, खानेतेल लगायत सबै दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। ‘उपभोग्य सामान हामीले खरिद गर्न सक्ने स्थिति छैन,’ उनले भने, ‘हामीले नै घाटाको व्यापार गर्नुपरेको छ।’

घाटाकै व्यापार भइरहेका कारणले पछिल्लो समय युवापुस्ताले बाँसका सामग्रीको कारोबारमा रुचि देखाउँदैनन्। भुजेल परिवारका परम्परागत पेसा संरक्षणका लागि अनुदान दिने व्यवस्था गाउँपालिकाले गरेको छ। तर फर्म दर्ता गर्नेबारेमा जानकारी नहुँदा अनुदान पाउन पनि कठिन हुने गरेको बन्दीपुर गाउँपालिकाले जानकारी दिएको छ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले परम्परागत सामग्री बनाउने भुजेलको पेसा संरक्षणका लागि आफूहरूले विशेष कार्यक्रम नै बनाउन लागेको बताए। ‘बजारमा बढ्दो महँगीले गर्दा भुजेलको परम्परागत पेसा संकटमा पर्दै गएकोबारे जानकारी आएको छ,’ उनले भने, ‘त्यसको संरक्षणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेकाछौँ ।’ रासस

प्रकाशित: ७ चैत २०७९ १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast