काठमाडौँ- करिब १४ वर्षपछि आइतबार त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। निर्वाचनका लागि विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसले तयारी गरिसकेका छन्।
पटक पटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन। आइतबार हुन लागेको स्ववियु निर्वाचनका लागि राजनीतिक दलदेखि विद्यार्थी संगठनसम्म उत्साहित देखिन्छन्। उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रूपमा लागेका विद्यार्थी संगठन आइतबार हुने निर्वाचनका लागि झनै उत्साहित छन्। उनीहरू अहिले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन्।
त्रिविका अधिकांश आंगिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसमा एकै दिन हुने निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको छ। स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन। विसं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकै पटक गणतन्त्र आइसकेपछि २०७४ सालमा केही क्याम्पसमा मात्रै भएको थियो।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी सरकार, राजनीतिक दल र विद्यार्थी संगठनको सहयोगका कारणले अहिले निर्वाचन सम्भव भएको बताउँछन्। ‘प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचनमा विगतमा धेरै पटक प्रयासमै सीमित भयो,’ उनले भने, ‘विगतमा विद्यार्थी संगठनका कारणले सम्भव भएको थिएन।’
यसपटक सबैको सहयोगले आइतबार निर्वाचन हुन लागेको उनको भनाइ थियो। निर्वाचन कार्यतालिका प्रकाशन भएसँगै क्याम्पसमा भर्ना पनि बन्द गरेकाले निर्वाचन गर्न सहज भएको अधिकारीको भनाइ छ। स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिवसमेत रहेका अधिकारीले सबै क्याम्पसले निर्वाचनको तयारी गरिसकेको बताए।
केही क्याम्पसमा विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ। ती क्याम्पस यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिइसकेको पनि उनले बताए।
अनेरास्ववियुका अध्यक्ष समिक बडाल प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आकर्षण घटेको बताउँछन्। ‘नेतृत्व उत्पादन गर्ने नर्सरीका रूपमा रहेको स्ववियु निर्वाचन नियमित हुन सकेको थिएन,’ उनले भने, ‘अब स्ववियु निर्वाचन हुँदैछ। यसले विद्यार्थी आन्दोलनलाई थप बल पुर्याउँछ।’
अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दीपेश पुनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको भन्दै अब विद्यार्थी आन्दोलन बलियो हुने बताए। सबै विद्यार्थीको एक मात्र एजेन्डा यही भएकाले स्ववियु निर्वाचन सम्भव भएको उनको भनाइ छ। ‘स्ववियुलाई सबै विद्यार्थी संगठनले बचाउने प्रण गरौँ,’ उनले भने, ‘विद्यार्थी आन्दोलन कमजोर भयो भन्ने हाम्रो निष्कर्ष निकालेर निर्वाचनमा सहभागी हुन लागेका हौँ।’
अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आइतबार हुने स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनको उचाइ बढाउने बताए। नेपाल विद्यार्थी संघका नेता दिनेश शाहीले विद्यार्थी संगठन स्ववियु निर्वाचनका सन्दर्भमा एक भएकाले यो सम्भव भएको बताए। उनले निर्वाचनले विद्यार्थीको नेतृत्व विकासमा सहयोग पुग्ने पनि बताए।
स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा सत्तारूढ गठबन्धनका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले तालमेल गरेका छन्। विसं २०३० देखि प्रत्येक वर्ष हुने स्ववियु निर्वाचन २०३६ सालबाट नियमित दुई-दुई वर्षमा हुन थालेको हो। विसं २०६५ सम्म नियमित भएको स्ववियु निर्वाचन त्यसयता नियमित हुन सकेको थिएन।
स्ववियु निर्वाचनमा उम्मेदवारका लागि उमेर हदबन्दी तोकिएको छ। विसं २०५१ चैत २८ गतेपछि जन्ममिति भएका विद्यार्थीले मात्रै उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ।
यसैबीच आइतबार हुन लागेको स्ववियु निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदास्थलमा पानीका बोतल, पेट्रोल, डिजेल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रंग, मसी लैजान निषेध गरिएको छ।
यस्तै, मोबाइल, क्यामेरा, झोला, लौरो, हेलमेट, चाबी, लाइटर, सलाई, नङकट, धारिलो हतियार, भाला, खुकुरी, चक्कु, छुरीलगायत वस्तु पनि मतदानस्थलमा लैजान प्रतिबन्ध गरिएको छ। स्ववियु निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ। रासस