आगलागी र आहारा अभावले संकटमा गिद्ध

हिमाल प्रेस ३० फागुन २०७९ ११:५२
12
SHARES
आगलागी र आहारा अभावले संकटमा गिद्ध फाइल तस्बिर।

बैतडी- बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा स‌ंकटमा परेका छन्। बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध संकटमा परेका हुन्।

पाटन नगरपालिका–८ सिद्धनाथधाम क्षेत्र, पाटन–३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चौडी नगरपालिकाका केही क्षेत्रलाई गिद्धको मुख्य तथा उपयुक्त बासस्थानका रूपमा लिइन्छ। पछिल्लो समय मुख्य बासस्थान क्षेत्रमै गिद्ध देखिन छाडेका नेपाल पक्षी संरक्षण संघका चराविज्ञ हिरुलाल डगौराले बताए। विभिन्न अध्ययन तथा अनुसन्धानअनुसार पछिल्लो केही समययता गिद्ध मुख्य बासस्थानमै देखिने छाडेका छन्।

उनले भने, ‘अतिसंकटापन्न सूचीमा रहेको गिद्धको संरक्षण हुन नसक्दा संकटमा परेका छन्, केही वर्षयता गिद्ध कम संख्यामा देखिन थालेका छन्, पहाडी क्षेत्रमा गिद्ध संकटमा पर्नु आगलागी र आहारा अभाव मुख्य कारण हो।’

फागुनदेखि जेठसम्म प्रजनन गराउने समय रहेकाले यही समयमा आगलागीका घटना बढ्ने गरेकाले गिद्ध लोप हुँदै गएका हुन्। ‘प्रजनन समयमा आगलागीका घटना बढी हुने गरेकाले गिद्ध संकटमा परेका छन्, आहारा र बासस्थानको कमी भएपछि पलायन हुने गर्दछन्,’ उनले भने। प्रायः सिमलको रुखमा गुँड बनाउने गिद्धका लागि गुँड बनाउने ठुल्ठूला रुख नभएकाले लोप हुँदै गएको बताइन्छ। आहाराको खोजीमा रहेका गिद्ध हाइटेन्सन विद्युत् लाइनमा ठोक्किएर मर्ने गरेको डगौराको भनाइ छ।

चरा विज्ञका अनुसार बैतडीमा हिमाली, हाडफोर, गोब्रे (सेतो गिद्ध), राजगिद्ध, सुनगिद्ध, डङर तथा सानो खैरो गिद्ध पाइन्छन्। गिद्ध आफैंले सिकार नगरी मरेका जनावर तथा सिनो खाने गर्दछन्। उनीहरूले फोहर तथा हानिकारक सिनो खाएर वातावरणलाई प्रदूषित बनाउनबाट जोगाउने गरेका छन्।

गिद्ध संरक्षणका लागि तीनवटै तहका सरकारले कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक रहेको संरक्षणकर्मी बताउँछन्। सरकारले गिद्ध संरक्षणका लागि छुट्टै कार्यक्रम सञ्चालन नगरेकाले पनि यस्तो समस्या आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए। ‘पर्यावरण जोगाउन गिद्धको ठूलो भूमिका छ, गिद्ध संरक्षणका लागि सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन,’ उनले भने।

संरक्षणका लागि पहल हुन नसके गिद्ध लोप हुने दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरी बताउँछन्। ‘गिद्धले सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ, यसका लागि गिद्धको संरक्षण आवश्यक छ,’ उनले भने। गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक लगाई नयाँ वृक्षारोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्नेमा गिरीको जोड छ।

प्रकाशित: ३० फागुन २०७९ ११:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =