नेपालमा चिनियाँ बैंकको शाखा खोलिँदै

हिमाल प्रेस २९ फागुन २०७९ १८:२९
8
SHARES
नेपालमा चिनियाँ बैंकको शाखा खोलिँदै

काठमाडौँ- नेपाली व्यवसायीको माग अनुसार नेपालमा चिनियाँ बैंकको शाखा खोलिने भएको छ। नेपाल र चीनबीचको व्यापारमा भुक्तानीको समस्या रहेको भन्दै नेपाली व्यवसायीले नेपालमा चिनियाँ बैंकको शाखा स्थापना गरिनुपर्ने माग गर्दै आएका थिए। व्यवसायीको मागअनुसार नेपालमा चिनियाँ बैंकको शाखा स्थापना गर्न पक्ष सकारात्मक देखिएको छ।

नेपाल भ्रमणमा रहेको चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)का उच्च अधिकारीहरू नेपालमा चिनियाँ बैंकका शाखा स्थापनाका लागि सकारात्मक प्रतिक्रिया दिएकाछन्।

नेपालसहित दक्षिण एसियाली मुलुकमा चीनसँगको बैंकिङ सेवा सहजीकरण गर्नेसम्बन्धी अध्ययन भइरहेको ती अधिकारीहरूले बताएका छन्। ‘नेपालमा मात्र नभई दक्षिण एसियाभर नै चिनियाँ बैंकको सेवाका लागि माग भइरहेको छ,’ सीसीपीआईटी उपाध्यक्ष झाङ साओगाङले सोमबार नेपाल चीन उद्योग वाणिज्य संघको कार्यक्रममा भने, ‘यसमा हामी गम्भीर छौँ र हामीले अध्ययन पनि गरिरहेका छौँ।’

नेपालमा चिनियाँ बैंकको शाखा स्थापना चाँडै हुनेमा विश्वस्थ रहेको उनको भनाइ थियो। सीसीपीआईटीका उपाध्यक्ष साओगाङले चिनियाँ बैंकको सेवा विस्तार गर्नुपूर्व यस क्षेत्रको बजारको आकार, चीनसँगको आर्थिक कारोबारको माग तथा स्थानीय बैंकहरूसँगको सहकार्यजस्ता विषयमा अध्ययन भइरहेको बताए।

नेपाललगायत दक्षिण एसियामा व्यावसायिक सहकार्यको उच्च सम्भावना रहेकाले बैंकिङ सेवा विस्तारको विषयलाई आफूहरूले सकारात्मक रूपमा लिएको उनको भनाइ थियो।

कार्यक्रममा नेपाली व्यवसायीहरूले चीनसँगको कारोबारमा भइरहेको भुक्तानीको समस्यालाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका थिए। सीसीपीआईटीकोे सात सदस्यीय टोलीको नेतृत्व गर्दै उपाध्यक्ष साओगाङ आइतबार काठमाडौँ आएका हुन्। भ्रमण टोलीले चार दिन नेपालको व्यावसायिक संस्थासहित विभिन्न सरकारी प्रतिनिधिसँग भेटवार्ता गर्नेछ।

कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले कोभिडपछि सुस्ताएको नेपार चीनबीचको आर्थिक सम्बन्ध पछिल्ला दिनमा सुधार हुँदै गएको बताए। ‘चीनसँगको व्यापारिक सम्बन्धमा वृद्धि, चिनियाँ पर्यटकको संख्या बढ्दै गएको जस्ता घटना हाम्रा लागि सुखद् पक्ष हुन्,’ अध्यक्ष तुलाधरले भने, ‘हामी चीनसँग दिगो आर्थिक साझेदारी गर्न चाहान्छौँ।’

त्यसका लागि नेपाल र चीनबीच कनेक्टिभिटी बढाउनुपर्ने आवश्यकता उनले औंल्याए। द्युई मुलुकले स्थलसँगै हवाई सम्पर्क पनि वृद्धि गर्नुपर्ने जरुरी रहेको उनले बताए।

सीसीपीआईटीका उपाध्यक्ष साओगाङले चीन नेपालको दोस्रो ठूलो आर्थिक साझेदार मुलुक रहेको भन्दै लगानी र पर्यटनसँगै अन्य क्षेत्रमा पनि सहकार्य गर्न सकिने बताए।

चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न आतुर रहेको र प्रस्तावित रेलमार्गबाट जोडिन सके लाभदायी हुने उनको भनाइ छ। बीआरआईमार्फत दुई देशको व्यापारिक सम्बन्धमा गुणस्तरीय आयाम थप्न सकिने उल्लेख गर्दै उपाध्यक्ष साओगाङले आसन्न बीआरआई समिटमा नेपालको सक्रिय सहभागिताको अपेक्षा गरिएको बताए।

चीनका विभिन्न सहरमा हुने एक्स्पोमा विश्वका गुणस्तरीय उत्पादन सहभागी हुने गरेको उल्लेख गर्दै नेपाली उत्पादकलाई पनि उत्प्रेरित गर्नसके चिनियाँ बजारमा नेपाली वस्तु स्थापित हुने उनको सुझाव छ।

प्रकाशित: २९ फागुन २०७९ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 8 =