खोरेत मुक्त अभियान सञ्चालन गरिँदै

हिमाल प्रेस २९ फागुन २०७९ ११:४५
2
SHARE
खोरेत मुक्त अभियान सञ्चालन गरिँदै

चितवन- जिल्लाका दुई वडामा खोरेत रोग मुक्त अभियानको तयारी गरिएको छ। भरतपुर महानगरपालिका–६ र रत्ननगर नगरपालिका–१२ मा सो अभियान सञ्चालन गर्न लागिएको हो।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले दुई वडालाई खोरेत रोग मुक्त अभियान सञ्चालनको लागि काम सुरु गरेको हो। कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार दुई पालिकाका दुई वडामा कार्यक्रम सञ्चालनका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ।

दुई वडामा १० हजार मात्रा खोरेतविरुद्धको खोप लगाउने तयारी गरिएको छ । यसका लागि अध्ययनको काम सकिएको उनले बताए। गाई, भैँसी, बंगुर, बाख्रा र भेडामा यो रोग देखिने गरेको उनले बताए। यीमध्ये गाई भैँसीमा बढी संख्याको खोरेतको समस्या देखिने गरेको छ ।

ती वडामा रहेका पशु चौपायाको अवस्थाको अध्ययन सकेर खोप अभियान सुरु गर्ने चरणमा रहेको उनले जानकारी दिए। खोप अभियानका क्रममा वर्षमा दुई पटक खोरेतको खोप पशु चौपायमा लगाइने छ।

नेपाल सरकारको सन् २०३० सम्म खोरेत न्यूनीकरण गर्ने लक्ष्यलाई सफल बनाउनका लागि यो अभियान सञ्चालन गरिएको हो। अभियानसँगै यस वर्ष जिल्लामा एक लाख १० हजार खोरेत रोगविरुद्धको खोप पशुचौपायमा लगाइने छ । गत आर्थिक वर्षमा समेत सोही संख्यामा खोप लगाइएको कार्यालयले जनाएको छ।

खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घासपात नखाने, झोक्राउने, गिजा र जिब्रोमा स–साना फोका आउने, खुट्टाको खुरको कापमा समेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले ¥याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिनेजस्ता लक्ष्यण देखा पर्ने उनले बताए।

रोग लागेमा मुखको घाउमा पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गर्ने, खुरका घाउलाई पोटास पानीले धोएर औषधि प्रयोग गर्न उनी सुझाउँछन्। निलोतुथोले घाउ सफा गर्ने, घाउमा अन्य जीवाणु प्रवेश गरी संक्रमण नगरुन भन्नका लागि एन्टीबायोटिक सुई लगाउने, खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरेतविरुद्धको खोप लगाउने गर्नुपर्ने न्यौपानेले बताए।

प्रकाशित: २९ फागुन २०७९ ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =