सकियो महिला फिल्म फेस्टिभल

हिमाल प्रेस २८ फागुन २०७९ १५:१४
10
SHARES
सकियो महिला फिल्म फेस्टिभल

काठमाडौँ- एकदिने महिला फिल्म फेस्टिभल सम्पन्न भएको छ। किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलको ‘गर्ल्‍स गेट इक्वल’ अभियानसँग मिलेर शुक्रबार सो फिल्म महोत्सव आयोजना गरेकाे थियो। ‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका फिल्म देखाइएका थिए।

बिहान ११ देखि दिउँसो २ बजेसम्म चलेको फेस्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा फिल्म देखाइएको किपालय प्रडक्सनले जनाएको छ। किपालय प्रोडक्सनले फिल्म निर्माण तथा निर्देशनमा महिलाको सहभागिता बढाउने उद्देश्यले प्लान इन्टरनेसनलसँग मिलेर दुई चरणमा फिल्म निर्माण कार्यशाला सम्पन्न गरिसकेको छ। फेस्टिभलमा यसरी निर्माण भएका फिल्मसँगै अन्य संस्थाको सहकार्यमा महिलाले बनाएका फिल्म प्रदर्शन गरिएका हुन्।

किपालयले सन् २०२१ मा काठमाडौँमा र सन् २०२२ मा बाँके बर्दियामा कार्यशाला चलाएको थियो। त्यसै गरी फेस्टिभलमा किपालयले बाँकेमा दिएको मोबाइल फिल्म मेकिङको कार्यशालाबाट तयार भएका फिल्मलाई पनि प्रदर्शनमा समावेश गरेको थियो। डकस्कुलबाट बनेका डकुमेन्ट्री पनि फेस्टिभलमा सहभागी गराइएको फेस्टिभल आयोजनाकी सदस्य पुष्पा जोशीले बताइन्।

फेस्टिभलमा समावेश फिल्म तीन स्लटमा राखी प्रदर्शन गरिएको थियो। ११ बजेदेखि १२.१०सम्म चलेको पहिलो स्लटमा पाँच फिल्म देखाइए। जसमा कल्पना बम र प्रतिभा पन्त निर्देशित ‘द जर्नी अफ इनोसेन्स’, मीरा खड्का र अस्मिता लावती निर्देशित ‘वन रूपी’, श्रीषा कुँवर र एन्जिला चौधरी निर्देशित ‘मेरो बुबा’, डिम्पल राजथला र भावना अधिकारी निर्देशित ‘खुल्ला आकाश’, पुष्पा जोशी र सपना बेलबासे निर्देशित ‘भेइल्ड’ प्रदर्शन गरिएको थियो। १२.१० देखि १.२० सम्म चलेको दोस्रो स्लटमा चार फिल्म देखाइएको थियो। यसमा पिंकी श्रीष राना र एलएसएम निर्देशित ‘हजुर’, शुभांगी खड्का निर्देशित ‘मदर्स स्कुल’, शर्मिला आले निर्देशित ‘साउन्ड अफ ब्यांगल’, मुना बिके र सरला सुनुवार निर्देशित ‘आन्टीको गाउँ’ प्रदर्शन भएका थिए।

अनु रावत र सम्झना चौधरीको निर्देशन रहेको ‘ह्युमन ट्राफिकिङ’, हेमा सुनार, गोविन्द राना र टीकाराम विकको निर्देशन रहेको ‘मेन्टल हेल्थ’, न्यान्सी शाह र पूजा परियारको निर्देशन रहेको ‘चाइल्ड म्यारिज’, सुरज गुरुङ र चेतना केसीको निर्देशन रहेको ‘एम आई गुड इनफ’, अन्जली घर्तीमगरको ‘एउटा कथा’ र तृषा ढकालको ‘डियर डायरी’ अन्तिम स्लटमा देखाइएको थियो।

किपालयले महिलाले बनाएका फिल्ममात्र प्रदर्शन गरिनु आफैँमा पहिलो प्रयोग भएको र यसमा महिला निर्माता–निर्देशकको उत्साहजनक सहभागिताले हौसला दिएको जनाएको छ। किपालय प्रमुख आश्मा पोखरेलले यो वर्षको फेस्टिभल सानो स्केलमा गरिए पनि आगामी वर्ष यसलाई बृहत् बनाउने योजना रहेको बताइन्।

‘यो साल सानो स्केलमा ट्रायलको रूपमा नेपाली फिल्ममेकरका मात्र फिल्म देखाएर सुरुवात गरेका हौँ,’ उनले भनिन्, ‘आउँदो साल विदेशी फिल्म र फिल्ममेकरलाई पनि सहभागी गराएर दुई तीन दिनको भव्य फेस्टिभल गर्ने योजना छ।’
यसका लागि बेलायत र युरोपका महिलाहरूसँग फिल्म फेस्टिभलमा सहकार्यको कुरा अगाडि बढिरहेको पनि उनले जानकारी दिइन्।

फेस्टिभलमा फिल्म कलेजका विद्यार्थीसँगै दुई सयभन्दा बढी दर्शकको सहभागिता रहेको थियो। फेस्टिभल सम्पन्न गर्न चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल, चिल्ड्रेनल फिल्म सोसाइट, डक स्कुल, गौँथली इन्टरटेनमेन्ट र सिर्जना सूत्रको पनि सहयोग रहेको थियो।

प्रकाशित: २८ फागुन २०७९ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast