राजधानी काठमाडौँमा राणाकालमा बनेका शाह राजा र राणा महाराजाका सालिक प्रशस्तै देख्न सकिन्छ। सहरका केही मुख्य चोकमा राणा शासनका संस्थापक जंगबहादुर राणादेखि जुद्धशमशेरसम्मका सालिक छन्। राणाकालमै बनेका शाह राजा पृथ्वीवीरविक्रम र त्रिभुवनका सालिकले पनि उनीहरूलाई सम्झाइरहेका छन्। ती दुवै कालखण्डमा बनेका महिलाका सालिक भने नगण्य छन्।
राणा प्रधानमन्त्री श्री ३ महाराजका बडामहारानीहरूले परोपकारी कार्य नगरेका होइनन्। देशको सम्पूर्ण ढुकुटी राणा महाराजका खल्तीमा जाने र उनीहरूले त्यसलाई आफ्नो निजी सम्पत्तिसरह प्रयोग गर्ने समय थियो त्यो। अनि तिनै राणा प्रधानमन्त्रीबाट उनीहरूका रानीलाई चाहेजति रकम दिन्थे। त्यहाँ रैतीले तिरेको करको रकम प्रयोग भएको देखिए पनि आफ्नो निजी सम्पत्तिसरह ठान्ने समयमा रानीहरूका तर्फबाट पनि केही परोपकारी काम हुनु सकारात्मक थियो। केही रानीहरूले विकास निर्माणमा व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेको पाइन्छ।
वीरशमशेरले आफ्नो कार्यकालमा सन् १८९४ मा काठमाडौँ उपत्यकामा पहिलो आधुनिक खानेपानी आयोजनाका रूपमा वीरधारा निर्माण गरेका थिए। त्यसैमार्फत ठाउँठाउँमा धारा जडान गरी काठमाडौँवासीलाई स्वच्छ खानेपानी वितरण गरिएको थियो।
सन् १८९५ को नोभेम्बरमा भादगाउँमा अर्को खानेपानी आयोजना निर्माण गरिएको थियो। त्यसका लागि श्री ३ महाराज वीरशमशेरकी कान्छी बडामहारानी तोपकुमारीदेवीका तर्फबाट करिब १ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो। (सिभिल एन्ड मिलिटरी गजेट लाहोर, ८ नोभेम्बर १८९५)
ललितपुरमा भने काठमाडौँ र भादगाउँमा आयोजना निर्माण भएको एक दशकपछि खानेपानी आयोजना निर्माण भएको थियो। सन् १९०४-०५ मा ललितपुर पाटनमा खानेपानी आयोजना निर्माण गरिएको थियो। त्यसका लागि चन्द्रशमशेरकी जेठी बडामहारानी लोकभक्तदेवीका तर्फबाट करिब दुई लाख रुपैयाँ प्रदान गरिएको थियो। (नेपालस्थित ब्रिटिस रेजिडेन्टले आफ्नो सरकारलाई पठाएको सन् १९०४–०५ को वार्षिक प्रतिवेदन)
उक्त खानेपानी आयोजनाअन्तर्गत दूधपोखरीबाट पानी ल्याई पाटन र त्यस सहरको आसपासमा कलधाराबाट पानी वितरण गरिएको थियो।
सन् १९३२, १ सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री भीमशमशेरको निधन भयो। त्यही दिन राणा रोलक्रमअनुसार जुद्धशमशेर श्री ३ महाराज घोषित भए। जुद्धशमशेर जंगबहादुर राणाका कान्छा भाइ प्रधानसेनापति धीरशमशेरका पन्ध्रौँ पुत्र हुन्। काँगडाबाट डोला खोजी ल्याइएकी जुहारकुमारीदेवीतर्फबाट सन् १८७५ को अप्रिलमा जुद्धशमशेरको जन्म भएको थियो। १७ भाइ छोरा भएकाले धीरशमशेरलाई आर्थिक व्यवस्थापन गर्न सजिलो थिएन। धीरशमशेरका जेठा छोरा वीरशमशेर जंगबहादुर राणाको दरबारमा हुर्किएका थिए। उनको हेरचाह जंगबहादुरका अन्य छोरासरह थापाथली दरबारमा भएको थियो।
जंगबहादुरका अर्का भाइ कृष्णबहादुर कुँवर निःसन्तान थिए। पाल्पाका गभर्नर भएका उनले आफ्नो सन्तान नजन्मिएपछि देवशमशेरलाई धर्मपुत्र राखेका थिए। सोही कारण धीरशमशेरका १७ भाइ छोरामध्ये वीरशमशेर थापाथली दरबारमा हुर्किएका थिए। देवशमशेर भने कृष्णबहादुरको धर्मपुत्र भएकाले उनको बाल्यकाल असाध्यै सुखसयलमा बितेको थियो। यी दुईबाहेक धीरशमशेरका अन्य सन्तानका बाल्यकाल आर्थिक रूपमा त्यति राम्रो थिएन।
सन् १८८४ अक्टोबरमा तत्कालीन प्रधानसेनापति धीरशमशेरको निधन हुँदा जुद्धशमशेर नौ वर्षका थिए जीवनको आखिरी दिनमा धीरशमशेरको सेवा जुद्धशमशेरकी आमा जुहारकुमारीदेवीले गरेकी थिइन्। धीरशमशेरले जुहारकुमारीको प्रेम र आफूप्रतिको समर्पण देखेर आफ्नो निधनपछि छोरा जुद्धले दुःख नपाओस् भनी वीरशमशेरलाई सजग गराएका थिए।
२१ नोभेम्बर सन् १८८५ को रात हिटीदरबारमा ठूलाबा तत्कालीन प्रधानमन्त्री रणोद्वीपको हत्या गरेर शमशेर खलक (धीरशमशेरका सन्तान) ले सत्तारोहण गर्दा जुद्धशमशेर १० वर्षका थिए। इतिहासकार पुरुषोत्तमशमशेर जबराका अनुसार वीरशमशेर प्रधानमन्त्री हुनासाथ बुबाधीरशमशेरले मृत्युशय्याबाट बोलेको कुरा स्मरण गर्दै जुद्धशमशेरलाई समेत रोलमा राखेका थिए।
वीरशमशेरले आफ्ना बेरोलवाला ससाना भाइहरूको रेखदेख गर्न अन्य रोलवाला ठूला भाइहरूमा आपसमा जिम्मेवारी बाँडफाँट गरेका थिए। त्यसअनुसार देवशमशेरको जिम्मामा बाह्रौँ भाइ यदुशमशेर र भीमशमशेरको जिम्मामा पन्ध्रौँ भाइ जुद्धशमशेर परेका थिए। (राणाशासनको वृत्तान्त भाग १, लेखक : पुरुषोत्तमशमशेर जबरा, विद्यार्थी पुस्तक भण्डार)
भाइहरूमा रेखदेखको आपसी जिम्मेवारी बाँडफाँटअनुसार जुद्धशमशेर भीमशमशेरअन्तर्गत परेको भनिए पनि जुद्धशमशेरको सम्मान क्रमशः देवशमशेर र चन्द्रशमशेरका जेठा महारानीहरूप्रति बढी देखिन्छ।
नौ वर्षको उमेरमा पिताको निधन भएपछि शमशेर खलक सत्तामा नआउँदासम्मको करिब १३ महिनासम्ममा देवशमशेरकी रानीले जुद्धशमशेर र उनकी आमाको हेरचाह गरेको हुनुपर्छ।
कृष्णबहादुरको धर्मपुत्र भएका कारण देवशमशेर आर्थिक रूपमा सम्पन्न थिए। उनलाई कृष्णबहादुरका रानीले हेरचाह गरेझैँ जुद्धशमशेरको हेरचाह उनकी जेठी महारानी कर्मकुमारीदेवीले गरेको हुनुपर्छ। त्यसैले पनि होला जुद्धशमशेर देवशमशेरप्रति बढी कृतज्ञ थिए। रोलमा परेर जुद्धशमशेर जनरल भए पनि उनको आर्थिक अवस्था राम्रो थिएन।
जुद्धलाई चन्द्रशमशेरकी जेठी महारानीबाट विशेष रूपमा आर्थिक मद्दत मिल्ने गरेको उनकै भनाइबाट पनि पुष्टि हुन्छ। कर्मकुमारीको निधन भएपछिका दिनमा जुद्धलाई लोकभक्तदेवीले धेरै सहयोग गरेकी थिइन्। यिनै कारणले जुद्धशमशेर आफ्ना दुवै भाउजूहरूप्रति कृतज्ञ थिए। यहाँ यो प्रसंग उल्लेख गर्नुको कारण प्रधानमन्त्री जुद्धशमशेरको दुई भाउजूहरूप्रतिको श्रद्धा दर्शाउनु हो।
देवशमशेर प्रधानमन्त्री एवं श्री ३ महाराज हुनुअगावै वीरशमशेरको कार्यकालमा कम्यान्डर इन चिफ हुँदा सन् १८९६ मा उनकी जेठी रानी कर्मकुमारीदेवीको अचानक निधन भएको थियो। उनको निधनपछि उनको सम्झनामा देवशमशेरले हालको अमलेखगन्ज उतिबेलाको भिक्षाखोरीमा खानेपानीको व्यवस्था गरिदिएका थिए। त्यसबाट त्यहाँ हिँड्ने यात्रु र आसपासका जनावरलाई समेत ठूलै राहत भएको थियो।
सुधारवादी कदम चालेका देवशमशेर प्रधानमन्त्री भएको छोटो समयमा सत्ताको दाउपेचमा परी पहिले धनकुटा र त्यहाँबाट भारत निर्वासित भए। नेपालबाट भारत पसेको करिब १३ वर्षपछि सन् १९१४ मा उनको निधन भयो। देवशमशेरको निधन हुँदा चन्द्रशमशेर प्रधानमन्त्री थिए। चन्द्र र भीमको पालामा देवशमशेरको सालिक बनेन। पछि जुद्धशमशेरले दिवंगत आफ्ना दुवै दाजुहरू श्री ३ महाराज देवशमशेर र भीमशमशेरको सालिक बनाएका थिए। उनीहरूको सालिक लोकभक्तलक्ष्मीदेवीको भन्दा पछि बनेको थियो।
जुद्धशमशेर प्रधानमन्त्री भएपछि उनले नयाँ अभ्यास थाल्दै राजधानीमा पहिलोपटक राणा परिवारका महिलाको सालिक बनाएका थिए। सन् १९३३ जुन ७ (वि.सं. १९९० साल जेठ २५ गते) मा जुद्धशमशेरले पाटन मंगलबजारमा चन्द्रशमशेरकी दिवंगत जेठी बडामहारानी लोकभक्तलक्ष्मीदेवीको सालिक उद्घाटन गरेका थिए। (गोरखापत्र साप्ताहिक, १९९० जेष्ठ ३०)
लोकभक्तलक्ष्मीदेवीको सन् १९०६ मा निधन भएको थियो। उनको सालिक पाटनको मंगलबजार छ। उक्त सालिक उद्घाटन गर्दा जुद्धशमशेरको सम्बोधनको मुख्य अंश यस्तो थियो–
‘आज हामीहरू एक आदर्शनारी, स्वर्गवासी श्री ३ बडामहारानी चन्द्र लोकभक्तलक्ष्मीदेवीको आदर महिमा गर्न सामेल भएका छौँ। उहाँले दूधपोखरीबाट निर्मल पानी ल्याई पाटन र त्यस सहरको आसपासलाई कलधारा बक्सेको हुनाले, उहाँको सालिक यहाँ थपिनु उचित कुरा हो। हिन्दुमाता, स्त्री र महारानीमा हुनुपर्ने सम्पूर्ण गुण उहाँमा मौजुद थियो। जातिको उन्नतिलाई आम असल हुनुपर्छ भन्ने कुरा जगत प्रसिद्ध छ। आदिदेखि अन्त्यसम्म उत्तम प्रेम र धर्मको काव्यसमानको उहाँको जीवनचरित्रबाट आफ्नो जन्मलाई फाइदा उठाऊँ भनी नेपालका स्वास्नी मानिसलाई म अर्ज गर्दछु।
आसक्त भई माया गरी, आमाझैँ हरेक कुरामा स्याहारसम्भार पुर्याई, चाकरले जसरी सेवा गरी, घरको बन्दोबस्त नमुनालायक शीत चलाई आफ्नो प्राण प्यारो उद्देश्यमा हारगुहार गरी, उहाँलाई राजकाजमा समेत लायकी सरसल्लाह दिने साजत पूर्ण वामांगिनी होइबक्सन्थ्यो। उनीले गर्दा मेरो जिन्दगानी सफल भएको हो। उनी नभएको भए मेरो मनको धेरै काम कुरा मनको मनैमा रहन्थ्यो भनी मौसुफ दाज्यैज्यूबाट बारम्बार हुकुम हुन्थ्यो।
उहाँ मेरो लेखा अर्तीदाता, दुःखसुखमा बाटो देखाइदिने आधार भई मेरो खाँचो टारिइदिइबक्सेको हो। देहत्याग गरिबक्सेको दुई जुग नाघिसके तापनि उहाँको पवित्र आत्मा, उज्जवल तारा सरी, स्वच्छ कान्ति फैलाइरहेछ। उहाँको मीठो वाणी, उहाँको दयामायाको कीर्ति मेरो अन्तस्करणमा झलझली अडिरहेकै छ।’ (नेपालस्थित ब्रिटिस एन्भ्वायले आफ्नो सरकारलाई पठाएको सन् १९३३ को वार्षिक प्रतिवेदन)
सालिक उद्घाटनका समयमा जुद्धशमशेरले गरेको सम्बोधनबाट दिवंगत भाउजूप्रति उनको श्रद्धा कति थियो भन्ने बुझ्न सकिन्छ। लोकभक्तको उक्त सालिकलाई राणाकालमा नेपालमा निर्माण भएको कुनै पनि महिलाको पहिलो सालिक मानिन्छ। भाउजूको सालिक निर्माण गरिसकेपछि उनले आमाको पनि सालिक बनाउने योजना बनाएका थिए। तर त्यही वर्ष अर्थात् १९९० माघमा नेपालमा महाभूकम्प गयो। त्यसबाट ठूलो क्षति पुग्न गएकाले उनकी आमाको सालिक बनाउन केही ढिला भयो।
भूकम्प पुनर्निर्माणसँगसँगै जुद्धशमशेरले सन् १९३५ को जुन २८ (१९९२ साल असार १४) का दिन जाउलाखेल दरबारमा आफ्नी आमा जुहारकुमारीदेवीको सालिक उद्घाटन गरेका थिए। सालिक उद्घाटन समारोहमा उनले गरेको सम्बोधनबाट आफ्नी आमाप्रतिको श्रद्धा झल्कन्छ। उनको सम्बोधनको मुख्य अंश यस्तो थियो–
‘आमा भनेको बहुतै पूज्यनीय र अत्यन्तै प्यारो वस्तु हो। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गररीयसी’ भन्ने यो अमरवाक्य हामी साराका घटघटमा व्याप्त छ। जन्मदाता जननी बरोबर स्नेहमयी रक्षक र पोषक, फेरि जननीजस्ता जन्मभर असर रही रहने कुराको शिक्षक, अरू हुँदैनन्। यस्ता जननीको ॠण उनका जन्मभरको सेवा टहलले र देहान्तपछिको आदरभक्ति साथको स्मरणले तिरेर तिरिसकिने होइन– तापनि त्यस तरफमा दिल कसको झुकेको होवैन। तर त्यसतरफ दिल झुकाउने मातृऋणले मात्र मलाई यो सालिक स्थापनाको काम गराएको होइन कि आदर्शनारी, आदर्शपत्नी, आदर्शमाता, आदर्शगृहस्थीबाट सिक्न लायकको नमुना यसबाट दुनियाँको मुख्याञ्जी राखिदिने इच्छाको प्रेरणाले पनि म यहाँ उपस्थित भएको छु।’ (गोरखापत्र साप्ताहिक, १९९२ असार २१)
भाउजू र आमाको सालिक निर्माण गरेको केही समयपछि जुद्धशमशेरले आफ्नी अर्की भाउजूको पनि सालिक निर्माण गरेका थिए। त्यो सालिक देवशमशेरकी जेठीमहारानी कर्मकुमारीदेवीको थियो। ती दुवै सालिक उद्घाटन गर्दा कर्मकुमारीको सालिकबारे केही उल्लेख नहुनुले त्यो ती दुईभन्दा पछाडि बनेको थियो भन्न सकिन्छ। त्यो सालिक जाउलाखेल सदर चिडियाखाना परिसरमा छ।
सालिकमा ‘श्री जुद्धशमशेरका भाउजू कर्णकुमारीको सालिक’ लेखिएको छ। सालिकमा लेखिएको नाम कर्मकुमारी हुनुपर्नेमा त्यहाँ त्रुटिवस कर्णकुमारी रहेको देखिन्छ। पुरुषोत्तमशमशेरका साथसाथै अन्य इतिहासकारले समेत उनको नाम कर्मकुमारी भनी लेखेका छन्।
देवशमशेरले तीनजनासँग विवाह गरेका थिए। पहिलो कर्मकुमारी, दोस्रो कृष्णकुमारीदेवी, तेस्रो शारदाकुमारी (भारतको मैसुरी गएपछि कठोर स्टेटकी राजकुमारी) सँग बिहे गरेका थिए। दोस्रो पत्नी कृष्णकुमारी युवराज त्रैलोक्यकी भित्रिनी रानीपट्टिकी छोरी थिइन्। उनको निधन सन् १९०८ मा भएको थियो।
प्रमाण अभावमा चिडियाखाना परिसरमा रहेको कर्मकुमारीको उक्त सालिक कहिले बनेको हो भनी भन्न सकिँदैन। तर पनि सालिक जाउलाखेल परिसरमा हुनु र सालिकमा ‘श्री जुद्धशमशेरका भाउजू’ भनी लेखिनुले त्यो सालिक पनि जुद्धशमशेरले नै बनाएको स्पष्ट हुन्छ। राणाकालमा बनेका ती तीन महिलाका सालिकमध्ये सबैभन्दा उत्कृष्ट र पूर्णकदको सालिक कर्मकुमारीदेवीको हो। देवशमशेर भारत निर्वासनमा गएपछि उतै बिहे गरेकी उनकी रानी शारदालाई पनि पछि जुद्धशमशेरले ससम्मान नेपाल भ्रमण गराएका थिए। त्यसबाट पनि देवशमशेरप्रति जुद्धशमशेरको अथाह श्रद्धा देखिन्छ।
यसरी जुद्धशमशेरले आफ्नो कार्यकालमा तीनतीन जना महिलाको सालिक निर्माण गरेर आफ्नी आमा र आमा समानका भाउजूप्रतिको सच्चा श्रद्धा र भक्तिभाव व्यक्त गरेका थिए। हुन त आफ्नो शासनकालमा राणा शासकले परिवारका महिलाकै सालिक स्थापना गरेका थिए। पारिवारिक सदस्य भए पनि त्यतिबेला सार्वजनिक ठाउँमा महिलाहरूको सालिक स्थापना हुनु अग्रज महिलाहरूप्रति गरिएको उच्च श्रद्धा र भक्तिभाव थियो।