काठमाडौँ- निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ।
जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयनको समय छुटयाएको छ।
आज बिहान ९ बजेदेखि २ बजेसम्मका लागि उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्नका लागि समय तालिका छुटयाएको हो। आयोगका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित निर्वाचन कार्यालयमा गएर उम्मेदवार मनोनयन गर्नुपर्नेछ।
यसैगरी आज उपराष्ट्रपति पदमा मनोनयन पत्र दर्ता भएको सूचना जारी गर्नेदेखि उम्मेदवारको नाम सार्वजनिक गर्ने दाबी/विरोध गर्नेसम्मको कार्यतालिका निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।
पराष्ट्रपति पदका लागि उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै संघीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी अन्य योग्यताअनुसार उम्मेदवारी दर्ता गर्न आउने राष्ट्रपतिको भन्दा फरक समुदाय वा लिंगका व्यक्तिले उम्मेदवारी दर्ता गराउनुपर्नेछ।
उम्मेदवारी दिनेले पाँच जना समर्थक र पाँच जना प्रस्तावक जुटाउनुपर्नेछ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार प्रस्तावक र समर्थक सो पदका लागि निर्वाचन आयोगले प्रकाशन गरेको ८८२ जनाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ। मतदाता भने संघीय संसद् र प्रदेश सभाका सदस्य मात्रै छन्।
यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने कार्यक्रम तय भएको छ।
यसैबीच निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई उपराष्ट्रपति पदको मनोनयन गर्दा निर्वाचित राष्ट्रपतिको भन्दा फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी मनोनयन दर्ता गर्न निर्देशन दिएको छ। आयोगको निर्देशनमा भनिएको छ, ‘फागुन २७ गते उपराष्ट्रपति पदको मनोनयन गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिंग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिंग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेशी, थारू वा मुस्लिम) व्यक्तिको मनोनयन पत्र मात्र दर्ता गर्नुपर्नेछ।’
उपराष्ट्रपति पदका लागि चैत ३ गते मतदान हुनेछ । मतदानमा संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ तोकिएको छ ।