जुम्ला– सहकारी संस्थाले गाउँमै पुगेर आलु खरिद गरेपछि जुम्ला पातारासी गाउँपालिका किसानलाई बजारीकरणमा सहज भएको छ। आलु उत्पादनका लागि राम्रो ठाउँ मानिने पाताराासीमा हिमालयन सहकारी संस्थाले किसानका घरै पुगी आलु खरिद गरेपछि बजारीकरणमा सहज भएको हो।
सडक सञ्जाल जोडिनुपूर्व यहाँका महिला पैदलयात्राबाट जुम्ला सदरमुकाम खलंगा पुगेर धानसँग आलु साट्ने गर्दथे। तर अहिले भने गाउँमै प्रतिकेजी २५ रुपैयाँमा आलु धमाधम बिक्री भइरहेको स्थानीय मायादेवी बुढाले बताइन्।
घरबाटै आलु बिक्री गर्न पाउँदा किसानलाई सहज भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ। ‘सहकारी संस्थाले गाउँसम्म पुगेर आलु खरिद गरेपछि महिलालाई डोको बोकेर बजार खोज्नुपर्ने बाध्यता हटेको छ उपाध्यक्ष रोकायाले भनिन्, ‘यहाँको आलु सुर्खेतलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा निर्यात भइरहेको छ।’
पालिकाअन्तर्गत सातवटै वडामा आलु उत्पादन हुन्छ। चैतमा रोपिने आलु वैशाखमा गोडमेल गरेर असोजमा संकलन गरिन्छ भने हिँउदमा घाम नलाग्ने ठाउँमा खाडल बनाएर भण्डार गरिन्छ। अहिले पातारासीका रिनी, पठमारा, बाँता गाउँबाट मात्र ८ सय क्विन्टल आलु बाहिरी जिल्लामा पठाइएको उपाध्यक्ष रोकायाले जानकारी दिइन्।
आलु जोनलेसमेत पातारासीबाटै बिउ मगाउने गरेको हिमालयन बहुउद्देश्यीय सहकारीका बजार व्यस्थापक राजेन्द्र बुढाले बताए। सहकारीले आलुको अग्र्यानिक ब्रान्ड नै दर्ता गरेको छ।
पातारासीको उर्थु चौतारामा १० टन भण्डारण क्षमताको आलु संकलन केन्द्र स्थापना गरिएको हिमालयन बहुउद्देश्यीय सहकारीले जनाएको छ।
कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर दुई हजार छ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती भइरहेको छ।
आलु उत्पादनको ६० प्रतिशत हिस्सा पातारासी गाउँपालिकाले मात्रै ओगटेको छ। यहाँ उत्पादन हुने आलुको ५० प्रतिशत आलु बाहिर जिल्लामा बिक्री हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीको भनाइ छ।