कुरा २०५४ सालतिरको हो। बद्री पंगेनी मामाघर गएका थिए। जहाँ मामा-माइजू र उनीहरूका आठभाइ छोरा थिए। तीमध्ये जेठाको मात्र बिहे भएको थियो। अर्थात् घरमा बुहारी एक जनामात्र थिइन्।
पुस १५ को त्यो साँझ मामा-माइजू, दाजुभाइसँगै बद्रीले रातिको खाना खाए। सबैले गफगाफ गरे। गफिँदै नजिकैको मन्दिर एकछिन घुमे। घर फर्किएर न्यानो ओछ्यानमा भुसुक्क निदाए।
एक निद्रा पुगेपछि बद्री झल्याँस्स ब्युँझिए। कानमा चुराको छमछम आवाज आइरहेको थियो। त्यो आवाज सुनेर उनी उठे। लुगलुग काम्दै आवाज पछ्याए। कठ्याङ्ग्रिने जाडोमा राति उनकी भाउजू एक्लै एक रास भाँडा माझिरहेकी थिइन्।
किशोर अवस्थाको त्यो दृश्य बद्रीका आँखामा अहिले पनि झलझली आउँछ। ‘हामी दाजुभाइले खाना खाएर, गफ गरेर, एक निद्रा सुतिसक्दा पनि भाउजू एक्लै भाँडा माझिरहनुभएको थियो,’ चर्चित लोकगायक बद्री पंगेनीले त्यो क्षण सम्झिए।
त्यो रात पितृसत्तात्मक समाजको वास्तविकता आफ्नै आँखाले देख्दा निद्रा बिथोलिएको उनको ठहर छ। ‘फेरि चैनले निदाउन सकिनँ,’ उनले भने, ‘हाम्रो समाजमा ‘घरधन्दा महिलाकै काम हो’ भन्ने छ। जो मैले त्यतिखेर प्रत्यक्ष देखेँ।’
नेपाली समाजमा महिलामाथि हुने विभेद उनीसामु छर्लंग थियो। त्यो दृश्य रातभर आँखामा घुमिरह्यो। त्यसले बद्रीको बेचैनी बढाइरह्यो।
‘कम्तीमा मामा, माइजू, दाजुभाइ र मैले आफूले खाएको भाँडा आफैँ माझेको भए भाउजूले खाना पकाएका ठूला भाँडामात्र माझ्दा अलिक कम भार पर्थ्यो भन्ने लाग्यो,’ उनले सुनाए, ‘त्यस दिनदेखि मैले आफूले खाएको भाँडा आफैँ माझ्ने बाचा गरेँ। जुन अहिलेसम्म गरिरहेकै छु।’
त्यसपछि आफ्नो घरमा मात्र होइन आफन्त वा साथीभाइको घरमा पाहुना जाँदा पनि बद्रीले आफूले खाएको भाँडा आफैँ माझ्न थाले। ‘जसको घरमा खाना खाए पनि अन्त्यमा भाँडा माझ्ने काम महिलाकै भागमा परेको देखिन्छ,’ उनले भने, ‘घरका पुरुषले त माझ्दैनन्। आमा, दिदीबहिनी, भाउजू, बुहारी जो भए पनि मेरो जुठो थाल कुनै न कुनै महिलाले नै माझ्नुपर्छ। मेरो जुठो महिलाले किन माझोस् म आफैँ माझ्छु नि!’
अरूको घरमा पाहुना हुँदासमेत भाँडा माझेको देख्दा सुरुसुरुमा धेरैले उनको कुरा काटे। तर उनलाई ती कुराले असर गरेन। ‘कुनै पनि काम सानो वा ठूलो हुँदैन,’ उनले भने, ‘भाँडा माझ्दैमा म सानो हुने होइन। तर मैले आफ्नो जुठो थाल माझ्दा घरकी महिलालाई एउटा भाँडा भए नि घट्छ।’
कसैले कलाकार भएर भाँडा माझ्ने? भन्छन् त कसैले ‘के जात?’ भनेर सोध्छन्। ‘बद्रीका नाटकै बढी’ भन्नेहरू पनि छन्। कोहीकोहीले ‘अरूको रोजगारी नखोस्’ पनि भन्ने गर्छन्। ‘मैले एउटा जुठो थाल माझ्दैमा कसैको रोजगार गुम्छ र?’
ज्वाइँलाई मानमनितो गर्ने ससुराली जाँदा पनि बद्रीले आफूले खाएको भाँडा आफैँ माझ्ने गरेका छन्। सुरुसुरुमा ससुरालीका परिवारले उनको हातबाट जुठा भाँडा नखोसेका होइनन् तर उनी आफ्नो निर्णयमा अडिग रहे। ‘जहाँ जाँदा पनि आफूले खाएको भाँडा माझ्छु भने ससुरालीमा किन जुठो थाल छोड्नु?,’ उनले भने।
ससुरालीमा अहिले अवस्था बदलिएको छ। त्यसलाई सामान्य रूपमा लिन थालिएको छ। ‘कहिलेकाहीँ हतारहतारमा आफूले खाएको भाँडा माझ्न सकिनँ भने सासूआमाले ‘ज्वाइँ भाँडा’ भनेर सम्झाउनुहुन्छ,’ उनले हाँस्दै भने।
काठमाडौँमा मात्र होइन नेपालभरि आफू गएको, बसेको होटल, रेस्टुरेन्टमा पनि उनले आफ्ना जुठा भाँडा आफैँ माझ्ने गरेका छन्। ‘यसो हेर्दा होटल, रेस्टुरेन्टमा भाँडा माझ्ने कि त महिला हुन्छन्, कि बालमजदुर,’ उनले भने, ‘होटललाई सेवाबापत पैसा तिरे पनि मेरो जुठो भाँडा कुनै महिला वा बच्चाले माझ्दा मन पोल्छ। त्यसैले नि आफैँ अगाडि सर्छु।’
चर्चित सेलिब्रिटी होटल वा रेस्टुरेन्टको भान्सामा छिरेर भाँडा माझेको देख्दा धेरैलाई अचम्म लाग्छ। धेरै ठाउँमा कर्मचारीले नाइँनास्ती पनि गर्छन् । होटल कर्मचारीले जबर्जस्ती उनको हातबाट भाँडा खोस्ने पनि गरेका छन्। त्यसो हुँदा बद्रीले उल्टै उनीहरूको हातबाट भाँडा खोस्छन्। मजाले आफ्नो जुठो भाँडा माझ्छन् र राख्छन्।
अब त बद्रीलाई चिन्ने होटल, रेस्टुरेन्टका कर्मचारीलाई उनको बानी थाहा भइसक्यो। त्यसैले हिजोआज खाइसकेपछि कतिपय ठाउँमा होटल कर्मचारीले नै ‘सर भाँडा धुने ठाउँ यता छ’ भन्दै बाटो देखाउने गरेको उनले सुनाए।
विदेश जाँदा भने उनलाई आपत् पर्छ। नेपालीको भान्सामा खुसुखुसु गएर भाँडा माझ्ने बद्रीलाई विदेशका ‘किचेन’ मा पस्न त्यति सजिलो हुँदैन।
‘विदेशमा जाँदाचाहिँ आफ्नो भाँडा आफैँ माझ्ने वचन पुर्याउन अलि गाह्रो हुन्छ,’ उनले भने, ‘नेपाली पो आफ्ना दाजुभाइ, भनेको बुझ्छन्, मान्छन्। भान्सामा जान दिन्छन्, आफूले खाएको भाँडा माझ्न दिन्छन्। विदेशीले कसरी बुझ्नु मेरो भावना?’
तैपनि उनी मिलेसम्म आफ्नो अडानमा कायम रहन्छन्। विदेशमा हात धुने ठाउँमा भए पनि जुठो थाल पखाल्छन्। ‘एकपटक विदेश जाँदा होटलका कर्मचारीले भान्सामा पस्नै दिएनन्,’ उनले सुनाए, ‘पर्यो फसाद! यसरी जुठो भाँडा छोडिरह्यो भने बानी बिग्रेला भन्ने डर।’
के गर्ने त? उनले उपाय लगाए- हात धुने बेसिनमा आफूले खाएको भाँडा पखाले र टेबलमा राखे। बद्रीले आफूले खाएको जुठो भाँडा आफैँ माझ्न थालेको २५ वर्षभन्दा बढी भइसक्यो। उनले होटल, रेस्टुरेन्टमा यसरी भाँडा माझ्दा साथीभाइ, आफन्तलगायत धेरैले रोकटोक गर्छन्। तर उनी मान्दैनन्।
कसैले कलाकार भएर भाँडा माझ्ने? भन्छन् त कसैले ‘के जात?’ भनेर सोध्छन्। ‘बद्रीका नाटकै बढी’ भन्नेहरू पनि छन्। कोहीकोहीले ‘अरूको रोजगारी नखोस्’ पनि भन्ने गर्छन्। ‘मैले एउटा जुठो थाल माझ्दैमा कसैको रोजगार गुम्छ र?’ उनले भने।
गीतसंगीतमा पनि बद्री नारीलाई सम्मान गर्न रुचाउँछन्। त्यसको एउटा उदाहरण हो, पंगेनी र सिन्धु मल्लको ‘ससुरालीमा’ एउटा चर्चित लोकदोहाेरी हो। सालीभिनाको जुहारी परेको त्यो गीतमा पनि बद्री महिला अधिकारप्रति सजग छन्। दोहोरीको अन्तिममा उनको स्वर सुन्न पाइन्छ, ‘कान्छी ल्याउने भरममा पर्दिनँ, छोरै पाउने रहर गर्दिनँ।’
कतिपयले उनीमाथि चर्चाका लागि भाँडा माझ्दै हिँडेको आरोप पनि लगाउँछन्। त्यसबारे उनले भने, ‘गीत गाएरै चर्चित भइरहेको छु, त्यसका लागि मैले भाँडा माझ्नुपर्दैन।’
किन माझ्छन् त उनी आफूले खाएको भाँडा आफैँ? धेरैलाई जिज्ञासा हुन सक्छ। त्यसको जबाफमा उनले भने, ‘महिला सम्मानका कारण।’
बद्रीलाई आधुनिक समाजमा समेत महिलाप्रति भइरहेको व्यवहार र उनीहरूका लागि भनेर छुट्याइएको काम चित्त बुझेको छैन। सबै काम समान र सबैले सबै काम गर्ने समाज नबन्दासम्म महिलाको दुःख कम नहुने उनको बुझाइ छ। ‘त्यही कारण म आफैँ भाँडा माझ्छु,’ उनले भने।
एउटा थाल माझ्दैमा महिलाको सम्मान र विभेदरहित समाज बनिहाल्छ भन्ने त बद्रीलाई पनि लाग्दैन। तर उनले गरेको सानो कामको ठूलो अर्थ छ। समतामूलक समाज र समविकासका लागि यो उनको ठूलो क्रान्ति हो। महिलालाई ‘कामको मेसिन’ ठान्ने समाजलाई गतिलो झापड हो।
@santoshbasyal07 लोक दोहोरी गायक @Badri Pangeni दाई होटलमा आफुले खाएको भांडा माझ्दै । #pokhara #fulbari #fyp #santoshbasyal #fypシ゚viral🖤tiktok #pokhara #kaski
बद्री हरेक दिन आफूले खाएको भाँडा आफैँ माझ्छन् नै, फुर्सद हुँदा अरूले खाएको र पकाएको जुठा भाँडा पनि माझिदिन्छन्। ‘खाना पनि पकाउँछु,’ उनले भने, ‘एकदमै मीठो पकाउँछु। विशेष गरी मासु। तर समय हुनुपर्यो। व्यस्तताले मलाई ती काम गर्ने सुविधा दिँदैन।’
गीतसंगीतमा मात्र होइन उनले भाँडा मझाइमा पनि ‘चेलो’ पाएका छन्। ‘डीभी कालिज मेरो चेलो हो, उनले पनि मजस्तै आफूले खाएको भाँडा आफैँ माझ्ने गरेका छन्,’ बद्रीले भने।
आफू र डीभी कालिजजस्तै सबै पुरुषले आफूले खाएको मात्रै भए पनि भाँडा आफैँ माझिदिए महिलालाई अलिकति राहत हुने उनको बुझाइ छ। ‘घरका पुरुषले आफूले खाएको भाँडा आफैँ माझिदिए अन्त्यमा महिलाका लागि जुठा भाँडाको चाङ लाग्दैन,’ उनले भने, ‘जुठो भाँडा महिलाले माझ्नुपर्छ’ भन्ने सोच अब बदलिनुपर्छ।’
गीतसंगीतमा पनि बद्री नारीलाई सम्मान गर्न रुचाउँछन्। त्यसको एउटा उदाहरण हो, पंगेनी र सिन्धु मल्लको ‘ससुरालीमा’ एउटा चर्चित लोकदोहाेरी हो। सालीभिनाको जुहारी परेको त्यो गीतमा पनि बद्री महिला अधिकारप्रति सजग छन्। दोहोरीको अन्तिममा उनको स्वर सुन्न पाइन्छ, ‘कान्छी ल्याउने भरममा पर्दिनँ, छोरै पाउने रहर गर्दिनँ।’