सरकार विस्तार ३ गतेपछि : प्रधानमन्त्री

हिमाल प्रेस २५ फागुन २०७९ २३:१२
4
SHARES
सरकार विस्तार ३ गतेपछि : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताएका छन्। राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले यस्तो जानकारी दिएका हुन्।

स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताए।

उनले अबको ध्यान सरकारलाई पूर्र्णता दिने हुने पनि बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘अब हाम्रो ध्यान सरकारलाई पूर्र्णता दिनेमा हुन्छ। उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ।’ उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने कार्यतालिका छ।

पुस १० गते पाँच दलीय गठबन्धनसहित बनेको सरकारबाट एमाले, रास्वपा र राप्रपा यसअघि नै बाहिरिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रतिनिधिसभाका सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। सरकारमा माओवादी र जनमत पार्टीका मन्त्री मात्रै छन्। पुस ११ गते माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी मिलेर सरकार गठन भएको थियो।

पहिलो चरणमा माओवादीबाट ‘प्रचण्ड’ प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भएका थिए भने एमालेबाट विष्णुप्रसाद पौडेलले उपप्रधानमन्त्रीसहित अर्थ, ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई मन्त्री भएका थिए। यस्तै रास्वपाबाट रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी पाएका थिए। जनमत पार्टीका अब्दुल खान मन्त्री भएका थिए।

माघ २ गते मन्त्रिपरिषद् विस्तार गरी सबै मन्त्रीको जिम्मेवारी तोकिएको थियो। त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा सामेल भएको थियो। नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद गएपछि माघ २२ गते रास्वपा सरकारबाट बाहिरिएको थियो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी फागुन १३ गते सरकारबाट बाहिरिएको छ।

प्रतिनिधिसभामा रहेका १२ दलमध्ये प्रचण्डलाई १० दल र सबै स्वतन्त्र सांसदहरूले विश्वासको मत दिएका थिए। नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले भने प्रचण्डलाई मत दिएका थिएनन्।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको थियो। सरकारबाट बाहिरिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने समर्थन फिर्ता लिएको छैन।

सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको एमालेको ७९ र राप्रपाको १४ सिट छ। यस्तै विश्वासको मत नदिएका नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका एकएक सिट छ। सत्तामा रहेको माओवादीको प्रतिनिधिसभामा ३२ सिट र जनमत पार्टीको ६ सिट छ।

यस्तै समर्थन जारी राखेका नेपाली कांग्रेसको ८८, जसपाको १२, नेकपा एकीकृत समाजवादीको १०, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पाटीको तीन सिट छ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसद्‍बाट विश्वासको मत पाएका थिए। प्रचण्डको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो। प्रतिनिधिसभामा २७५ सदस्य रहेकामा विश्वासको मतका लागि गरिएको मतदानमा २७० सांसद सहभागी थिए।

यति बेला सरकार सात सदस्यीय छ। यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात नारायणकाजी श्रेष्ठ, सञ्चारमन्त्री रेखा शर्मा, खानेपानीमन्त्री अब्दुल खान, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्।

राष्ट्रपति निर्वाचनका क्रममा दलहरूबीच नयाँ समीकरण बनेको छ। सोहीअनुसार अब सरकारमा माओवादीसहित नेपाली कांग्रेस, जसपा लगायत दल सहभागी हुने लगभग निश्चित छ।

प्रकाशित: २५ फागुन २०७९ २३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =