निष्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिबद्ध रहनेछु : पौडेल

हिमाल प्रेस २५ फागुन २०७९ २२:४९
6
SHARES
निष्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिबद्ध रहनेछु : पौडेल नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार समर्थक तथा शुभेच्छुकलाई अभिवादन गर्दै। तस्बिर : रासस

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गरेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि बिहीबार साँझ उनले सबैलाई आभार व्यक्त गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन्।

उनले भनेका छन्, ‘राष्ट्रपतिको संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु।’

पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्ग निर्देशक सिद्धान्त रहने स्पष्ट पारेका छन्।

यस्तै उनले देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन आफू सदैव तत्पर रहने प्रतिबद्धता जनाएका छन्।

‘राष्ट्रपतिका काम, कर्तव्य थता जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात् गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहेनछु।’

पौडेलले साझा उम्मेदवारका रूपमा प्रस्तुत गर्ने गठबन्धन दलहरू तथा मतदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। यसैगरी उनले प्रतिनिधिसभा र संविधानसभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिएका तनहुँ जिल्लावासी मतदातालाई पनि आभारसहित कृतज्ञता ज्ञापन गरेका छन्।

प्रकाशित: २५ फागुन २०७९ २२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =