काठमाडौँ- नयाँ राष्ट्रपति चयनका लागि अबको केही समयपछि मतदान सुरु हुँदैछ। निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आयोगले विभिन्न नियम बनाएको छ।
निर्वाचन आयोगले आज हुने निर्वाचनमा आफ्नो प्रमाण खुल्ने परिचयपत्र ल्याउन अनुरोध गरेको छ। आयोगले स्पष्टरूपमा कानुनी व्यवस्था गरेका भन्दै ५ वटा एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने जनाएको हो।
जसअनुसार आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, सम्बन्धित संसद् सभा सचिवालयबाट जारी भएको परिचय पत्र मतदान गर्नु अघि देखाउनु पर्नेछ। सो परिचय पत्र नभएमा निर्वाचन अधिकृतबाट सम्बन्धित् सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर मतदानस्थलमा जानु पर्ने आयोगले जनाएको छ।
मतदानमा मतदाताले मतदानस्थलमा मोबाइल लैजान समेत दिइने छैन। संघीय संसद् भवनको लाेत्से हलमा हुने निर्वाचनमा मतदाताले मोबाइल लगेमा जफत हुने र निर्वाचन आयोगले कसुर गरेको ठानी कारबाहीसमेत गर्नेछ। साथै तस्बिर खिच्न र लाइटरलगायतका हातहतियार समेत लैजान मनाही छ।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको ४८ तोकिएको छ। सबै उम्मेदवारको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ र राष्ट्रपति निर्वाचित हुन बहुमत अर्थात २६ हजार ३९४ मतभार चाहिन्छ। राष्ट्रपति चुनिन कुनै एक मात्र दलको मतले पर्याप्त हुँदैन।