म्याग्दी- यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन्। पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको संख्यामा उल्लेखिय वृद्धि भएको छ।
चालु आर्थिक वर्ष २०७९/८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पंगेनीले जानकारी दिए। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको संख्यामा बर्सेनि वृद्धि हुँदै गएको छ।
ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको संख्यामा वृद्धि हुँदा शिकार आरक्ष कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको हो। ढोरपाटन शिकार आरक्षले विदेशी तथा नेपाली पर्यटकको आगमनको तथ्यांकलाई व्यवस्थित गर्दैगएको छ । गत आवमा छ हजार बढी जनाले ढोरपाटनको अवलोकन गरेकोमा चालु आवको अन्त्यसम्म त्यो संख्या बढेर दोब्बर पुग्ने देखिएको छ।
ढोरपाटन शिकार आरक्षको तथ्यांकअनुसार आरक्ष अवलोकनका लागि आउने पर्यटकको संख्यामा वृद्धि भएको छ। कुनै दिन ढोरपाटनमा शिकार खेल्न मात्रै पर्यटक आउने गरेकामा पछिल्लो समय शिकार आरक्ष क्षेत्र अवलोकन, ढोरपाटन उपत्यका, निशेलढोर र ढोर वराम मन्दिर अवलोकनका लागिसमेत पर्यटक आउने गरेका छन्।
विदशी शिकारी शिकार खेल्नका लागि हेलिकप्टरमार्फत सोझै आरक्ष क्षेत्रमा पुग्ने गरे पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचारप्रसारसँगै आन्तरिक तथा बाह्य पर्यटक घुम्नका लागिसमेत त्यहाँ पुग्न थालेका छन्। वैधानिक रूपमा नाउर र झारलको शिकार खेल्न पाइने आरक्ष क्षेत्र प्रवेशमा नेपाली र बाह्य पर्यटकले प्रवेश शुल्क तिर्नुपर्छ।
सूचना अधिकारी पंगेनीका अनुसार आरक्षमा पुग्ने विदेशी पर्यटकको मात्रै तथ्यांक राख्दै आएकोमा दुई वर्षदेखि आन्तरिक पर्यटकको पनि तथ्यांक राख्न थालिएको छ।
विदेशी पर्यटकलाई प्रवेश शुल्क नियमअनुसार छ भने नेपालीलाई प्रतिव्यक्ति एक सय रुपैयाँ छ । आव २०७७/७८ मा छ हजार सात सय तीन स्वदेशी र विदेशी पर्यटक आरक्ष क्षेत्रमा आएका थिए भने चालु आव २०७८/७९ मा नौ हजार नौ सय १९ पर्यटक शिकार आरक्ष क्षेत्रमा आइसकेका छन्। यो वर्ष १२ हजारको हाराहारीमा पर्यटक पुग्ने पंगेनीको भनाइ छ।
ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकामा आव २०७७/७८ आन्तरिक पर्यटकले समेत एक सय रुपैयाँ प्रवेश शुल्क तिर्ने प्रावधान बनाइएको छ। आव २०७२/७३ मा ९१, आव २०७३/७४ मा एक सय ३९, आव २०७४/७५ मा एक सय १९, आव २०७५/७६ मा चार सय ८० तथा आव २०७६/७७ मा तीन सय २० विदेशी पर्यटक यहाँ घुम्न आएका थिए।
यस्तै ढोरपाटन आउने पर्यटकसँगै राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ। आरक्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/७१ म चार लाख १० हजार, आव २०७६/७७ मा छ लाख ६८ हजार, आव २०७७/७८ मा रु २० लाख २२ हजार तथा चालु आवको हालसम्ममा २२ लाख १९ हजार राजस्व संकलन गरेको छ।
राजस्व वन्यजन्तु विभागमा जम्मा हुने आरक्षले जनाएको छ। ढोपाटनमा शिकार खेल्न, ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्नेगरेका छन्।