वन्यजन्तुको प्रजनन सायदै कसैले देखेको होला। वन्यजन्तु संरक्षणमै लागेकाहरू पनि कमैले यस्तो मौका पाउँछन्।
अझ पाटेबाघको प्रजनन देख्न पाउनु त एकदमै दुर्लभ हो। जंगलमा यिनीहरूको प्रजनन देख्न असम्भवजस्तै हुन्छ। तर, चिडियाखानामा भने यस्ता प्रेमालाप बेलाबेलामा देख्न पाइन्छ।
यस्तै दृश्य सदर चिडियाखाना जाउलाखेलमा देख्न पाइयो।
यस्तो हुन्छ प्रजनन प्रक्रिया
बाघको प्रजननको समय भन्ने हुँदैन। तर, डिसेम्बरदेखि अप्रिलसम्म बढी सक्रिय हुने गरेको विज्ञहरू बताउँछन्।
‘बाघको प्रजननको विषयमा अध्ययन कम भएको छ,’ वन्यजन्तुविद् डा. बाबुराम लामिछाने भन्छन्, ‘धेरै बाघहरूको अध्ययनपछि मात्रै यसबारे भन्न सकिन्छ होला।’
उनका अनुसार भाले बाघ ४–५ वर्ष र पोथी बाघ ३–४ वर्षको उमेरमा प्रजनन प्रक्रियामा सहभागी हुन योग्य हुन्छन्। गर्भ बसेको साढे ३ महिनामा डमरु जन्मन्छ।
पोथी बाघले झाडी, लामो घाँस भएको क्षेत्र वा गुफाहरूजस्ता सुरक्षित ठाउँमा डमरुलाई जन्म दिने गर्छन्। डा. लामिछानेका अनुसार एउटा बाघले एकपटकमा ३–५ वटा डमरुसम्मलाई जन्म दिने गर्छ।
डमरु जन्मँदा ७८० ग्रामदेखि १६ सय ग्रामसम्मको हुन्छ। सुरुमा उसको कान र आँखा बन्द हुन्छ। विस्तारै खुल्दै जान्छ।
दूधे दाँत जन्मेको २–३ हप्तादेखि फुट्न सुरु हुन्छ। त्यसपछि विस्तारै बलिया दाँतहरू आउन थाल्छन्। साढे ८ देखि साढे ९ हप्तामा दाँतहरू आइसक्छन्।
‘६ महिनासम्म डमरुले दूध मात्रै खान्छ, माउको हेरचाहमा रहेको हुन्छ,’ डा. लामिछाने भन्छन्, ‘त्यसपछि माउले सानासाना ठोस खानेकुराहरू खान सिकाउँछ। एक वर्षपछि शिकार कसरी गर्ने भन्ने माउले सिकाउने गर्छ।’
कतिपय अवस्थामा माउले जिउँदै शिकार ल्याएर डमरुलाई मार्न लगाउने पनि गर्छ। शिकार गर्न सिकेपछि झण्डै २–३ वर्षको उमेरमा छुट्टिएर आफ्नो छुट्टै ‘टेरिटोरी’ बनाउन थाल्छ। त्यसपछि सो पोथी बाघ फेरि प्रजननका लागि तयार हुन्छ।