पाँचथर- तेह्रथुमको आठराई गाउँपालिका-६ हात्तीखर्कका आशबहादुर घिसिङको उमेर करिब ८० वर्ष पुग्यो। हतखुट्टा लाग्न छाडेका घिसिङका बाबुबाजेको सारा जीवन पनि यही ठाउँमा बितेको थियो।
आफ्नो उत्पादनले खान नपुगे पनि हात्तीखर्कमै घिसिङका बुवा हजुरबुवाले सन्तानले यहीँ गुजारा गरिरहेका थिए। तर ८० वर्षको उमेरमा घिसिङ घरबारविहीन हुनुपरेको छ। आगलागीले घिसिङको टोलका १४ घर एकैसाथ खरानी बनाएको छ। आँखैअघि सारा गाउँ खरानी हुँदा घिसिङलाई सपनाजस्तै लागेको छ। ‘बाबु बाजेबाट न यस्तो विपत्ति सुनेको थिएँ, न यो जीवनले भोगकै थियो,’ उनले भने। तर लौरोको सहारामा जीवन कटाउनुपर्ने बेलामा उनीसँग न घर रह्यो न सम्पत्ति।
यही फागुन १२ गते नजिकैको खैरेनी निबुटार सामुदायिक वनमा लागेको आगो हात्तीखर्कको बस्तीमा सल्कियो। हात्तीखर्कमा त्यति धेरै ठूलो जंगल पनि थिएन।
यहाँका कैयौं स्थानीय सहज जीवनयापनको अपेक्षामा बसाइँ सरेर गएपछि बस्ती नै जंगल बनेको थियो।
घिसिङकै दुई जना भाइका परिवार पनि यहाँबाट बसाइँ सरेर झापा गइसकेका छन्। सुक्खाले प्रभावित यस स्थानको जंगल वर्षा नहुँदा अत्यधिक सुक्खा बनेको थियो।
तमोर नदीको तटबाट लागेको आगो यसरी मडारिएर आयो कि हरिया रुखहरू नै आधाआधी जले।
आगो लागेपछि हुरीबतास उत्तिकै चल्यो। आगोको लप्का जंगल नजिकैका घरसम्म पुग्यो। ठूलठूला टारका बीचमा रहेका घरमा आगोले सल्किएका रुखका पातहरू पुगे। क्षणभर मै हात्तीखर्क उजाडियो। जंगलबा चार सय मिटर टाढासम्मका घरमा आगो लाग्यो।
घरबारबिहीन भएपछि लौरो टेकेर राहत सामग्री बुझिरहेका घिसिङका लागि यो घटना एक आश्चर्यजनक लागिरहेको छ। ‘जिजुबाजेदेखि बसेको घरमै म बसिरहेको थिएँ। यस्तो अवस्था मैले कहिल्यै सोचेको थिइनँ,’ उनले भने। यसपालि आगो लाग्नु स्वाभाविक भए पनि आगलागीले यो हदको क्षति गर्ला भन्ने कसैको कल्पनासमेत थिएन।
पहिले यहाँको बस्ती बाक्लो थियो। अहिले आगलागी भई जलेका १४ मध्ये पाँच घर खाली थिए। गाउँका आधाजसो मानिस बसाइँ सरेर गएको बताउँछन्। घिसिङको मात्रै होइन, घर जलेपछि मायादेवी तामाङको दुःख झनै पीडादायी छ। मायाका श्रीमान मानसिक समस्याका कारण थलिएको लामो समय भयो। जंगलको आगोले ठूलो क्षति गर्ला कि भन्ने चिन्ताले मायाको मन पिरोलिरहेको थियो।
क्षणभरमा घर नजिकै डाँडामा आगो आइपुग्यो। हेर्दाहेर्दै उनका दुई वटा घर जले। ‘सरसामान, लुगाफाटो केही निकाल्न पाइनँ। श्रीमानको उपचार गर्न पैसा ठिक्क पारेकी थिएँ,’ आँसुुमिश्रित आवाजमा उनले भनिन्। सोही स्थानकी जुनुमाया घिसिङले हलगोरु बाहेक घरको कुनै सामग्री निकाल्न पाइनन्। ‘दशै मिनेटमा घर जलेको। घर–घर छुट्टयाई छुट्टयाई जले,’ घिसिङले भनिन्।
अहिले नारायण गोपालको ‘दुःखीलाई कहिलेकाँही भुल्दा रैछन् देउता पनि..’भन्ने गीत उजाडिएको हात्तीखर्कको बस्तीलाई सायदै उपयुक्त नलाग्ला। हुन पनि आफ्नो उत्पादनले आधा वर्ष खान नपुग्ने परिवारहरूको वासस्थान र श्रीसम्पत्ति क्षणभरमै उजाडिएको छ।
तर हात्तीखर्क मात्रै होइन, पूर्वी पहाडको तमोर तटीय क्षेत्रका सबै नागरिकको साझा समस्या आगलागी हो। रासस