काठमाडौँ- ‘तपाईंले धेरै समयपछि टेलिफोनमा सम्पर्क गर्दा खुसी लाग्यो। यहाँहरूले नसम्झे दिल्लीमा हामीसँग को बोल्न खोज्छ र?’ केही दिनअघि एक भारतीय पूर्वकूटनीतिज्ञले भनेको वाक्य हो यो। उनको यो भनाइ नेपालमा राजदूत भएर फर्किएका पूर्वकूटनीतिज्ञको दिल्लीमा वर्तमान हैसियत बुझ्न पर्याप्त छ।
नेपाली नेताहरूले पूर्वराजदूतलाई भारतको नीतिनिर्माता तहमा रहेको जसरी महत्त्व दिएपछि ती पूर्वकूटनीतिज्ञको भनाइ सान्दर्भिक देखिएको हो। उनका अनुसार राजदूतबाट अवकाश पाएपछि भारतमा उनीहरूको खासै भूमिका हुँदैन। उनले भने, ‘हामी अवकाशपछि आफ्ना ब्याजी र जुनियरसँग भेटघाट गर्छौँ। नेपालका बारेमा चासो रहने भएकाले समाचार पनि पढ्छौँ र मन लागेमा केही लेख्छौँ। हाम्रो भूमिका यति नै हो।’
नेपालमा भने सेवाबाट फर्किएका राजदूतहरू नेताहरूको आशीर्वाद पाएमा कुनै न कुनै महत्त्वपूर्ण जिम्मेवारीमा पुग्ने गरेका छन्। भारतमा सरकारी थिंक ट्यांकमा निकै प्रतिस्पर्धा हुने भएकाले दोहोर्याएर अवसर पाउने विरलै हुन्छन्। त्यसैले उनीहरू बिस्तारै ओझेलमा परेका हुन्छन्।
भारतका ती पूर्वकूटनीतिज्ञ भन्छन्, ‘हामी कूटनीतिक सेवाबाट बाहिर आएपछि कुनै महत्त्वपूर्ण भूमिकामा हुँदैनौँ।’ नेपालका केही नेता र पत्रकारले बढी नै महत्त्व दिँदा भने उनी आफैँलाई अप्ठ्यारो लाग्ने बताउँछन्। तर केहीले भने सामान्य हालखबर पनि नसोध्ने उनको तितो अनुभव छ। ती पूर्वकूटनीतिज्ञले व्यंग्यमिश्रित भावमा भने, ‘हाम्रो सीमा र हैसियत राम्ररी थाहा पाएका पत्रकारहरूले खासै वास्ता गर्दैनन्। भूमिका नबुझेकाहरूले सम्पर्क गरेपछि केही त बोलिदिनैपर्छ नि हैन?’
नयाँदिल्ली पुगेका नेपाली नेताहरूले आफूसँग भेट गर्दा खुसी लाग्ने ती कूटनीतिज्ञ बताउँछन्। तर भारतीय संस्थापन पक्षलाई यसो भनिदिनुपर्यो भनेर अनुरोध गर्दाचाहिँ अप्ठ्यारोमा पर्ने गरेको गुनासो उनको छ।
‘मित्रताका नाताले नेपाली नेताहरू आउँदा भेट्नु सामान्य हो। नेपाली नेता आएर यो भनिदिनुपर्यो त्यो भनिदिनुपर्यो भनिरहेका हुन्छन्। तर हाम्रो त्यत्रो हैसियत कहाँ पाउनु?’ उनले गुम्सिएको अभिव्यक्ति टेलिफोनमै सुनाए।
नेपाल मामिला हेर्नका लागि राजदूतकै भूमिका प्रमुख रहने भएकाले आफूहरू कूटनीतिक आचारसंहिता बाहिर जान नमिल्ने उनको भनाइ छ। ‘हाम्रा राजदूत लैनचौरमा हुनुहुन्छ। हाम्रो चासोको विषय उहाँले नै हेर्ने भएकाले नेपालका विषयमा पूर्वराजदूत बोल्नु राम्रो हुँदैन। जथाभाबी बोल्न कूटनीतिक आचारसंहिताले पनि दिँदैन।’
नेपालमा के हुँदैछ भनेर सोध्दाचाहिँ आफू छक्क पर्ने उनको भनाइ छ। उनी प्रश्न गर्छन्, ‘नेपाली नेता र कतिपय पत्रकारले यो विषय किन नबुझेका होलान्?’ यस्तो अवस्थामा कसरी जबाफ दिनुहुन्छ त भन्ने जिज्ञासामा उनले भने, ‘हामीले अनुमान र अनुभवका आधारमा यो वा त्यो हुँदैछ भनेर अडकलबाजी गर्दछौँ।’
नेपालका नेताको प्रवृत्ति र अध्ययनको स्तरबारे जानकार रहेकाले उनीहरूलाई जबाफ दिन त्यति कठिन नहुने उनको भनाइ छ। ‘नेताहरूले त सोधे-सोधे, कहिलेकाहीँ दिग्गज भनिएका पत्रकारले पनि यस्तै कुरा सोधिदिँदा दिक्क लाग्छ। पत्रकारले त यस्ता कुरा बुझ्नु पर्दैन?’
पूर्वपरराष्ट्रमन्त्री एवं भारतका लागि पूर्वराजदूत डा. भेषबहादुर थापा भन्छन्, ‘नेपालमा राजदूत भएर गएकाहरूसँग दुई पक्षीय सम्बन्ध र राजनीतिक परिदृश्यबारे धारणा बुझ्नु स्वाभाविकै हुन्छ तर उनीहरूलाई यहाँ सबैथोक गरिदिन सक्ने जसरी प्रचार गरिनु गलत हो।’
भारतीय ती कूटनीतिज्ञले केही पत्रकारको नाम लिएर भने, ‘नेपालमा यहाँहरूकै कुरा बिक्छ। त्यही भएर कहिलेकाहीँ बोल्दा हुन्छ भन्छन् अनि बोल्छु, कहिलेकाहीँ लेख्ने पनि गरेको छु।’
भारतीय पूर्वकूटनीतिज्ञले यसो भनिरहँदा अर्का पूर्वराजदूत रन्जित रेको हालै प्रकाशित आलेख चर्चामा छ। दक्षिण भारतमा बढी पढिने ‘डेकन हेराल्ड’ मा छापिएको उनको आलेखमा नेपालको सत्ता समीकरणबारे आकलन गरिएको छ।
नाकाबन्दीका बेला राजदूत भएकाले रेलाई धेरै नेपालीले आलोचना गर्छन्। किनकि उनले त्यति बेला नेपालमा भारतबाट नाकाबन्दी नलगाइएको दाबी गरेका थिए।
अहिले उनकै लेखलाई आधार बनाएर नेपाली राजनीतिको भविष्यबारे विभिन्न अडकलबाजी गर्न थालिएको छ। त्यही लेख नेपालका ‘दिग्गज’ पत्रकारले अनुवाद गरेर आफ्नो सञ्चारमाध्यममा प्रकाशित गरेपछि झन् चासो बढेको हो। त्यसबारे यहाँका कथित बुद्धिजीवीबीच बहस चलिरहेकोमा नेपाली कूटनीतिज्ञहरूलाई चित्त बुझेको छैन। रेले उक्त आलेखमा नेपालको चियापसलमा हुने गफ उतारेको उनीहरूको टिप्पणी छ।
डेकन हेराल्डको अनलाइन संस्करणमा शनिबार प्रकाशित लेखमा पूर्वराजदूत रेले नेपालमा सरकार गठनका तीन फरकफरक समीकरणको परिकल्पना गरेका छन्। अहिलेको समीकरण असफल भएमा कांग्रेस र एमालेको सरकार बन्ने दाबी रेको छ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खटपट सुरु भएदेखि नै नयाँ समीकरणको चर्चा हुन थालेको हो। अर्को कुरा कुनै पनि दलको बहुमत नभएकाले अनेक विकल्पमा छलफल हुनु स्वाभाविकै हो। यस्तो नेपाली राजनीतिका लागि नयाँ विषय होइन।
एक कूटनीतिज्ञ भन्छन्, ‘नेपाली जनमानसमा छलफल हुँदै आएको र नेपाली सञ्चारमाध्यममा आइरहेको विषयमा पूर्वराजदूत रेले डेकनमा लेख्नेबित्तिकै चर्चामा आउनुले हाम्रा नेता र पत्रकारिताको आईक्यूको स्तर थाहा भइहाल्छ।’
एमाले-माओवादी, कांग्रेस-माओवादी र एमाले-कांग्रेसमध्ये पहिलो समीकरण असफल भएको विषयमा सबै जानकार छन्। पूर्वराजदूत रेले त्यही विषयमा गरेको ‘विश्लेषण’ यहाँ बस्दा चिनजान भएका व्यक्तिसँगको छलफल अनि पत्रपत्रिकामा आएको समाचारका आधारमा गरेका हुन्। ती कूटनीतिज्ञ भन्छन्, ‘रेले नेपालको राजनीति राम्ररी बुझेका छन् र भित्री कुरा थाहा पाएका छन् भन्ने भ्रम नेपालमा छ। तर दिल्लीबाट नेपाल हेर्ने दृष्टिकोण पूर्वराजदूतले थाहा पाउँदैनन्।’
पूर्वराजदूत रेले यहाँको विषयमा यो नभए त्यो र त्यो नभए यो भन्ने विकल्प लेखेको ठम्याइ ती कूटनीतिज्ञको छ। उनले भने, ‘हाम्रा नेताले उनीहरूलाई भगवान् जस्तै मानिदिने र त्यहीअनुरूप धारणा राख्ने गर्दा समयसमयमा बुमर्याङ खाने गरेका छन्।’
विशेष परिस्थितिमा भने नेपालस्थित भारतीय राजदूतमाथि माथिल्लो स्तरबाट विशेष दूत पठाएर पछिल्लो अवस्थाको जानकारी लिने र सुझाव दिने प्रचलन पुरानै हो। २०४६ सालको परिवर्तनका बेला, २०६२/६३ मा र वर्तमान संविधान जारी हुँदाका बखत यसरी भारतीय विशेषदूत काठमाडौँ उत्रिएका थिए। राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा पनि द्विपक्षीय बैठकको बहानामा भारतीय परराष्ट्र सचिवले बाक्लो राजनीतिक भेटघाट गरेका थिए।
कूटनीतिक मामिलाका जानकारहरू नेपाली नेता र केही पत्रकारले भारतीय अधिकारीहरूलाई चाहिनेभन्दा बढी महत्त्व दिएकाले यस्तो अवस्था आएको बताउँछन्। पूर्वराजदूतहरूसँग व्यक्तिगत धारणा बुझ्नु स्वाभाविकै भए पनि सर्वेसर्वा मानेर प्रचार गर्नु गलत रहेको उनीहरूको भनाइ छ।
‘सरकारले कुनै संवेदनशील समयमा गम्भीर विषयमा केही जानकारी लिन पूर्वराजदूतलाई विज्ञका रूपमा डाक्न सक्छ। ठूला भ्रमण हुँदा डिनरमा बोलाउन सक्छ अन्यथा यहाँ गरिने हल्ला जस्तो उनीहरूको भूमिका हुँदैन।’
पूर्वपरराष्ट्रमन्त्री एवं भारतका लागि पूर्वराजदूत डा. भेषबहादुर थापा भन्छन्, ‘नेपालमा राजदूत भएर गएकाहरूसँग दुई पक्षीय सम्बन्ध र राजनीतिक परिदृश्यबारे धारणा बुझ्नु स्वाभाविकै हुन्छ तर उनीहरूलाई यहाँ सबैथोक गरिदिन सक्ने जसरी प्रचार गरिनु गलत हो।’
पूर्वराजदूत रे संस्थापन पक्षका पूर्वकूटनीतिज्ञ मानिँदैनन्। पूर्वराजदूत थापा उनले लेखेको विषयलाई यहाँ भारतीय संस्थापन पक्षले बोलेझैँ बुझ्नु हाम्रै कमजोरी रहेको औँल्याउँछन्। रेले आफ्नो पुस्तकमार्फत नेपाललाई कसरी प्रस्तुत गरेका छन् र उनको दृष्टि के हो भन्ने त स्पष्टै रहेको थापाको भनाइ छ। रेको पुस्तकलाई नेपालमा अनावश्यक बहसमा ल्याइएको भन्दै कूटनीतिज्ञहरूले आलोचना जनाउँदै आएका छन्।
चीनले नेपालका कम्युनिस्ट पार्टीलाई एक स्थानमा ल्याउन लागेको विषय पनि छर्लंग छ। त्यो असफल भएको भन्दै रेले अर्को समीकरणको विषय आकलन गर्नुमा दम नरहेको बुझाइ जानकारहरूको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा दुई महिनाअघि बनेको गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनका लागि फरक गठबन्धन बनेको छ। यो पनि चुनावपछि भत्कने अडकल नेपालीहरूको छ।
अर्का पूर्वपरराष्ट्र सचिव एवं कूटनीतिक लेखक डा. मदनकुमार भट्टराईले पनि नेपाली नेता र बुद्धिजीवीले नेपालका लागि भारतका पूर्वराजदूतलाई बढी नै ‘स्पेस’ दिन गरेको बताए। भट्टराईका अनुसार भारतीय कूटनीतिमा पूर्वराजदूतलाई कमै महत्त्व दिइन्छ। उनी भन्छन्, ‘सरकारले कुनै संवेदनशील समयमा गम्भीर विषयमा केही जानकारी लिन पूर्वराजदूतलाई विज्ञका रूपमा डाक्न सक्छ। ठूला भ्रमण हुँदा डिनरमा बोलाउन सक्छ अन्यथा यहाँ गरिने हल्ला जस्तो उनीहरूको भूमिका हुँदैन।’
रे मात्र होइन अधिकांशले भारतमा बसेर यस्तै विषयमा लेख्ने बताउँछन् पूर्वराजदूत भट्टराई। उनी भन्छन्, ‘यहाँ भइसकेको विषयलाई यस्तो नहुँदा यस्तो हुन्छ, हुँदा यस्तो हुन्छ भन्दै विश्लेषण गरेका हुन्छन्। तिनमा नयाँ केही हुँदैन।’
पछिल्लो समय नेपाल मामिलामा विश्वको चासो बढेपछि भारत चाहिने भन्दा बढी सजग देखिएको कूटनीतिज्ञहरूको बुझाइ छ। त्यसो त नेपालमा कूटनीतिमा पनि राजनीति हुने गरेकाले समस्या निम्तिएको कूटनीतिज्ञहरू स्वीकार गर्छन्। पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले केही दिनअघि ट्विटरमा लेखेका छन्, ‘कूटनीतिमा राजनीति खत्तम हो। तर राजनीतिमा कूटनीति उत्तम हो।’
नेपाली नेताहरुले भारतमा गएर आफूलाई मात्र केन्द्रमा राखेर छलफल गर्दा कूटनीतिक समस्याको समाधान हुन नसकेको जानकारहरू बताउँछन्। अर्का एक पूर्वराजदूत भन्छन्, ‘हाम्रा राजदूत भारतमा गएर प्रधानमन्त्रीसँग भेट गर्न सक्दैनन्। परराष्ट्रमन्त्रीसँग कार्यक्रममा बाहेक भेटघाट गर्न समय पाउँदैनन् अनि तिनैले नेपाल भारतको प्राथमिकतामा छ भन्दैमा पत्याउन सकिन्न।’
नेपालमा भारतको एउटै चासो छ सुरक्षा। भारतमा हिन्दु कट्टरवादीको वृद्धिसँगै नेपालको सीमामा भारतीय अन्य धर्मावलम्बी बस्न थालेका छन्। पूर्वराजदूत थापा भन्छन्, ‘यस विषयलाई हामीले सामान्य लिएका छाैँ। कुनै बेला यो रोहिंगाभन्दा माथिल्लो स्तरको समस्या हुन सक्छ। त्यसतर्फ सोच्नुपर्छ। कूटनीतिमा राजनीति घुसाउनु राम्रो होइन।’
कूटनीतिज्ञहरूका अनुसार नेपालका विषयमा सकारात्मक बोल्नेमध्ये राकेश सुद एक मानिन्छन्। भारतले नेपालमाथि नाकाबन्दी लगाउँदासमेत उनले नेपालका पक्षमा बोलेको उनीहरूको बुझाइ छ। यस्तै भारतीय कांग्रेसका नेता करण सिंह, मणिशंकर अय्यर, जनता दल युनाइटेडका अध्यक्ष शरद यादवलगायत १४ सांसदले नेपालका विषयमा संसद्मै आवाज उठाएका थिए। तत्कालीन भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले नेपालमा नाकाबन्दी पहिला पनि लागेको र अहिले पनि लगाइएको बताएकी थिइन्।
‘म राजीव गान्धीको नाम लिन चाहिरहेकी थिइनँ। तर यहाँ राजीव गान्धीको नाम अर्कै सन्दर्भमा लिइयो। उनकै शासनकालमा नेपालमाथि सवा वर्ष नाकाबन्दी लगाइएको थियो,’ स्वराजले भनेकी थिइन्, ‘अहिलेको नाकाबन्दी पहिलो होइन।’
एकपटक सेवाबाट निबृत्त भईसकेपछि त्यसको उपयोगिता सकियो । शासकीय प्रवन्धको सद्धान्तले यस्तै भन्छ । बिद्वान नै रहेछ र निजको विद्वता, दक्षता, विशिष्टता र सिल्पकारिता राज्अयको लागि नभईनहुने रहेछ भने राज्यले कुनै न कुनै स्थानमा नियुक्त दिएर राखेको हुन्छ ।
घरमा बसेर समय कटाईरहेको पूर्वकुटनीतिज्ञ भनेको संस्मरण लेख्ने र केटाकेटीहरुलाई कथा सुनाउने हो ।
तर, चीनमा चाहिँ फरक छ । पूर्वकूटनीतिज्ञहरुलाई आफूले सेवा गरेर फर्केको मुलुकको सरकारको नीति र कार्यक्रमहरुको बिश्लेषण गरेर प्रतिवेदन पेश गर्नपर्ने काम दिईने रहेछ ।