![केपी ओलीको टिप्पणी : राष्ट्रपतिमा रामचन्द्र सोच्नै नसकिने मान्छे हुन्](https://himalpress.com/wp-content/uploads/2023/03/kp-oli-1.jpg)
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी बाधक बनेको आरोप लगाएका छन्।
राष्ट्रपति पदको निर्वाचनका विषयमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउनका लागि बारम्बारभन्दा पनि ऐन कानुन बनाउन नदिएको आरोप लगाएका हुन्।
उनले बेपत्ता छानविन तथा सत्य निरुपण सम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेहरूले व्यवधान खडा गरेको जिकिर गरे। ओलीले शान्तिप्रक्रियालाई तत्कालै टुंग्याउनुपर्ने एमालेको धारणा रहेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई सुझाव दिए।
प्रशिक्षण कार्यक्रममा ओलीले पुस १० गते भएको सहमति तोड्दै राष्ट्रिय छलफलको कुरा गरेर प्रचण्डले छलछाम कुरा गरेको आरोप पनि लगाए। राष्ट्रिय राजनीतिलाई सहि ट्रयाकमा ल्याउनका लागि एमालेका राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति गर्न उनले आह्वान गरे।
उनले अहिले पाइला पाइलामा संविधान मिच्नेहरूले नै संविधानमाथि खतरा भयो भन्दै वक्तव्यबाजी गरिरहेको टिप्पणी गरे। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल सभामुख हुँदा सांसदको अधिकार खोसेको भन्दै ओलीले व्यक्तिगत रुपमा सम्मान गरे पनि सभामुखका रुपमा कामै नलाग्ने र राष्ट्रपतिका रुपमा सोच्नै नसकिने पात्र भएको तर्क गरे।
‘रामचन्द्र पौडेल सभामुखको रुपमा काम नलाग्ने मान्छे हो राष्ट्रपतिको रुपमा त सोच्नै सकिँदैन’ ओलीले भने।
ओलीले अहिले सरकारमा भएका दल र नेताहरू सत्तास्वार्थका लागि राष्ट्रिय हित विपरित काम गरिरहेको भन्दै यसलाई एमालेले रोक्ने बताए। नेकपा एमाले देश र जनताका साथै संविधानप्रति प्रतिबद्ध रहेकाले कुनै पनि भ्रममा नपर्न आफ्ना सांसदहरुलाई ओलीले आग्रह गरे।