 
                             
                                            काठमाडौँ- मध्यपश्चिम विश्वविद्यालय (मपवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठूला विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ। मध्यपश्चिम विश्वविद्यालयको आगामी चैत ३ मा हुने स्ववियु निर्वाचनमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु, नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियुबीच तालमेल गर्ने सहमति भएको हो।
अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुनले मध्यपश्चिम विश्वविद्यालय हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनबीच ११ ठूला आंगिक क्याम्पसमा तालमेल गर्ने सहमति भएको बताए। ‘अनेरास्ववियुले पाँच क्याम्पस, अनेरास्ववियु (क्रान्तिकारी)ले चार र अनेरास्ववियुले दुई क्याम्पसमा स्ववियु सभापतिमा समर्थन गर्ने गरी तालमेल भएको छ।’
अनेरास्ववियुले सभापतिमा नारायण बहुमुखी क्याम्पस दैलेख, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बबई बहुमुखी क्याम्पस बर्दिया, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट र भेरी शिक्षा क्याम्पस सुर्खेतमा उम्मेदवार उठाउने भएको छ।
अखिल (क्रान्तिकारी)ले केन्द्रीय क्याम्पस, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट, मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम र जलजला बहुमुखी क्याम्पस रोल्पामा सभापतिको उम्मेदवारी दिने सहमति भएको छ।
यसका साथै, अनेरास्ववियूले रारा बहुमुखी क्याम्पस मुगु र विद्यापुर बहुमुखी क्याम्पस सुर्खेतमा स्ववियु सभापतिमा उम्मेदवारी दिने सहमति गरिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
  
 