विराटनगर ८ स्थित हाटखोलामा रहेको आरोहण गुरुकुल (सुशीला कोइराला नाटक घर) मा साँझ ५:३० बजेपछि घण्टी बज्छ। घण्टी बजेसँगै उपस्थित दर्शकहरू क्रमैसँग हलभित्र प्रवेश गर्छन्। मधुरो उज्यालो बलिरहेको छ, केहीबेरमै बत्ती निभेपछि हल अन्धकार बन्छ। त्यतिकैमा सुरु हुन्छ नाटक, ‘साँढे’।
राजाको भेषमा एक पात्र गद्दीमा आसीन छन्। अन्य पात्रहरू भने कोही गोठाला बनेका छन् त कोही साँढे र अन्य जनावर। यस्तै-यस्तै।
भीमनिधि तिवारीले लेखेको कथा ‘साँढे’ कक्षा १२ को अंग्रेजी विषयमा अध्यापन हुँदै आएको छ। नेपाली कथालाई बलबहादुर केसीले अंग्रेजीमा रूपान्तरण गरेसँगै ‘द बुल’ अध्यापन हुँदै आएको छ।
सोही कथालाई नाटकमा रूपान्तरण गरी प्रस्तुत गरिएको हो।
कलाकारहरू भरत कार्की, विकास पराजुली, रविन चिमरिया, सागर विश्वास, देवेन्द्र यादव, प्रदीप दाहाल, अजय सुवेदी, समीक्षा दाहाल, दीक्षा चौधरी, प्रजल दुलाल, कञ्चन दास, अमन धमला, सुगल अधिकारी, नीरज कार्कीको जीवन्त अभिनयनले नाटक अब्बल बनेको छ।
नाटकमा राजाको प्रिय मानिएको साँढे मरेपछि प्रजाहरूमा डर, त्रास र बाँच्नका निम्ति गरिएको जुक्तिले दर्शकलाई मोहित बनाउँछ। नाटकमा ‘दाहाल’ पात्रले खेलेको अभिनय जीवन्त छ। उसले नाटक हेर्न आएका दर्शकलाई अलिकति पनि ‘बोर’ बनाउँदैन।
सँगै दाहालका सालोको अभिनयले दर्शकलाई रोमाञ्चक बनाउँछ। उनको अभिनयले दर्शकलाई पटक-पटक हसाउँछ, मुर्छा नै पर्नेगरी।
नाटकका परिकल्पनाकार तथा निर्देशक अशोक गौतमले समाजमा अहिले पनि साँढे प्रवृत्ति विद्यमान रहेकाले उक्त नाटक प्रस्तुत गरिएको बताए। ‘शासकले आफूलाई मात्र मान्छे ठान्छ, नाटकमा,’ उनले भने, ‘सहरमा घाँस र छरिएका नुन खाने मान्छेहरूको संख्या बढेको बढ्यै छ। काल् पनिक कथा भए पनि त्यस कालखण्डका केही घटना बिर्सन सकेनौँ।’
नाटक हेरिसकेपछि प्रसिद्व कवि तथा गीतकार दिनेश अधिकारीले प्रस्तुत नाटकमा समयको अभिलेख रहेको प्रतिक्रिया दिए। ‘म नाटक हेर्दा नाटकले जीवन बोकेको छ कि छैन भनेर हेर्छु, जीवनका परिवेशलाई यस नाटकले प्रस्तुत गरेको छ,’अधिकारी भन्छन्, ‘म पनि कुनै दिन नाटकमा अभिनय गर्थेँ, थोरबहुत नाटकमा अनुभव गरेका कारण महसुस गर्न सकिन्छ कि, यो नाटकमा समयको अभिलेख छ।’
नाटक हेरिसकेपछि कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले नाटक प्रस्तुत हुनु सुन्दर पक्ष रहेको बताए।
‘जसले गर्छ त्यो ज्यूँदो हो, जसले गर्दैन त्यो मूर्दा हो,’ उनी भन्छन्, ‘मनोरञ्जनात्मक ढंगले गहन विषय नाटक प्रवेश गर्यो, गहन विषयलाई पनि मनोरञ्जनात्मक ढंगले प्रस्तुत गर्नु नाटकको सुन्दर पक्ष हो।’
आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले अझै पनि समाजमा नाटक हेर्ने संस्कार नबसिसकेकाले आफूहरूले निरन्तर प्रयत्न गरिरहेको बताए।
‘कहिलेकाहीँ दर्शकको खडेरीमा हुन्छौँ, नाटक हेर्ने संस्कार बसोस् भनेर पनि अभ्यास गरिरहेका छौँ,’ उनले भने, ‘आफू रोएर अरुलाई हँसाउने विधा हो, नाटक।’
अझै पनि नाटक ताली र गालीको लागि मात्रै भइरहेकाले यसको संस्कार फेरिनुपर्ने उनको तर्क छ।
समाजमा अझै पनि नाटक हेर्ने संस्कार नबसिसकेकाले आफूहरू निरन्तर प्रयत्नमा लागिरहेको बताउँछन् आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री।
‘हुन त नेताहरूले कलाकार गहना हो भन्छन्, गहना खान मिल्दैन, लाउन मिल्दैन,’ क्षेत्रीले भने, ‘कलाकारहरूको भोलिको जीवनप्रति पनि चिन्तित हुनुपर्छ भन्ने लाग्छ।’
नाटकको कलाकारहरूमा भरत कार्की, विकास पराजुली, रविन चिमरिया, सागर विश्वास, देवेन्द्र यादव, प्रदीप दाहाल, अजय सुवेदी, समीक्षा दाहाल, दीक्षा चौधरी, प्रजल दुलाल, कञ्चन दास, अमन धमला, सुगल अधिकारी, नीरज कार्की रहेका छन्। उनीहरूको जीवन्त अभिनयनले नाटक अब्बल बनेको छ।
यस्तै ध्वनि परिकल्पना तथा संयोजनमा दिपेश भण्डारी, प्रकाश परिकल्पना भरत कार्की, ध्वनि तथा प्रकाश परिचालन सागर विश्वास, देवेन्द्र यादव, मञ्च परिकल्पना विकास पराजुली, सविन भट्टराई, भेषभूषा समीक्षा दाहाल, नृत्य, एलेक्स मगर, गीत याक्दुहाङ धीरज, आवरण चित्र मुकुन्द प्रयास, बजार व्यवस्थापन अभिषेक गौतम, बक्स अफिस किरण खड्का, अनुषा कटवाल, व्यवस्थापन भैरव क्षेत्री र भवानीप्रसाद अधिकारीले गरेका छन्।
गत सोमबारदेखि सुरु भएको उक्त नाटक शुक्रबार साँझ समापन भएको छ।