काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरू माझ लोकप्रिय बन्नका लागि सस्ता र मिठा कुरा नगर्न व्यवसायीहरूलाइ आग्रह गरेका छन्।
शुक्रबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीको ६४औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
निजी क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिले व्यवसायीमाझ लोकप्रिय बन्ने होडबाजीमा सस्ता मिठा कुरा नगरी जिम्मेवार भएर कुरा उठाउन पनि उनले आग्रह गरेका छन्।
‘हामी निजी क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिहरूले सस्तो लोकप्रियताका लागि व्यवसायीमाझ गैरजिम्मेवार भई जथाभावी बोल्नु हुँदैन। पपुलर हुनकै लागि बैंकको ऋण र ब्याज तिर्दिनँ भन्ने कुरा गर्नुहुँदैन। बैंकमा भएको निक्षेप पनि जनताको हो। हामी व्यवसायीहरूले यस्तो गैरजिम्मेवार कुरा बोल्नु हुँदैन,’ उनले भने।
केही व्यवसायीहरूले महासंघको निर्वाचनलाई लक्षित गरी पपुलर कुराहरू गर्ने गरेको बताउँदै नेतृत्वमा पुग्ने व्यक्ति जवाफदेही र जिम्मेवार पनि हुनुपर्ने उनले बताए।
कोभिड महामारीका कारण मुलुकको मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले यसमा विस्तारै सुधार देखिन थालेको जानकारी गराए।
‘कोभिड महामारी र त्यसपछिको समयमा नेपालमा मात्र होइन विश्व अर्थतन्त्रमा नै समस्या देखिएको थियो। त्यसैको प्रभाव स्वरूप नेपालको बैंकिङ क्षेत्रमा तरलता अभाव सुरुभयो र बैंकको कर्जाको व्याज दर बढ्न गयो। तर, अहिले हाम्रो अर्थतन्त्रका केही इन्डिकेटरहरू सकारात्मक हुन थालेको संकेत देखिएका छन्। त्यसैले म व्यवसायी साथीहरूलाई आत्तिने र हडबडाउने नगर्न पनि आग्रह गर्न चाहन्छु,’ उनले भने।
आर्थिक संकटको कारण देखाउँदै केही व्यवसायीहरूले आत्महत्या गरेकोतर्फ इंगित गर्दै ढकालले व्यावसायिक यात्राका क्रममा धेरै सहज र असहज परिस्थितिहरू आउने हुँदा त्यस्तो चुनौतिहरू सामना गर्दै अगाडि बढ्न व्यवसायीहरूलाई सुझावसमेत दिए।
उनले बैंकको व्याजदरको विषयमा महासंघको तर्फबाट आफूहरूले राज्यका विभिन्न निकायमा पटक-पटक कुरा उठाएको बताउँदै पछिल्लो समय राज्यले पनि केही विषयहरू सम्बोधन गरेको र वातावरण सहज बन्दै गएको उल्लेख गरे।
बैंकको व्याजदर घटाउन आमव्यवसायीले राखेको माग आफूले हरेक कार्यक्रमहरूमा जानकारी गराउँदै आएको उनको भनाइ छ।
‘म एउटा बैंकको सञ्चालक भएको नाताले बैंकको ब्याजदरबारे हरेक कार्यक्रममा आग्रह गर्दै आएको छु। धेरै व्यवसायी साथीहरूलाई कुनै एउटा बैंकको सञ्चालकको चाहनाले मात्र बैंकको व्याजदर परिवर्तन हुन नसक्ने रहेछ,’ उनले भने, ‘म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंक वा बैंकको सञ्चालकको चाहनाले मात्र परिवर्तन हुने र गर्न सकिने कुरा होइन। ब्याजदर निर्धारणमा आन्तरिक तथा बाह्य धेरै कुराहरूको प्रभाव रहन्छ। त्यसै पनि निक्षेपको व्याज बढ्दा अहिले बैंक तथा वित्तीय संस्थाको लागत पनि बढेको छ।’