काठमाडौँ- खुमलटार युथ क्लबले ‘ए डिभिजन लिग’मा पहिलो खेलमै जित दर्ता गरेको छ। शुक्रबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा फ्रेन्ड् क्लबलाई १-० ले हराउँदै पहिलो खेलमै जित निकालेको हो।
खुमलटारको जितमा मेसौके ओलौमौले खेलको ८९ औं मिनेटमा गोल गरे। उनले कप्तान जय गुरुङको लामो पासलाई नियन्त्रणमा लिएर फ्रेन्ड्सका केही खेलाडीलाई ‘बिट’ गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो। खुमलटार गत सिजन ‘बि डिभिजन’को उपविजेता बन्दै ‘ए डिभिडजन’मा उक्लिएको टिम हो। जितसँगै खुमलटार तीन अंक बटुलेको छ।
यसपटकको लिगमा कुल १८२ खेल हुनेछ। लिग विजेताले ७५ लाख रुपैयाँ, उपविजेता टोलीले ५० लाख रुपैयाँ र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन्। फेयर प्ले टोलीले ३ लाख रुपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडीले ३ लाख रुपैयाँ, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र उदयीमान खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
प्रत्येक खेलको विजेता क्लबले ‘म्याच मनी’बापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। खेल बराबरी भए दुई क्लबबीच रकम बराबरी बाँडिनेछ। हरेक खेलको ‘म्यान अफ द म्याच’ले १० हजार रुपैयाँ पाउनेछन्।
लिगअन्तर्गत शनिबार तीन खेल हुनेछ। नेपाल पुलिस क्लबविरुद्ध चर्चब्याइज युनाइटेड च्यासल रंगशालामा २:३० बजे, दशरथ रंगशालामा एपीएफ क्लबविरुद्ध थ्रीस्टार क्लब २:३० बजे र मनाङ मर्स्याङ्दीविरुद्ध हिमालयन शेर्पा क्लबको खेल ५:३० बजे दशरथ रंगशालामै खेल हुनेछ।
तस्बिरहरू- दिपेश श्रेष्ठ/हिमालप्रेस