माटो कोट्याएर ‘कमाइखाने भाँडो’ बन्दैछन् जाजरकोटका सडक

हिमाल प्रेस १९ फागुन २०७९ १५:२४
8
SHARES
माटो कोट्याएर ‘कमाइखाने भाँडो’ बन्दैछन् जाजरकोटका सडक फाइल तस्बिर।

जाजरकोट- पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन भने गुड्न मुस्किल हुँदै आएको छ। हिउँदयाममा समेत यहाँका सडकमा यातायातका साधन सञ्चालन गर्न गाह्रो हुँदै आएको छ।

भेरी करिडोरसँग जोडिएको छेडा-कचाली सडकबाट मोर्क हुँदै जुनिचाँदे र कुशेसम्मका सडक विद्युतीय धरापजस्तै असहज बन्दै आएका छन्। मापदण्डविपरीत जहाँतहीँ डोजरको सहायताले खनिएका सडकमा बर्सेनि पालिकाबाट बजेट विनियोजन गरी माटो कोट्याएर सम्याउनका लागि कमाइखाने भाँडोसमेत हुँदै आएको लुहादका जुनिचाँदे गाउँपालिकाका रेशमबहादुर खड्काले बताए। पछिल्लो ५ वर्षको रेकर्ड हेर्दा यस क्षेत्रमा आधा दर्जन सवारी दुर्घटनासमेत भइसकेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

निजी सवारीसाधनको बिगबिगी रहेको यहाँका सडकमा गुड्ने सीमित सवारीसाधनले जाजरकोटबाट काठमाडौँ गएकोभन्दा बढी भाडा असुल्ने गरेको उनको गुनासो थियो। चार जना अट्ने गाडीमा आवश्यकताभन्दा बढी यात्रु राखेर भाडा असुल्ने गरेको सर्वसाधारणको आरोप थियो।

अधिकांश पालिकाले निर्माण गरेका प्रदेशका सडकमा यातायातका साधन गुडाउन सक्ने अवस्था नरहेको नलगाडका लोकेन्द्र केसीले बताए। जताततै सडक खनेको देखिन्छ तर हलुका सवारीसाधन समेत त्यहाँ चल्न मुस्किल रहँदै आएको उनको भनाइ छ।

पश्चिम जाजरकोटमा छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका छन् तर पालिकाको मुकाम जान र आउन नै मुस्किल हुँदै आएको छ। शिवालय गाउँपालिकाको प्रशासकीय केन्द्र जोड्न गरिएको कालोपत्रसमेत लथालिंग भएको छ।

ठाउँठाउँमा कालोपत्र भत्किएका कारण सडक धरापमा परिणत भएको छ। त्यस्तै छेडागाड नगरपालिका हुँदै जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिका पुग्ने सडक काम नलाग्ने अवस्थामा पुगेको र बर्सेनि चुनावी नारा बन्ने यहाँका सडक नाममात्रका बन्दै आएको सवारी चालकको गुनासो छ।

सडक निर्माणमा बाधा

अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेका जाजरकोटका केही सडकमा खरिद गुरुयोजना स्वीकृत नहुँदा काममा समस्या हुँदै आएको छ।

२०७९ असोज ११ गते अर्थ मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले खरिद गुरुयोजना स्वीकृत नगर्दा सडकको काम अगाडि बढ्न सकेको छैन। १ अर्ब ८४ करोड अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले जानकारी दिए।

पश्चिम क्षेत्रको छेडा, वडावन, साना खोला, चाँदे र टोप्ला सडकको स्तरोन्नति, चैखिला साना खोला जुनी सडक छन्। त्यस्तै पूर्वमा रहेका सडकमा खलंगा, बोहरा, इबर, गंगटिया र मेलटारी वैकल्पिक राजमार्ग भेरी नगरपालिकाको जाजरकोट, खारा, चारगाँ, ऐरार्नी, गर्छिना, समाइला र जुम्ला जोड्ने सडकमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले खरिद गुरुयोजना स्वीकृत नगर्दा काम सुरु हुन नसकेको हो।

ट्रयाक खोलिएका यी सडक स्तरोन्नति नहुँदा धरापका रूपमा विस्तार हुँदै गरेका छन्। –रासस

प्रकाशित: १९ फागुन २०७९ १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast