राष्ट्रपतिमा पौडेललाई जिताउन कांग्रेसले प्रदेश/प्रदेशमा खटायो पदाधिकारी

हिमाल प्रेस १८ फागुन २०७९ ८:४४
16
SHARES
राष्ट्रपतिमा पौडेललाई जिताउन कांग्रेसले प्रदेश/प्रदेशमा खटायो पदाधिकारी फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति चुनावको प्रचारप्रसारका लागि नेपाली कांग्रेसले पदाधिकारीलाई प्रदेश प्रदेशमा खटाएको छ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको हो।

जस अनुसार कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

यसैबीच कांग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति चुनावमा खट्न जिम्मेवारी दिएको छ।
कांग्रेसले ८ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा पौडेललाई जिताउनका लागि कांग्रेससहित ८ दलले शुक्रबार सातै प्रदेशमा प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्दैछन्।

यसैबीच कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी संघीय सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ।

नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो एक बजे तीनकुनेको एक व्यांक्वेटमा कार्यक्रम हुने छ। कार्यक्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरूलाई बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनीहरूलाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति निर्वाचनको अघिल्लो दिन फागुन २४ गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने निर्णय आठ दलीय गठबन्धनको कार्यदलले गरिसकेको छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन्। त्यस्तै जनमत पार्टीबाट अब्दुल खान, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन्।

प्रकाशित: १८ फागुन २०७९ ८:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =